बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्राकृतिक स्रोतको उपयोग होस्, दोहन रोकियोस्

प्राकृतिक स्रोतको उपयोग होस्, दोहन रोकियोस्

घरेलु तथा साना उद्योग कार्यालयमा सामान्य उद्योग दर्ता गराउने, त्यही कागजको खोस्टोका आडमा गिट्टी, बालुवा दोहन गर्ने अनि राज्यलाई अरबौंको हानी गराउने प्रवृत्तिलाई निमूर्ल पार्नु राज्यको कर्तव्य हो । यो कर्तव्यबाट राज्य, प्रशासन र स्थानीय तहहरु च्यूत हुन मिल्दैन ।


  • Dhorpatan News
  • मंसिर ३ २०८२, बुधबार

समय ठीकठाक चलेको भए, आर्थिक वर्ष २०८२/९८३ को बजेट कार्यान्वयनले गति लिने बेला हो–यो । विकास निर्माणका परियोजनाहरुको ठेक्का लगाउने, पालिकाहरुले आर्थिक स्रोतको जोहो गर्ने समयमा जेन–जी आन्दोलन भयो । कयौं पालिका र वडा कार्यालयहरु जले । प्रधानमन्त्री नै हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था सिर्जना गरेको जेन–जी आन्दोलनबाट सिंिगो राष्ट्र प्रभावित बन्यो । तीनवटै तहका सरकारका कामहरु रोकिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको २ महिना पुग्दा पनि स्थिति अझै सहज हुन सकेको छैन । तर,रोकिएका कामहरु सुरु हुने चरणमा प्रवेश गरेका छन् ।

जनताको लागि वडा कार्यालय वा पालिका नै नजिकको सिंहदरबार हो । उनीहरु त्यहाँबाट प्रवाह हुने सेवा चुस्त होस् र विकास निर्माणका कामले गति लिएको हेर्न चाहन्छन् । पालिकाहरुसँग सीमित स्रोत र साधन रहेको छ । तर,जनचाहना चाहिँ असीमित नै छन् । जनचाहना पूरा गर्न स्रोत चााहिन्छ । पैसा जोगाड गर्न पालिकाहरुले आन्तरिक आम्दानीको स्रोत बढाउनै पर्छ । तर, देशका अधिकांश पालिकाहरुले त्यो दिशामा काम गर्न सकेका छैनन् । उद्योग स्थापना र राजश्वको अन्य स्रोत बढाउने काम हुन नसक्दा पालिकाहरु प्राकृतिक स्रोतमै आश्रित छन् । प्राकृतिक स्रोत भनेको पनि के हो र ? त्यही ढुंगा,गिट्टी,बालुवा नै त हो ! त्यसबाट पनि पालिकाहरुले भनेजस्तो राजश्व संकलन गर्न नसकेको, कयौँ ठाउँमा जनप्रतिनिधिकै मिलेमतोमा दोहन भएकोजस्ता गुनासाहरु सुनिँदै आएका छन् । खोला र घाटहरु अवैध कारोवारी र कुत्सित मनसाय बोक्ने जनप्रतिधिको कब्जामा पर्नु दुःखद हो । पोखरा महानगरको कुरा चाहिँ केही फरक छ । यहाँका प्रमुख घाटहरु केही वर्षयता ठेक्कामा गएका छैनन् । जसका कारण महानगरले ठूलो राजश्व गुमाएको छ । घाट ठेक्कामा गएको छैन तर अवैध दोहन रोकिएको पनि छैन । यो वर्ष पनि ठेक्का आह्वान गरिएका केही घाटहरुमा कसैको पनि आवेदन परेको छैन । कहाँ के भइरहेको छ भन्नेबारे महानगरले स्पष्ट जानकारी दिएको छैन वा लिन चाहेको छैन ।

खासमा, देश पछिल्लो समय प्राकृतिक स्रोतको डरलाग्दो दोहनको चपेटामा परेको छ । नदीजन्य र वनजन्य पदार्थहरुको दोहनले एकातिर वातावरणी सन्तुलन बिगारेको छ भने अर्कोतर्फ आपराधिक गतिविधिमा वृद्धि पनि भएको छ । हिमालदेखि चुरे र मधेशसमको अवस्था उस्तै छ । नदीजन्य पदार्थहरु गिट्टी–बालुवा दोहनको विरुद्धमा कसैले बोल्दा ज्यान नै गुमाउनु पर्ने, विस्थापनमा पनुपर्ने डरलाग्दो अवस्था आएको छ । कारवाही गर्न खोज्ने प्रशासनिक निकायका केही साहसिक व्यक्तिहरुलाई सरुवा गराउने हैसियत पनि उनीहरुसँगै रहेको छ ।

आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले खोला, घाट, वन तथा अन्य प्राकृतिक स्रोतमाथि कब्जा जमाएका छन् । खुलेआम राज्यको सम्पत्ति लुटिँदा, उनीहरुकै कारणबाट बस्ती र टोलहरु असुरक्षित हुँदा पनि चुइँक्क बोल्न धकाउनु पर्दा राज्यसत्ता नै उनीहरुको कब्जामा भएको सन्देश गएको छ । अनिधिकृत रुपमा गरिने यस्ता व्यवसायले राज्यलाई अरबौं ठगेका छन् ।

निश्चय पनि, प्राकृतिक स्रोतमाथिको दोहनमा उत्रेकाहरु राज्यका विभिन्न संयन्त्रमा रहेका कर्मचारी एवं राजीनीतिक नेताकै संरक्षण रहेको लु्केको छैन । जबसम्म प्राकृतिक स्रोतमा अनधिकृत कब्जा जमाउनेहरुले राजनीतिक संरक्षण पाइरहन्छन्, दोहन जारी रहन्छ । यो सत्य हुँदाहुँदै पनि दोहन रोक्नु जरुरी देखिएको छ । जिल्ला समन्वय समितिको अनुगमनले त्यही तथ्य औंल्याएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा सामान्य उद्योग दर्ता गराउने, त्यही कागजको खोस्टोका आडमा गिट्टी, बालुवा दोहन गर्ने अनि राज्यलाई अरबौंको हानी गराउने प्रवृत्तिलाई निमूर्ल पार्नु राज्यको कर्तव्य हो । यो कर्तव्यबाट राज्य, प्रशासन र स्थानीय तहहरु च्यूत हुन मिल्दैन । आपराधिक गतिविधि गर्ने छुट कसैलाई छैन । राज्यको नीति र नियमभित्र रहेर क्रसर, बालुवा खानी वा अन्य प्राकृतिक स्रोत÷साधन उत्खनन र बिक्री गर्न पाइन्छ । तर, कानून मिच्न पाइँदैन । यसको लागि राज्य कडा नियमन र कारवाहीमा उत्रनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->