बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अस्पतालमा राजनीतिक भागबन्डा, अस्वभाविक प्रक्रिया

अस्पतालमा राजनीतिक भागबन्डा, अस्वभाविक प्रक्रिया

राजनीतिक दलहरूलाई सत्तामा पुग्ने बित्तिकै सार्वजनिक संस्थालाई ‘पुरस्कार वितरण केन्द्र’ वा ‘कार्यकर्ता थन्क्याउने उपयुक्त स्थान’ ठान्ने गलत संस्कारलाई थप बल पु¥याएको छ । यस्तो प्रवृत्तिले न त स्वास्थ्य सुधार सम्भव हुन्छ, न त जनविश्वास कायम रहन्छ ।


  • Dhorpatan News
  • मंसिर २५ २०८२, बिहिबार

गण्डकी प्रदेशका ११ वटा अस्पतालमा व्यवस्थापन समितिको नयाँ अध्यक्ष नियुक्तिको समाचारले फेरि एकपटक हाम्रो स्वास्थ्य प्रशासन कति गहिरो राजनीतिक हस्तक्षेपको चक्रमा फसेको छ भन्ने यथार्थ उजागर गरेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिका आधारमा अस्पताल व्यवस्थापन समितिको नेतृत्व बाँडफाँट हुनु केवल व्यक्तिको नियुक्ति मात्र होइन, सार्वजनिक स्वास्थ्य सेवाप्रतिको राज्यको दृष्टिकोणमाथि गम्भीर प्रश्न हो ।

अस्पताल कुनै दलको कार्यालय होइन । यो नागरिकको जीवन, आशा र भरोसासँग जोडिएको अत्यावश्यक सार्वजनिक संस्था हो । त्यस्ता संस्थामा नेतृत्व छनोट गर्दा प्राथमिक मापदण्ड राजनीतिक निष्ठा होइन, योग्यता, अनुभव, क्षमता र दीर्घकालीन सोच हुनुपथ्र्यो । तर यहाँभने ‘कुन अस्पताल कसको भागमा’ भन्ने हिसाब–किताबले राज्यको नीति र नियत दुवैलाई कमजोर बनाइदिएको छ ।

प्रदेश सरकारले स्नातक अनिवार्य जस्ता केही मापदण्ड राखेको देखिए पनि त्यसले भागबन्डाको मूल समस्या समाधान गर्दैन । स्नातक उत्तीर्ण हुनु नेतृत्वको न्यूनतम शैक्षिक योग्यता हुन सक्छ, तर अस्पताल सञ्चालन गर्न स्वास्थ्य प्रणालीको बुझाइ, व्यवस्थापन क्षमता, वित्तीय अनुशासन र अस्पतालसंग स्थानीय समुदायको विश्वास झन् महत्वपूर्ण पक्षहरू हुन् । राजनीतिक सन्तुलन मिलाउनकै लागि पटक–पटक गठन आदेश फेरिनु आफैंमा अस्थिरताको संकेत हो ।

सरकार परिवर्तनपिच्छे अस्पताल व्यवस्थापन समिति फेरिनु भनेको नीति निरन्तरताको हत्या हो । एउटा सरकारले गरेको सुधार अर्को सरकार आएपछि अवरुद्ध हुन्छ । यसले योजनाहरू अपुरै रहन्छन्, कर्मचारीहरू अन्योलमा पर्छन् र अन्ततः यसको असर सर्वसाधारण बिरामीले भोग्नुपर्छ । सस्तो उपचार, समयमै सेवा र गुणस्तरीय स्वास्थ्य सुविधा खोजिरहेका नागरिकका लागि यो राजनीतिक खेल अत्यन्तै निराशाजनक रहन पुगेको छ ।

अझ चिन्ताजनक त के छ भने, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि दलीय भागबन्डा स्वाभाविक जस्तै स्वीकार हुँदै गएको छ । यसले राजनीतिक दलहरूलाई सत्तामा पुग्ने बित्तिकै सार्वजनिक संस्थालाई ‘पुरस्कार वितरण केन्द्र’ वा ‘कार्यकर्ता थन्क्याउने उपयुक्त स्थान’ ठान्ने गलत संस्कारलाई थप बल पु¥याएको छ । यस्तो प्रवृत्तिले न त स्वास्थ्य सुधार सम्भव हुन्छ, न त जनविश्वास कायम रहन्छ ।

अस्पताल व्यवस्थापनलाई राजनीतिभन्दा माथि राख्ने साहसिक निर्णय गर्न सकेको भए बल्ल राम्रो मान्न सकिन्थ्यो । पारदर्शी छनोट प्रक्रिया, स्वतन्त्र विज्ञ समेटिएको समिति, निश्चित कार्यकाल र कार्यसम्पादनको मूल्याङ्कन जस्ता प्रणाली अपनाउन नसकिएसम्म स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार सम्भव छैन । अस्पतालमा गरिने भागबन्डा सार्वजनिक हित माथिको प्रत्यक्ष आघात र अस्वभाविक प्रक्रियाको रुपमा लिन सकिन्छ । राजनीतिले सेवा सुधारको बाटो छेक्ने होइन, खोल्ने काम गर्नुपर्छ । यही सन्देश आजको गण्डकी प्रदेश मात्र होइन, सिंगो देशका लागि सान्र्दभिक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->