बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन पोखरेली निजी क्षेत्रको माग

निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन पोखरेली निजी क्षेत्रको माग

‘जेनजी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकालाई दोषी करार गर्ने काम भयो । धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’ कार्यक्रमको अवधारणा पस्कँदै संघका अध्यक्ष गोकर्ण कार्कीले भने ।


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८२, बिहिबार

पोखरा/पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही, फागुन २१ मा घोषित चुनावको सुनिश्चिता, व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी/व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरु’ विषयक अन्तक्र्रियामा यो धारणा बनेको हो । जेन जी आन्दोलनको क्रममा उद्योग र व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणले व्यवसाय गर्नु र नाफा कमाउनु अपराध हो भन्ने भाष्य स्थापित गर्न खोजेको र त्यो भाष्यलाई बदल्नुपर्ने अवधारणासहित पोखरा उवासंघले अन्तरक्रियाको आयोजना गरेको थियो ।

‘जेनजी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकालाई दोषी करार गर्ने काम भयो । धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’ कार्यक्रमको अवधारणा पस्कँदै संघका अध्यक्ष गोकर्ण कार्कीले भने, ‘के रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना एवं राज्यलाई कर तिर्नु अपराध हो ? विद्वानमा ज्ञान आर्जन र व्यवसायीमा नाफाको भोक जाग्नुलाई अपराध करार गर्न मिल्छ ?’

उनले जेन जी आन्दोलनको क्रममा उठान भएका मागहरुसँग भने निजी क्षेत्र सहमत भएको बताए । उनले एक जिम्मेवार नागरिकको रुपमा हामी पनि सरकारी कार्यालय जाँदा एउटै झ्यालबाट फटाफट काम होस् भन्ने चाहन्छौ भन्दै उद्योग÷व्यवसाय बिना झन्झट दर्ता र खारेजी गर्न पाइयोस्, व्यवसाय गर्ने उपक्रममा मानसिक प्रताडना झेल्न नपरोस्, कसैलाई ज्यू–हजुरी र खातिरदारी गर्न नपरोस् भन्ने चाहना रहेको बताए । ‘सुशासन कायम हुँदा लगानीको वातावरण स्वतः निर्माण हुन्छ भन्ने हाम्रो ठम्याइ रहँदै आएको छ । युवालाई जिम्मेवारी हस्तान्तरणको विषयमा पनि हामी प्रष्ट छौँ । युवालाई कसरी जिम्मेवार बनाउने र जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने कुरा उद्योगी÷व्यवसायीबाट सिक्दा राम्रो हुन्छ भन्ने कुरा पनि हामीले पटक–पटक भन्दै आएको विषय हो,’ उनले भने । कार्कीले आन्दोलनको नाममा देशैभर निजी क्षेत्रका संरचनामाथि आगजनी, लुटपाट र तोडफोडलाई चाहिँ अपराधको संज्ञा दिए ।

‘अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन र अपराध कर्ममा संलग्नहरु क्रान्ति नायक हुन सक्दैनन् । अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि हुँदैन । समाजमा थिति बस्दैन, प्रगति पनि हुँदैन,’उनले भने,‘परिवर्तनका खातिर सच्चा मनले सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको क्रममा जनधनको क्षति ब्यहोर्नुभएका उद्योगी व्यवसायीहरुसँग मन कमजोर नबनाउन हार्दिक आग्रह गर्दछु भने अपराध कर्ममा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गरी क्षति भोगेका व्यवसायीहरुलाई राहत प्रदानको लागि सरकारसँग जोडदार माग गर्दछु ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विगतमा केही कमजोरी प्रदर्शन गरे पनि देशलाई सही दिशा दिन एकजुट हुँदै राजनीतिक दलहरुलाई दवाब दिनुपर्ने बताए । उनले जेन–जी आन्दोलनपछि उत्पादन र वितरण प्रणालीको कडी टुटेकाले अर्थतन्त्र यही अवस्थामा रहन्छ कि रहँदैन भन्ने अवस्था रहेको बताउँदै अगाडि भने,‘अहिले जलाइएका संरचना ठड्याइए पनि के हिजोकोजस्तै आगजनी, तोडफोड र लुटपाट दोहोरिन्छ कि दोहोरिँदैन भन्ने प्रश्न पनि हाम्रो सामु रहेको छ ।’

जेन–जी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको जिकिर गर्दै मुल्मीले देशमा कठीन दिन आउनसक्ने चिन्ता पनि जाहेर गरे । ‘जसरी राजनीतिक दलहरुलाई निषेध गरिएको छ र म कुनै राजनीतिक दलमा छैन भन्नेलाई च्यापिएको छ, यसले द्वन्द्व निम्त्याएको छ,’उनले भने,‘हाम्रो अर्को प्रयास मुठभेडको राजनीति गर्न नदिनु पनि हो । निषेध र प्रतिशोधको राजनीति सुरु भएको छ । एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ । यो अवस्थाको अन्त्य गरिनुपर्छ ।’

यतिबेला निजी क्षेत्रको लागि बोलिदिने र दया देखाउने कुनै वर्ग नै नरहेको जिकिर गर्दै फागुन २१ का लागि घोषित चुनाव सफल बनाउन अहिलेको जेन–जी पुस्तासहित राजनीतिक दलहरुलाई दवाब दिनुपर्ने धारणा पनि राखे ।

दण्डहीनताको अन्त्य हुनैपर्ने पनि उनको धारणा थियो । उनले भने,‘अर्को कुरा हामीले आगजनी,लुटपाट र अपराध गर्नेहरुलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध आवाज उठाउनै पर्छ । के सरकारले कानूनविहीन राज्य निर्माण गर्न खोजेको हो भन्ने प्रश्न हामीले नै गर्ने हो । हामीलाई सुरक्षा दिने जिम्मेवारी सरकारकै हो । अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन ।’

जेनजी आन्दोलनको क्रममा जलाइएको होटल सरोवरका संचालक प्रतिकराज पहारीले भवन जल्नुको पीडा र डर त छँदैछ तर त्यसभन्दा पनि ठूलो डर व्यवसायीहरूमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्नेमा बढी भएको बताए । उनले आफ्नो परिवारले ऋण गरेर बनाएको होटलमा सुनियोजित तवरले आगजनी र लुटपाट गरिएको बताउँदै अपराधीमाथि कारवाही हुनुपर्ने माग गरे ।

देश कुनै सुपरम्यान आएर नबनाउने बताउँदै उनले अगाडि भने, ‘अब हामी आर्थिक समावेशीकरणको बाटोमा लाग्नुपर्ने भएको छ । पहुँच भएकाले मात्र व्यापारमा लाग्ने हैन, पहुँच हुनेले मात्र राजनीतिमा अवसर पाउने हुनु हुँदैन । देश कुनै सुपरम्यान आएर बनाउने हैन । मान्छेलाई कसरी उद्यमी बनाउने र सकारात्मक कार्यमा लगाउने भन्ने सामूहिक आवाज अहिलेको आवश्यकता हो ।’

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले आफ्नै सम्पत्ति जल्दा पनि हेर्नबाहेक केही गर्न नसकेको पीडा पोख्दै आउँदा दिनमा यस्तो अराजकता नहोस् भन्ने कामना गरे । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधीमाथि कारवाहीको माग गरे ।

अगुवा महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुनस्र्थापनाका कार्य छिटो हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->