काठमाडौं / मौसममा सुधार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही सडकहरू खुलाइएको जानकारी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै केही सडकहरूमा सवारी एकतर्फी खुलाउने निर्णय गरेको प्रशासनले जनाएको हो ।
अहिले विभिन्न ठाउँहरूमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त हुन आएकोले यसै सूचनाको आधारमा सडकमा यात्रुहरूको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरुमा आवागमन एकतर्फी रुपमा खुला गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि प्रशासनले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने, काठमाडौंबाट नुवाकोटतर्फ जाने र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरूलाई पूर्ण रूपमा बन्द गरेको थियो । प्रशासनका अनुसार, अहिले मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाडौं दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको छ । प्रशासनले सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक ईसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन अनुरोध गरेको छ ।





