बागलुङ/भलिबलको उर्वर भूमि मानिने गलकोटमा आयोजित ‘गलकोट कप भलिबलको उपाधि पिरो स्पोर्टस् क्लव जापान, गलकोट नगरपालिका–५ ले जितेको छ ।
जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल संघको समन्वयमा आयोजित खुल्ला वडास्तरीय ‘गलकोट कप’ भलिबल प्रतियोगितामा मंगलबार सम्पन्न फाइनल खेलमा पिरो स्पोर्टस् क्लव जापान गलकोट–५ ले गलकोट स्पोर्टस् क्लव जापान गलकोट–१० लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
फाइनल खेलमा पिरो स्पोर्टस् क्लवले गलकोट स्पोर्टस् क्लवलाई २५–१९, २५–२३ र २५–१९ सेटमा पराजित गर्दै गलकोट कप जितेको हो । पहिलो सेटमा जित निकाले पनि गलकोट स्पोर्टस् क्लवले लगातार तीन सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझायो ।
प्रतियोगिताको विजेता टोली पिरो स्पोर्टस् क्लबले नगद दुई लाख १ हजार १ सय ११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता गलकोट स्पोर्टस् क्लबले एक लाख १ हजार १ सय ११ रुपिायाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, पालिकास्तरीय महिला भलिबलको उपाधि जैमिनी नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा जैमिनीले मंगला गाउँपालिका म्याग्दीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधी जितेको हो । जैमिनिले मंगलामाथि २५–२१, २५–२१ र २५–२२ सेटमा जित निकालेको हो । तेस्रो सेट जितेपनि मंगलाले तीन सेटमा हार व्यहो¥यो ।
विजेता जैमिनीले नगद एकाउन्न हजार, १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता मंगलाले तीस हजार १ सय ११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।





