चीन सरकारले अमिलो फलफूल, भैंसीको मासु र माछा आयात गर्ने प्रतिवद्धता जनाएको धेरै भइसक्यो । सिन्धुलीमा चीनको बजार लक्षित भैंसीको मासु प्रशोधन उद्योग संचालनको तयारी थालिएको छ । यतिबेला गण्डकी प्रदेशकै मुस्ताङको कोरोला नाका संचालनमा आइसकेको छ । सो नाकाबाट ठूलोमात्रामा चिनियाँ गाडी र सामान आयात हुँदा निर्यातको मात्रा भने निकै कम छ ।
खास भन्ने हो भने, नेपालको अर्थतन्त्र नै आयातमुखी छ । निर्यातजन्य बस्तुको पहिचान र त्यसको उत्पादनमा हाम्रो ध्यान छैन । युवाहरुलाई विदेश पठाउने र उनीहरुले नै पठाएको पैसाबाट विदेशी सामान किन्ने नियतिबाट देशलाई मुक्त गर्न उत्पादन बढाउनैपर्छ । व्यापार घाटा कम गर्न के कुरा निर्यात गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । चीनले हामी किन्छौँ, तिमी उत्पादन गर भन्दा पनि हामी ब्यूँझिएका छैनौँ ।
कृषि विकास निर्देशनालयका अनुसार हरेक वर्ष गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च गुणस्तरको सुन्तला उत्पादन हुन्छ । तीन अर्बको सुन्तला उत्पादन हुनु चानचुने कुरा हैन । गण्डकी क्षेत्रको हावापानी सुन्तला र अमिलो फलफूलको लागि उपयुक्त पनि छ ।
गण्डकीको मनाङ र मुस्ताङमा अमिलो फलफूल फल्दैन । तर,बाँकी सबै जिल्ला अमिलो फलफूलको लागि उर्वर छ । किसानलाई उत्प्ररित गरियो, बिरुवा, आवश्यक प्रावधिक सहयोग, औषधि अनि उत्पादित फलफूलको बजारीकरणमा सघाउने हो भने यो प्रदेशले अमिलो फलफूलबाट ठूलो आम्दानी लिनसक्ने प्रसस्त सम्भावना रहेको प्रमाणित भएको छ । साँच्चै किसानलाई प्रोत्साहित गर्ने हो भने, युवाहरुलाई कृषिमै लगाउन र विदेशिनबाट रोक्ने काम पनि सम्भव हुन्छ । तर, यसको लागि सरकारले विशेष चासो दिनुपर्छ । विचौलियाले मात्र लाभ पाउने र किसानले लागत मूल्य पनि नपाउने प्रवृत्तिको अन्त्य,बाली बीमा,समयमा मल, बिऊ र बिरुवा प्राप्ति,चाहेको बेला प्राविधिक सहयोग गर्ने वातावरण बनाइनुपर्छ । यसका साथै वास्तविक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गर्ने प्रणाली पनि विकास गरिनुपर्छ ।
अर्कोतर्फ,पछिल्लो समय सुन्तलामा रोगको प्रकोप देखिएको छ । पाक्नु अगावै पहेंलिने र झर्ने, बोट नै मर्ने यो प्रकोपका कारण लमजुङसहितका केही जिल्लाका किसानहरुले सुन्तला खेती छाडेका छन् । सुन्तलाबाट राम्रै उत्पादन लिएका ती किसानलाई पुनः सुन्तला र अमिलो फलफूल खेतीमा फर्काउन यस्ता रोगको निदानमा विशेष ध्यान दिनैपर्छ । यसो गर्दा खेती बिस्तारमात्र हुँदैन,आत्मनिर्भर अर्थतन्त्र पनि निर्माण हुन्छ ।
कोरोला नाका संचालनमा आइसकेको अवस्थामा त्यही बाटो हुँदै अमिलो फलफूल निर्यातका निम्ति उत्पादन बढाउनुपर्छ । यसको लागि अमिलो फलफूल रोपौं भन्ने अभियान नै सुरु गरिनुपर्छ । राज्यले अमिलो फलफूलका विरुवा रोप्ने किसानलाई अनुदान दिनुपर्छ । बजारीकरणमा सघाउनुपर्छ र त्यसबाट नाफा आर्जन गर्न सकिन्छ भन्नेमा विश्वस्त गराउनुपर्छ । यसका साथै फलफूल लगाउनुअघि गाउँगाउँमा देखिएको बाँदर आतंक रोक्नेतर्फ पनि कदम चाल्नुपर्छ ।




