सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षित र सावधानी अपनाउन आग्रह

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षित र सावधानी अपनाउन आग्रह


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

काठमाडौँ/  प्रधानमन्त्री सुशीला कार्कीले विपतको अवस्थामा सरकार साथ रहेको भन्दै देशबासीलार्इ सुरक्षित र सावधानी रहन आग्रह गरेकी छन् ।

देशका विभिन्न स्थानमा बाढीपहिरो र डुवान बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले शनिवार देशवासीको नाममा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताइन् । अप्ठेरोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको उनको भनाई छ ।

‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ प्रधानमन्त्रीले भनेकी छन् ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रस्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’ बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराएकी छिन् । ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ उनको आग्रह छ ।

सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताएकी छिन् । ‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो चुनौतीपूर्ण समयमा म सबै नागरिकलाई आश्वास्त पार्न चाहन्छु कि सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा छन् ।’ नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपतकालीन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको उनले बताएकी छिन् । महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->