पर्वत/पर्वतको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुश्मा नगरपालिकाले जितेको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको प्रतियोगितामा कुश्माले ३० स्वर्ण, १४ रजत र १४ कांस्य पदक प्राप्त गर्दै विजेता बनेको हो । जिल्लाका सात वटै स्थानीय तहहरूबिच भएको प्रतियोगितामा ७ स्वर्ण, १८ रजत र १७ कांस्य प्राप्त गर्दै मोदी गाउँपालिका दोस्रो, ७ स्वर्ण, ५ रजत र ७ कांस्य प्राप्त गर्दै पैयुँ तेस्रो तथा ४ स्वर्ण ६ रजत र १५ कांस्य प्राप्त गर्दै फलेवास नगरपालिका चौथो स्थानमा आएको छन् ।
यस्तै महाशिला गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कांस्य, विहादी गाउँपालिकाले २ स्वर्ण, ६ रजत र ४ कांस्य तथा जलजला गाउँपालिकाले ३ कांस्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेता बनेको कुश्मा नगरपालिकाले पुरस्कार स्वरूप नगद १५ हजार रुपैयाँसहित शिल्ड र ट्रफी पाएको छ । विगतमा पनि अघिल्लो संस्करणमा पनि कुश्माले नै जितेर शिल्ड आफूसँगै राखेको थियो । यस्तै दोस्रो बनेको मोदी गाउँपालिकाले १० हजार रुपैयाँ र तेस्रो बनेको पैयुँ गाउँपालिकाले ५ हजार रुपैयाँ पाएका छन् ।
खेल अवधिमा भएका मूल्याङ्कन अनुसार पैयुँ गाउँपालिकाले उत्कृष्ट अनुशासित, बिहादी गाउँपालिकाले टिम व्यवस्थापक, महाशिला गाउँपालिका सरसफाइ अभियन्ता तथा जलजला गाउँपालिकाले उत्कृष्ट मार्च प्रदर्शकको रूपमा सम्मान पाएका छन् ।
प्रतियोगितामा स्थानीय तहहरूले सक्रियताका साथ सहभागी गराउँदा विद्यार्थीहरूमा खेल सीप र अनुशासनको विकास हुने जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन (बुद्ध)ले बताए । विद्यार्थीहरूले अन्तर विद्यालय स्तरमा स्थानीय तहमा खेलेपछि त्यहाँबाट छनोट भएका विद्यार्थीहरू स्थानीय तह स्तरमा प्रतिस्पर्धा गरेको उनको भनाई छ । यसो गर्दा विद्यालयमा रहेर खेलको प्रतिभा बोकेका विद्यार्थीहरू स्थानीय तह हुँदै जिल्लामा र जिल्लाबाट प्रदेशमा जाने पुनले बताए ।
सामान्य अवस्थामा रहेका विद्यार्थीहरूले खेल्ने मौका पाउँदा उनीहरूको क्षमता पहिचान हुँदै एकाएक प्रदेश र राष्ट्रिय स्तरको खेलाडीको रूपमा स्थापित हुने मौका पाउनको लागि पनि रनिङ शिल्ड प्रतियोगिता महत्त्वपूर्ण बनेको अध्यक्ष पुनले बताए ।





