त्रिभुवन विश्वविद्यालय नेपालको पुरानो विश्वविद्यालय हो । १९७५ सालमा त्रिचन्द्र क्याम्पसको स्थापना भएको ४१ वर्षपछि २०१६ सालमा यो विश्वविद्यालयको स्थापना भएको हो । देशको पुृरानो विश्वविद्याल मातहत हाल ५ वटा प्राविधिक र ४ वटा साधारण संकाय,४० वटा केन्द्रीय विभाग, ६२ वटा आंगिक क्याम्पस अनि १ हजार ६२ वटा सम्वन्धन प्राप्त क्याम्पस संचालनमा रहेका छन् । देशमा १२ वटा विश्वविद्यालय संचालनमा हुँदा पनि यो विश्वविद्यालयले मात्र आधाभन्दा बढी विद्यार्थीको भार खेपिरहेको छ । हाल त्रिविअन्तर्गतका क्याम्पसका विभिन्न संकाय अनि तहमा करिब ५ लाख विद्यार्थी अध्ययनरत रहेका छन् । तर, यतिधेरै विद्यार्थी अध्ययन गर्ने त्रिविको हालत भने सधैँजसो खराब रहँदै आएको छ । विश्वभरका विश्वविद्यालयमध्ये यसको स्थान एक हजारभित्र पनि पर्दैन । जसले गर्दा यहाँबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रवेश पाउन कठीन देखिन्छ । त्रिविको गुणस्तर नबढ्नुका विविध कारण छन् र सबैभन्दा मुख्य कारण भनेको राजनीतिक हस्तक्षेप नै हो ।
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीको यति धेरै जिम्मेवारी हुन्छ कि, उसले चाहेर पनि सबैतिर ध्यान पु¥याउन सक्दैन । त्यसमाथि प्राज्ञिक कर्ममा राजनीतिज्ञको कति पो चासो हुन्छ र ? प्रधानमन्त्री कुलपतिमा आसिन हुने तर विश्वविद्यालयमा के भइरहेको छ भन्नेतर्फ ध्यान नदिने गरकैले विश्वविद्यालय बिग्रेको हो । अग्लो आसनमा बस्ने र त्यसभन्दा तलका उपकुलपति र सामान्य कर्मचारीसम्म आफू निकटलाई भर्ती गर्दै विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने काम पनि कुलपतिबाट हुँदै आएको छ । विश्वविद्यालयलाई प्राज्ञिक व्यक्तित्वबाटै संचालन गर्ने, राजनीतिक हस्तक्षेप नगर्ने हो भने गुणस्तर सुधार गर्न कठीन छैन । यसअघिका प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम नै रोकिदिए । आफू अनुकूलको निर्णय गराउन उपकुलपति र पदाधिकारीलाई बाध्य पार्ने उनीमात्र एक्ला कुलपति चाहिँ हैनन् । पद खान र बढुवा माग्न राजनीतिक नेतृत्वको ढोकामा पुग्ने प्राध्यापक,विश्वविद्यालयबाटै आर्थिक उपार्जन गर्न खोज्ने विद्यार्थी नेता पनि दोषका भागिदार छन् । नेपालको शिक्षा क्षेत्र चरम राजनीतिकरणले बिग्रेको हो र जहाँबाट बिग्रेको हो,सुधार त्यहीबाट थाल्नुपर्छ । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले कुलपतिको भारी प्रधानमन्त्रीले बोक्न नहुने बताएकी छन् । शिक्षामन्त्री पनि यो भनाइमा सहमत देखिएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीले बोलेका कुरा व्यवहारमा लागू गर्न प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने, राजनीति गर्ने र नपढाउने प्राध्यापक, प्राध्यापकलाई धम्क्याउने विद्यार्थी युनियमाथि लगाम कस्ने, समयानुकल पाठ्यक्रम परिमार्जन गर्दै अनुसन्धानमा जोड दिने गरी सुधारका कार्यक्रम थाल्न पर्छ । सुधारका अन्य क्षेत्र पनि छन् । सम्बन्धन बेच्नेमाथि कारवाही,शैक्षिक क्यालेण्डरको कार्यान्वयन,घोकन्ते शिक्षालाई निरुत्साहित, कामचोर शिक्षकमाथि कारवाही प्रक्रिया पनि यही मेसोमा सुरु गर्नैपर्छ । हरेक वर्ष विद्यार्थी दीक्षित गर्ने तर ती विद्यार्थी विश्वबजारमा नबिक्ने र बेरोजगार उत्पादन गर्ने मेसिनबाट विश्वविद्यालयलाई मुक्त गरिनुपर्छ ।




