आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

परिवार नियोजन र पाठेघरको उपचारमा अब्बल बन्दै मालिका स्वास्थ्यचौकी

परिवार नियोजन र पाठेघरको उपचारमा अब्बल बन्दै मालिका स्वास्थ्यचौकी

मालिका स्वास्थ्य चौकीका प्रमुख बिलासचन्द्र पौडेलका अनुसार यहाँ महिलाको पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरबारे परीक्षण, परिवार नियोजनको अस्थायी साधन सेवालाई पनि व्यवस्थित बनाइएको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८२, शुक्रबार

बागलुङ/केही वर्ष पहिलासम्म मालिकासहित बागलुङ नगरभित्रका अधिकांस स्वास्थ्य संस्था बत्तिमुनिको अध्यारो जस्तै थिए । सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा आउनुपर्ने भएपछि स्वास्थ्य चौकीहरु व्यवस्थित थिएनन् ।

धौलागिरि अस्पताल आएका बिरामी पनि ट्याक्सी खोजेर पोखरा धाउनुपर्ने बाध्यतामा थिए । तर अहिले भने नगरका वडा वडामा बनेका स्वास्थ्य चौकीहरु उत्कृष्ट बन्दै गएका छन् । सबैमा बर्थिङ सेन्टर र प्रसुती सेवा त छैन तर न्युनतम सेवा मापदण्ड (एमएसएस) का सूचक पुरा गर्न पनि स्वास्थ्य संस्थाले सेवा बढाएका छन् ।

ती मध्येको एक हो मालिका स्वास्थ्य चौकी । नजिकमा बजार, सानोतिनो कामले पनि स्थानीयहरु सदरमुकाम झर्ने गर्दा स्वास्थ्य संस्था राम्रो थिएन । तर अहिले नगरपालिकाले पर्याप्त सेवाका लागि सामाग्री र स्वास्थ्यकर्मी पठाएको, सबै सूचकमा रिपोटिङको व्यवस्थापन गरिएको र हरेक स्वास्थ्य संस्थालाई विशेष प्रकारको बनाउन फरक फरक सेवा प्रवाहमा नमूना बनाउन खोजिएको छ ।

मालिका स्वास्थ्य चौकीका प्रमुख बिलासचन्द्र पौडेलका अनुसार यहाँ महिलाको पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरबारे परीक्षण, परिवार नियोजनको अस्थायी साधन सेवालाई पनि व्यवस्थित बनाइएको छ । त्यस बाहेक दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनले सुरक्षित गर्भपतन सेवा समेत प्रभावकारी बनेको छ ।

‘हामीले धेरै व्यवस्थित बनाउन त अझै सकेका छैनौं, प्रयास भने गरेका छौं’ उनले भने, ‘नगरपालिका र प्रदेश स्वास्थ्य कार्यालयको नजरमा पर्ने प्रयास भैरहेको छ ।’ उनका अनुसार गत वर्ष ८० जनाले परिवार नियोजनको लामो समयसम्म उपयोग गरिने अस्थायी साधनको प्रयोग गरेका छन् । यो ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थाको लागि नमूनायोग्य काम हो ।

स्वास्थ्य चौकीमा रहेका दक्ष स्वास्थ्यकर्मी राधाकुमारी शर्मा र राधाकुमारी रानाको प्रयासले यो सफलता मिलेको उनले बताए । चालु वर्ष पनि ८ जनाको सुरक्षित गर्भपतन भएको उनले बताए । निजी क्लिनिकमा गएर असुरक्षित गर्भपपतन गर्ने प्रवृत्ति रोक्न मालिका स्वास्थ्यचौकी सफल भएको हो ।

त्यस बाहेक यो स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र सम्बोधन परियोजनाको पनि साथ रहेको छ । गतवर्ष मालिका स्वास्थ्य चौकीको भवन नै मर्मत गरिदिएको परियोजनाले चालु वर्ष पेडीलाईट लगायतको सामाग्री हस्तान्तरण गरेको छ । विशेषगरी घाउचोटको उपचार, पाठेघरको क्यान्सर र अन्य सेवा प्रवाह तथा परिवार नियोजनको सेवामा नमूना बन्ने लक्ष्यमा नगरपालिका, प्रदेश स्वास्थ्य कार्यालय र परियोजनाले साथ दिएको उनले बताए ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई समेत सेवा प्रवाहबारे तालिम दिएपछि समितिका पदाधिकारीले पनि चासो राख्न थालेका छन् । वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माले वडाभित्र शिक्षा र स्वास्थ्य राम्रो भएमा अन्य सेवामा नागरिकको थोरै मात्र गुनासो आउने गरेको बताए ।

स्वास्थ्य चौकीमा पोषण लेखाजोखा गरिएको र गर्भवतीलाई प्याजेजमा पोषण सामाग्री वितरणको प्रणाली व्यवस्थित बनाइएको काम पनि नमूनायोग्य भएको उनले बताए । साथै यो अभियानमा उत्कृष्ट काम गरेकोले वडा तथा व्यवस्थापन समितिमार्फत गत महिना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो ।

तल्लो तहमा बसेर स्वयंसेविकाले नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिएको र माथिल्लो तहसम्म सेवा प्रवाह पुगेको समितिको ठहर छ । चालु वर्षभित्र जिल्लाका अधिकांस स्वास्थ्य संस्थाको न्युनतम सेवा प्रवाहलाई गुणस्तरीय र अधिकतम अंकमा ल्याउने प्रयास भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । यसअघि नारायणस्थान स्वास्थ्य चौकीले जिल्लामै उत्कृष्ट बनेर शतप्रतिशत सूचक पुरा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->