बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मेला–महोत्सवलाई स्थानीय अर्थतन्त्रको इन्जिन बनाऔं

मेला–महोत्सवलाई स्थानीय अर्थतन्त्रको इन्जिन बनाऔं

सही योजना र दीर्घकालीन दृष्टिकोणसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकियो भने यसले समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा निर्णायक भूमिका खेल्ने विश्वास गर्न सकिन्छ र यसले समग्रमा, मेला–महोत्सवहरू स्थानीय अर्थतन्त्रका इन्जिन बनाउन सकिन्छ ।


  • Dhorpatan News
  • पुष ३ २०८२, बिहिबार

पोखरा तथा आसपासका क्षेत्रमा वर्षेनी आयोजना हुँदै आएका औद्योगिक, व्यापारिक तथा सांस्कृतिक मेला–महोत्सवहरू केवल रमाइलो र मनोरञ्जनका कार्यक्रम मात्र होइनन्, ती स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा २०४२ सालमा पहिलो पटक आयोजना गरिएको औद्योगिक व्यापार मेलादेखि लिएर आजसम्म आइपुग्दा यस्ता मेला देशभर फैलिनु यसको स्पष्ट प्रमाण हो ।

राष्ट्रिय औद्योगिक व्यापार मेला, पोखरा सडक महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव तथा अन्य विभिन्न महोत्सवहरूले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने सशक्त माध्यमको भूमिका निर्वाह गरेका छन् । किसानका कृषि उपज, साना तथा मझौला उद्योगका उत्पादन, हस्तकला, घरेलु उद्योगका सामग्रीदेखि लिएर आधुनिक औद्योगिक वस्तुसम्म एकै थलोमा प्रस्तुत हुँदा उत्पादक र उपभोक्ताबीचको दूरी घटेको छ । यसले स्थानीय उत्पादनको उपभोग बढाउनुका साथै आयातमुखी बजारलाई केही हदसम्म आत्मनिर्भर बनाउने प्रयासलाई टेवा पु¥याएको भन्न सकिन्छ ।

वर्तमान विषम आर्थिक अवस्था, खस्किँदो उपभोक्ता मनोबल र व्यवसायीको चुनौतीपूर्ण परिस्थिति बीच मेला– महोत्सवले सकारात्मक मनोवैज्ञानिक प्रभाव पनि पारेका छन् । ‘किन्ने–बेच्ने–भेट्ने’ साझा थलोका रूपमा यस्ता मेलामहोत्सवले बजारमा थोरै भए पनि चहलपहल ल्याएका छन् । होटल, यातायात, खुद्रा व्यापार, मनोरञ्जन तथा सेवा क्षेत्रमा समेत यसको प्रत्यक्ष प्रभाव देखिन्छ, जसले रोजगारी सिर्जना र आम्दानी वृद्धिमा योगदान पु¥याउँछ ।

कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर आयोजना गरिने यी महोत्सवहरूले दीर्घकालीन आर्थिक सम्भावनाको ढोका पनि खोल्दै आएका छन् । पर्यटन प्रवद्र्धन सामग्री, स्थानीय संस्कृति झल्काउने झाँकी, सांस्कृतिक प्रस्तुति, फुड फेस्टिभल तथा अटोमोबाइल प्रदर्शनीले पोखरा र आसपासका क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अझ आकर्षक गन्तव्य बनाएको छ । यसले पर्यटन अर्थतन्त्रलाई मजबुत बनाउँदै स्थानीय विकासलाई गति दिएको छ ।

साथै, वित्तीय सेवा, प्रविधि, बीउबिजन, जैविक विविधता र उद्यमशीलतासम्बन्धी जानकारी प्रदान गर्ने स्टलहरूले नयाँ पुस्तालाई व्यवसायतर्फ आकर्षित गरेका छन् । विशेष गरी जेनजी आन्दोलनबाट प्रभावित युवा उद्यमी र उपभोक्तालाई लक्षित कार्यक्रमहरूले नवप्रवर्तन र उद्यम संस्कृतिको विकासमा योगदान पु¥याइरहेका छन् ।

तर, यस्ता मेला–महोत्सवलाई केवल अस्थायी उत्सवमा सीमित नराखी दीर्घकालीन आर्थिक रणनीतिसँग जोड्नु आवश्यक छ । स्थानीय उत्पादनको गुणस्तर सुधार, ब्रान्डिङ, बजार विस्तार र निर्यातसम्मको योजनाबद्ध सोच बिना यसको प्रभाव क्षणिक हुन सक्छ । त्यसैले आयोजक, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गर्दै मेला–महोत्सवलाई दिगो आर्थिक विकासको औजारका रूपमा विकास गर्नु आजको आवश्यकता हो । सही योजना र दीर्घकालीन दृष्टिकोणसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकियो भने यसले समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा निर्णायक भूमिका खेल्ने विश्वास गर्न सकिन्छ र यसले समग्रमा, मेला–महोत्सवहरू स्थानीय अर्थतन्त्रका इन्जिन बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->