शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यु १९ साफका लागि पोखरा रंगशाला फुटबल मैदान स्तरोन्नती

यु १९ साफका लागि पोखरा रंगशाला फुटबल मैदान स्तरोन्नती

पोखरा रंगशालास्थित फुटबल स्टेडियमको मैदान गुणस्तरहिन भएको थियो । साफ प्रतिनिधिले उक्त मैदानमा प्रतियोगिता गराउन नसक्ने बताएपछि मैदान स्तरोन्नती गर्न लागिएको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८२, आइतबार

पोखरा/दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने ‘साफ यू १९ महिला फुटबल च्याम्पियनसिप’ को तयारीमा पोखरा लागेको छ । पोखरामा साफ हुने भएपछि मैदान स्तरोन्नतीको काम सुरु भएको छ । पोखरा रंगशालास्थित फुटबल स्टेडियमको मैदान गुणस्तरहिन भएको थियो । साफ प्रतिनिधिले उक्त मैदानमा प्रतियोगिता गराउन नसक्ने बताएपछि मैदान स्तरोन्नती गर्न लागिएको हो ।

साफको व्यवस्थापनको जिम्मेवारी पाएको गण्डकी प्रदेश फुटबल संघ शुक्रबारदेखी मैदानमा काम सुरु गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी माघ १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । जसका लागि मैदानमा दुवो उमार्नका लागि काम सुरु भएको हो ।

गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार मैदान स्तरोन्नतीमा करिब पाँच लाख रुपैयाँ सम्म खर्च लाग्ने अनुमान गरिएको छ । ‘अहिले पागो माटो हाल्ने काम भएको छ । यहाँ जुन सुकै माटो वा वालुवा हालेर पनि नहुने । दुवो उम्र्रने किसिमको माटो हाल्नुपर्छ’ उनले भने, ‘पहिलो चरणमा मैदानभर माटो हाल्छौं त्यसपछि मल छर्कनेछौं ।’

मैदान बाहेक खेलाडी चेन्जिङ रुम व्यवस्थापन र प्लेयर बक्स निर्माण गर्नुपर्ने छ । पोखरा फुटबल स्टेडियममा निर्माण गरिएको ड्रेसिङ रुम प्राविधिक रुपमा गलत भएकोले एन्फाले सो सुधार गरी अन्तर्राष्ट्रियस्तर मापदण्डको ड्रेसिङ रुम, फर्निचर व्यवस्थापन, शौचालय, बाथरुम, ग्राउण्ड प्लेयर बक्स निर्माणका लागि सहजीकरण गर्न गण्डकी प्रदेश फुटबल संघलाई पत्र पठाएको समेत महासचिव गुरुङले जानकारी दिए ।

एन्फाले पत्र पठाएसँगै आफूहरुले सो निर्माण कार्य अघि बढाउन गण्डकी प्रदेश सरकारलगायत सरोकारवालाहरुलाई आग्रह गरि काम थलानी गरेको बताए । ‘साफ यू१९ का लागि हामीले काम सुरु गरिसकेका छौं कास्की जिल्ला फुटबल संघ यसको मुख्य भूमिकामा छ । हामी सबै सहकार्य गरेर अघि बढेका छौं गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता पाएका छौं’ उनले भने ।

च्याम्पियनसिपका लागि चारवटा ड्रेसिङ रुम आवश्यक पर्ने महासचिव गुरूङको भनाइ छ । पोखरामा नयाँ संरचना बनेपश्चात कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन । ७ वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत महिला फुटबल निर्माणाधिन मैदानमै भएको थियो । त्यसपश्चात हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको पोखरामा ठूलो प्रतियोगिता भनेकै आहा रारा गोल्डकप मात्रै हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->