भनिन्छ–विश्वमा हरेक सेकेण्ड एकजना व्यक्ति विस्मृति (डिमेन्सिया) को शिकार बनिरहेको हुन्छ । सरल भाषामा भन्ने हो भने भूतकालका कुराहरु स्मृतिमा ल्याउन असफल हुनु नै विस्मृति हो । रोग लागेमा जटिलता उत्पन्न हुन्छ । तर, नेपालीहरुमा भने विस्मृतिमा रमाउने अनौठो बानी देखिन्छ । दुःख बिर्सनुलाई अन्यथा भन्न नमिल्ला तर विगतका अनुभवलाई आगतको जीवनमा उपयोग गर्ने सवालमा भने यो प्रवृत्तिले अवरोध सिर्जना गराएको छ । राजनीतिक नेतृत्वमा देखिएको विगत बिर्सने बानी झन उदेकलाग्दो छ ।
टाढा जानै पर्दैन, गएको भदौ २४ कै घटना हेरे पुग्छ । तत्कालीन सत्ताले सामाजिक सञ्जाल बन्दको विरुद्धमा सडकमा उत्रिएका नवयुवाहरुको आवाज सुनेन । उल्टो दमनको बाटो अंगिकार ग¥यो । युवाहरुमाथि गोली ठोकियो । आक्रोशित युवा शक्तिले त्यो सत्तालाई उखेल्यो । तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका मन्त्री र नेताहरु सेनाको सुरक्षा घेरामा रहन बाध्य बने । आक्रोश त्यही दिन उत्पन्न भएको थिएन । सत्ताको घुम्ने कुर्सी वरपर घुम्ने र भ्रष्टाचारमा लिप्त केही थान नेता, नीतिगत निर्णयमार्फत् नै राज्यकोषको दोहनमा उत्रने विचौलियाहरुका कारण जनता वाक्कदिक्क बनेका थिए । आफूले गरेका गलत कृत्यहरुविरुद्ध एकदिन जनताले आवाज उठाउँछन् भन्ने हेक्का नभएका नेताहरुले त्यो सत्य बुझ्दै बुझेनन् । उनीहरु भजनमण्डलीको वरपर नै रमाए । कमाउ धन्दामा लागे । आफ्नो त्यही खराब बानीका कारण सत्ताबाट जमिनमा ओर्लन बाध्य बने । जेन–जी आन्दोलनको त्यो राप र ताप अझै सेलाएको छैन । तर, तत्कालीन सत्ताका मठाधीशहरुले चाहिँ भदौको त्यो प्रलय भुलेजस्तो देखिएको छ । सेनाले कठालोमा समातेर हेलिकोप्टरमा हालेको घटना बिर्सेर उनीहरु त्यो दिन केही भएकै थिएन, आफ्नो दोष नै थिएन भन्दै हिँड्न थालेका छन् । भदौ २४ मा भएको विध्वंशको घटनालाई अतिरञ्जित बनाउने र २३ मा केही भएकै थिएन भन्ने भाष्य निर्माण गर्ने ती नेताहरुमा साँच्चै बिर्सने रोग छ कि, बिर्सेको नाटक गरेका हुन् ? जनताले बुझ्न सकेको छैन ।
ती नेताहरुले समयलाई उल्टो हिँडाउने प्रपञ्च गरेको चाहिँ कतैबाट छिपेको छैन । हिजो गरेका कर्तुतहरुको हिसाब किताब माग्नेहरुसँग उल्टो तुजुक देखाउने, प्रायश्चित त छाडौँ, आत्मालोचनासम्म नगर्ने र दोष अर्काको टाउकोमा थापर्न खोज्ने त्यो प्रवृत्तिको उनीहरुकै पार्टीभित्र पनि बिरोध भइरहेको छ । तर, त्यो जायज आवाजको सुनवाइ हुन सकेको छैन । मबाहेक अरु कोही छैनन् र म नहुँदा देश बर्बाद हुन्छ भन्ने उद्घोष गर्नेहरुले पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रको घाँटी निमोठेका छन् । यो कृत्यलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । यो प्रवृत्तिले अरुलाई त बिगार्छ नै, स्वयं व्यक्तिलाई पनि हानी पु¥याउँछ भन्नेतर्फ ती व्यक्तिको ध्यान गएको छैन । जेन–जी आन्दोलन विसंगति र भ्रष्टाचारको खिलाप थियो । त्यसले परिवर्तन खोजेको हो र त्यही आन्दोलनले आफूलाई सडकमा झारेको हो भन्ने सत्यलाई नजरअन्दाज गर्दा झन ठूलो खति हुन्छ भन्ने ती नेताहरुले बुझून् । पार्टीभित्र आफू नै सर्वेसर्वा हुन्छु वा रहन्छु भन्ने महत्वाकांक्षा छाडून् । कम्तिमा बिर्सने रोगबाट मुक्तिको बाटो खोजून् ।




