पोखरा/भदौ २४ गते जलाइएको मुख्यमन्त्री निवासमा पुनः आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्रबैंकचोकमा बस्दै आएका २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको हो ।
गत भदौ २३ र २४ गतेको आन्दोलन तथा तोडफोड आगजनी पछि पुनः असोज १२ गते रातिको समयमा पोखरा महानगरपालिका–६ शहीद चोकमा रहेको मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
२०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि निर्वाचित मुख्यमन्त्रीका लागेर भनेर प्रयोगमा ल्याइएको उक्त निवास प्रमुख जिल्ला अधिकारीको लागि भनेर बनाइएको थियो । प्रदेश सरकार बनेपछि उक्त भवनलाई नै मुख्यमन्त्री निवास बनाइएको थियो ।
प्रदेश सरकारले भवन प्रयोग गर्न मिल्ने नमिल्ने भनेर प्राविधिक समिति गठन गरेको थियो । उक्त समितिले यो भवनलाई मर्मतपछि पुनप्रयोग गर्न मिल्ने भन्ने प्रतिवेदन बुझाएको थियो । प्रयोग गर्न मिल्ने प्रतिवेदन आएपछि भवनलाई मर्मत गर्ने तयारीमा सरकार थियो । तर, भवनमा पुनः आगजनी भएको छ ।
जेनजी प्रदर्शनको आगजनीमा परेका गण्डकी प्रदेशमा १२ वटा कार्यालयहरु प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त बनेका छन । ४८ भवनमा क्षति पुगेको छ ।
सरकारले उक्त आन्दोलनका कारण प्रदेशका संरचनामामात्रै दुई अर्बको क्षति पुगेको निष्कर्ष निकालेको छ ।
प्रदेश प्रमुखको निवासमा सबैभन्दा बढी क्षति पुगेको प्राविधिक समूहको निष्कर्ष छ । प्रदेश सभा परिसरभित्रको संसदीय दलका कार्यालयहरु, कर्मचारी निवास र सोही परिसरमा रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।
सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालयको मुख्य भवन र शिक्षा विकास महाशाखालाई पनि पुनः प्रयोग गर्न नमिल्ने भनिएको छ । मुख्यमन्त्री निवासको हल, नीति तथा योजना आयोगको मुख्य भवन, योजना आयोग उपाध्यक्षको क्वाटर, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात व्यवस्था कार्यालय (लाइसेन्स), आर्थिक मामिला मन्त्रीको क्वाटरलाई पनि पुनः प्रयोग नगर्न वा तत्काल भत्काउन भनिएको छ । प्रतिवेदन अनुसार, ‘रातो’ सूचीमा परेका भवनहरू अत्यन्तै जोखिमपूर्ण र तत्काल प्रयोगका लागि पूर्ण रूपमा असुरक्षित छन ।
प्रतिवेदनअनुसार १६ वटा भवनहरु पहेंलो सूचीमा छन् । अर्थात्, मध्यमस्तरको क्षति भए पनि तत्काल प्रयोगका लागि यी भवन पनि असुरक्षित मानिएका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको मन्त्री निवास, प्रदेशसभाको ‘लाइब्रेरी तथा गार्ड रुम’, ‘सुरक्षा क्वाटर’ र प्रदेश योजना आयोगका भवनहरू परेका छन् ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, यातायात कार्यालय (सवारीका दुई भवन), यातायात कार्यालय (लाइसेन्सको एउटा भवन), वन तथा वातावरण मन्त्रालय र क्वाटर, प्रदेश प्रमुख कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र कृषि, सहकारी तथा भूमी व्यवस्था मन्त्रालयका भवनहरु पहेंलो सूचीमा छन् । बाँकी २० भवनहरु हरियो सूचीमा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पक्राउ परेका संजोक थापाले एनआएमबी बैङ्कको एटीएम मेसिनको स्क्रिन फुटालेको समेत खुलेको छ । उक्त एटिएफ नेपाल राष्ट्र बैङ्कको कम्पाउन्ड सडक छेउमा बाहिरपट्टि रहेको एनआएमबी बैङ्कको एटीएम मेसिनको स्क्रिनमा ढुङ्गाले प्रहार गरी त क्षति पु¥याएको खुल्न आएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
यता, जेनजी आन्दोलनको क्रममा पोखराका विभिन्न निजी संरचनामा २ अर्व ३१ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
पोखरा महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार विभिन्न व्यावसायिक प्रतिष्ठान र व्यक्तिका गरी ४० वटा संरचनामा आगजनी, लुटपाट र तोडफोड हुँदा त्यो क्षति भएको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अराजक र आपराधिक जत्थाले यहाँका सरकारी कार्यालयदेखि व्यक्तिका घरमा आगजनी,तोडफोड र लुटपाट गरेको थियो । सो क्रममा आगोमा जलेर दुईजनाको निधनसमेत भएको थियो ।
इन्जिनियर लक्ष्मीप्रसाद गौतम संयोजक तथा इन्जिनियरद्वय अमिर भण्डारी र सुमन पराजुली सम्मिलित मूल्याङ्कन समितिको प्रतिवेदन अनुसार न्यूरोडमा रहेको भाटभटेनी सुपरमार्केटमा मात्र १ अर्ब ३० करोडको क्षति भएको छ । भाटभटेनीमा आगजनी तथा लुटपाट गरिएको थियो । यस्तै होटल सरोवरमा ३० करोडको क्षति पुगेको छ । त्यहाँ पनि आगजनी गरिएको थियो । गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको नयाँबजारस्थित व्यावसायिक कम्प्लेक्समा ३ करोड, घरमा २ करोड,उनका भाइ ध्रुव थापाको स्वामित्वमा रहेको व्यावसायिक कम्प्लेक्सहित गाडी सो रुममा ६ करोड क्षति पुगेको छ भने मन्त्री थापाकै पुत्र सौगात थापाले संचालन गर्ने लेकसाइडमा रहेको बगैंचा वेलनेस सेण्टरमा १५ करोड र सौगातले नै संचालन गर्ने अंशुभरा ग्रुपको लेकसाइडस्थित कार्यालयमा पनि ३ करोडको क्षति पुगेको छ । त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको थियो । पोखरा इभेण्ट सेण्टरमा भएको आगजनीबाट १८ करोड ५० लाख, लेकसाइडकै गुडविल होटलमा ५ करोड,सिर्जनाचोक सुपरमार्केटमा आगजनी र लुटपाट हुँदा २ करोड ४५ लाख,बरपिपल रिसोर्टमा आगजनी र तोडफोडबाट ३ करोड,पूर्वसांसद राजीव पहारीको घरमा आगजी हुँदा २ करोड ५० लाख रुपैयाँको क्षति भएको छ । यस्तै माकुसे पोखरा, मण्डला कलेक्टिभ,पोखरा क्वालिटी सप्लायर्स र पोखरा क्वालिटी टे«ड कन्र्सन एउटै घरमा रहेको र त्यहाँ आगजनी र तोडफोड हुँदा १ करोड ४० लाख रुपैयाँको क्षति पुगेको छ ।
मन्त्र थकाली किचनमा २० लाख,होटल एडममा ५० लाख,केटीएम सिटी लेकसाइडमा लुटपाट र तोडफोड हुँदा ५० लाख, फेवा फार्मेसी आगलागी हुँदा १०लाख,विनित मेटल उद्योगको क्रेटा गाडी जलाइँदा ६० लाख,झपिन्द्र रेग्मीको घर र गाडी जल्दा ४० लाख,गण्डकीका भौतिक योजनामन्त्री प्रकाशबहादुर केसीको घर जलाइँदा ३० लाख,ट्रान्क्विलिटी स्पामा आगलागी हुँदा १५ लाख, हिमालयन जाभामा आगलागी हुँदा ८ लाख,वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीको घरमा भएको आगजनीबाट ४० लाख,एमाले नेता खगराज अधिकारीको घरमा आगजनी हुँदा १० लाख,सांसद मनबहादुर गुरुङको घरमा तोडफोड हुँदा २ लाख,एमाले नेता तेजनारायण अधिकारीको घर तोडफोडबाट २ लाख,कांग्रेस नेता यज्ञबहादुर थापाको घर तोडफोड हुँदा २ लाख, पोखरा उद्योग वाणिज्य संघको कार्यालय तथा अमृत कक्ष र कर कार्यालय पोखरामा रहेको कर सहायत कक्ष तोडफोड एवं आगजनी हुँदा ३५ लाख ,कांग्रेस नेता कृष्ण केसीको घर तोडफोडबाट २ लाख,युआएल पोखराको ल्याब आगलागी हुँदा ४५ लाख,छोरेपाटनमा रहेको बिएल आयल स्टोर्स आगजनी र तोडफोड हुँदा ३ करोड ५२ लाख,साम्बला क्याफे लेकसाइडमा आगलागी र लुटपाट हुँदा ३० लाख,गगन टोइटा इन लेकसाइडमा आगजनी हुँदा ३० लाख,बतास अर्गनाइजेसन तोडफोड र आगजनीबाट ३० लाख, पोखराका मेयर धनराज आचार्यको घरमा ३० लाख क्षति भएको प्रारम्भिक आँकडा छ । यी निजी संरचना आगजनी,लुटपाट तथा तोडफोडमा संलग्नहरुको पहिचानका निम्ति सुरक्षा संयन्त्रले अनुसन्धान प्रक्रिया जारी राखेको छ ।





