निजी विद्यालयहरुमाथि घोकन्ते विद्याको पक्षपोषण गर्ने,विद्यार्थीको प्रतिभा बढाउनेतर्फ कम प्राथमिकता दिने र नाफा कमाउन उद्यत रहने आरोप लाग्दै आएको छ । सरसर्ती हेर्दा यो आरोप मिथ्या देखिँदैन ।तर,निजी विद्यालयहरुको संगठन नेसनल प्याब्सन कास्कीकले गएको साता पोखरामा आयोजना गरेको ‘बृहत बाल प्रतिभा पहिचान महोत्सव’ ले चाहिँ फरक सन्देश प्रवाह ग¥यो । जहाँ ४३ विद्यालयका १ हजारभन्दा विद्यार्थीहरुलाई हराउँदै गएको सीप सिकाइयो र त्यसमै स्पर्धा गर्न लगाइयो ।
सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता समावेश गरियो । गायन,नृत्यलगायतका विधा त पुरानै थिए । तर,विद्यार्थीहरुलाई गुन्द्री बुन्न, दुना–टपरी गाँस्न,चोया काढेर डोको बुन्ने स्पर्धामा सामेल गराएर चाहिँ एनप्याब्सनले नयाँ सन्देश दियो । गुन्द्री,दुना–टपरी र ढोको–नाम्लो नयाँ पुस्तका निम्ति बिरानो बन्दै गएको छ । सीप पुस्तान्तरण नहुँदा यस्ता सामग्री बनाउने काम पनि बिस्तारै लोप हुँदैछ । यी सामग्रीहरु दैनिक जीवनमा प्रयोग चाहिँ भइरहेको छ । तर,स्वदेशमा नभएर विदेशबाट आयात गरिएको छ । यी सामग्री स्वदेशमै उत्पादन हुँदा स्थानीय स्रोत–साधनको प्रयोग हुने, आयात प्रतिस्थापन हुने तथा रोजगारी प्राप्त हुने निश्चित नै छ । अर्कोतर्फ संस्कृतिको जगेर्नामा पनि यसले योगदान नै गर्छ । प्याब्सनले प्रतियोगिता नै आयोजना गर्दै यो अभियानलाई सार्थक बनाउने प्रयास गरेको छ । जुन प्रशंसनीय र अनुकरणीय पनि छ ।
प्रयोगात्मक शिक्षामा जोड नदिनु नेपालको शिक्षाको डरलाग्दो रोग नै हो । व्यावसायिक शिक्षा हैन कि घोकन्ते शैक्षिक पद्धतिले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउँदैन । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनैपर्छ । त्यसको थालनी विद्यालयबाटै हुनुपर्छ । सीपको पुस्ता हस्तान्तरण एवं बालबालिकालाई सीपयुक्त नागरिक तुल्याउन एनप्याब्सनले सुरु गरेको यो अभियानलाई निरन्तरता दिनैपर्छ ।




