बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको आयोजनामा बागलुङमा संचालित पालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ ।
शिक्षा, स्वास्थ्य लगायत समाजिक क्षेत्रमा सहयोग र काम गर्दै आएको समाजले खेल क्षेत्रको बिकासका लागि बागलुङ नगरपालिका ४ दावगहमा गत बुधवारदेखि शुरु गरेको अन्तराष्ट्रिय बागलुङ समाज कप २०८२ को समिफाइनलको समिकरण सकिएको हो ।
लिककम नकआउटमा खेलाइएको खेल अन्तरगत क्वाटर फाइनलका खेल सकिएसंगै सेमिफाइनलको समिकरण पुरा भएको हो । १० पालिका मध्य गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र काँठेखोला गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रवार भएको पहिलो क्वाटरफाइनल खेलमा बरेङ गाउँपालिकालाई पराजित गर्दै ढोरपाटन नगरपालिका, देस्रो खेलमा जैमिनी नगरपालिकालाई पराजित गर्दै निसीखोला गाउँपालिका, तेस्रो खेलमा बागलुङ नगरपालिकालाई पराजित गर्दै काँठेखोला गाउँपालिका र चौथो खेलमा ताराखोला गाउँपालिकालाई पराजित गर्दै गल्कोट नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
शनिवार तथा अन्तिम दिनको पहिलो सेमिफाइनल खेल ढोरपाटन नगरपालिका बिरुद्ध निसीखोला गाउँपालिका र दोस्रो खेल गल्कोट नगरपालिकाबिरुद्ध काँठेखोला गाउँपालिकाका बिचमा हुने जिल्ला भलिवल संघका उपाध्यक्ष किशोर थापाले जानकारी दिए । सेमिफाइन सकिए लगत्तै तेस्रो स्थानका लागि र फाइनल खेल हुने उनले बताए ।
करिव १२ लाख खर्च अनुमान गरिएको प्रतियोगिताबाट प्रथम हुने पालिकाले नगद २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र, द्धितीय हुने पालिकाले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा तृतीय हुने पालिकाले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका सचिव राजु थापाले जानकारी दिए ।
सान्तवना हुने टिमलाई नगद २५ हजार, प्रतियोगितामा सहभागी हुने पालिकालाई भत्ता स्वरुप नगद २५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र बेष्ट कोच सहित बिद्यागत उत्कृष्ट खेलाडिलाई नगद ५ हजार प्रदान गरिने उनले बताए । लिगकम नकआउटमा खेलाइने खेलको क्वाटर फाइनलबाट म्यान अफ दि म्याच छनौट गरिने थापाले जानकारी दिए ।





