पोखरा/पोखराका कलिला बालकहरुले संगीत र सुरसहित झलकमान र नारायणगोपालप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
झलकमान गन्धर्व सारङ्गी पाठशालामा संगीत सिक्दै गरेका बालकहरुले बिहीबार सारङ्गी रेट्दै,मादल बजाउँदै र गीत गाउँदै यी दुई अग्रज श्रष्टाप्रति श्रद्धाञ्जली दिएका हुन् । रेडियो अन्नपूर्णले आफ्नो रजत वर्षको अवसर पारे यी दुई श्रष्टाको सम्मानमा ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा प्रशिक्षण गर्ने अविरल, शैलेश, क्रिस, दीपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुति राखेको पाठशालाका प्रशिक्षक समीर गायकले जानकारी दिए ।
कार्यक्रममा उनीहरूले स्वरसम्राट नारायणगोपाल र झलकमान गन्धर्वका गीत एकपछि अर्को गरेर सुनाउँदा उपस्थित दर्शकले खुलेर साथ दिए । कार्यक्रममा उनीहरु ‘आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन’् गीतबाट प्रस्तुती राख्न सुरु गरे । एकपछि अर्को गीत सुनाउदै दर्शकको ध्यान खिच्न उनीहरु सफल भए । अन्तिममा बोनस गीतको रुपमा पोखरेली अर्का स्रष्टा बुद्धि परियारको रेशम फिरिरि… गीत सुनाएर प्रस्तुतिको बिट मारेका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर ९ ले सो कार्यक्रममा सहकार्य गरेको थियो । कार्यक्रमको पोखरा का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि तीर्थ श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नारायणगोपालको मंसिर १९ र झलकमान गन्धर्वको मंसिर ६ गते परेको स्मृति दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए ।
पोखराको महेन्द्रपुलमा रहेको फल्चामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । सारङ्गी पाठशालाका प्रतिभालाई बाहिर ल्याउने र थप अवसर सिर्जना गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको बताए । यो कार्यक्रमप्रति सबैले देखाएको चासो प्रति उनले खुशी व्यक्त गरे ।
गीतकारसमेत रहेका विशिष्ट अतिथि तीर्थ श्रेष्ठले झलकमान गन्धर्व र नारायण गोपालको बारेमा चर्चा गरेका थिए । उनले दुवै स्रष्टाले सांगीतिक क्षेत्रमा गरेको योगदानबारे फेहरिस्त सुनाएका थिए । जसका कारण उपस्थित दर्शकले स्रष्टाहरू बारेमा थप जानकारी पाउने अवसर प्राप्त गरे ।
कन्दरा व्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले सन्देशमूलक कार्यक्रम आयोजना भएको भन्दै खुशी व्यक्त गरे ।





