सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

४ वटै सुरक्षा निकायका व्यक्ति बिके– एमाले नेता अधिकारी

४ वटै सुरक्षा निकायका व्यक्ति बिके– एमाले नेता अधिकारी


  • ढाेरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

पोखरा/  एमाले नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले नेपालका चारवटै सुरक्षा निकायका अधिकारीहरू ‘डिप स्टेट’ (राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्ति) को प्रभावमा परी बिकेको आरोप लगाएका छन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरे ।

एमाले पोखरा नगर कमिटीले बुधबार आयोजना गरेको कार्यक्रममा अधिकारीले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको बताए । ‘चारै सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्, डिप स्टेट स्टेकहोल्डरबाट,’ अधिकारीले भने ।

अधिकारीले चीन र भारत जस्ता ठूला देशसंग ओली सरकारले समदूरीको सम्बन्ध कायम गर्दै सन्तुलित परराष्ट्र नीति अपनाउन चाहेको उल्लेख गरे । नेपालमा ‘डिप स्टेट’ का स्टेकहोल्डरहरूले राज्य कब्जा गर्ने प्रयास गरेको र यसमा विभिन्न राजनीतिक दलका आन्तरिक विवाद र समानान्तर गतिविधिहरू पनि सहयोगी बनेको उनको भनाई थियो । उनले भिमा मल्ल र भीमसेन थापाले पनि ‘डिप स्टेट’ का कारण फाँसी पाएको इतिहास रहेको सुनाए ।
अधिकारीले एमालेभित्रको आन्तरिक कलह र नेतृत्वको आलोचनालाई पनि ‘डिप स्टेट’ को चालबाजीको रूपमा व्याख्या गर्दै केपी ओलीलाई बाहिर फालेर चाहेको त्यही डिप स्टेटका स्टेकहोल्डरहरूले, समुद्र पारिका छिमेकका डिप स्टेकहोल्डरहरूले गरेको कामको मतियार नेकपा एमालेका कार्यकर्ता हुन नसक्ने बताए ।

उनले कास्कीका एमाले कार्यकर्ताहरूले केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए । साथै पार्टी भित्रको कमजोरी स्वीकार गर्दै आत्मआलोचना पनि गरे । उनले अबदेखि कुनै पनि राजकीय पदको दाबी नगर्ने घोषणा पनि गरे । पार्टीमा रहेका गुनासो मात्र गर्नेहरूलाई ‘डिप स्टेट’ को मतियार नबन्न पनि उनले आग्रह गरे । ‘हाम्रा शैली सचिनु प¥यो, हाम्रो सक्रियता, हाम्रो जीवनशैली सचिनु प¥यो, सुध्रिनु प¥यो ठिक हो । तर नेतृत्व केपी ओलीलाई बाहिर फालेर चाहेको त्यही डिप स्टेट होल्डरहरुले,’ उनले भने ।

अधिकारीले पार्टीलाई सुदृढ गर्नका लागि आफूले जस्तोसुकै निर्णय शिरोधार्य गर्ने प्रतिबद्धता जनाए । पछिल्लो राजनीतिक घटनाक्रममाथि छलफल गर्न एमाले पोखरा नगर कमिटीले कार्यकर्ताहरुको भेला आयोजना गरेको थियो । त्यहाँ विभिन्न कार्यकर्ताहरुले आआफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->