पोखरा/गण्डकी प्रदेश भलिबल संघको निर्णयप्रति असन्तुष्टि हुँदै पूर्वकप्तान हरि पाण्डेसहितको खेलाडी तथा भलिबलकर्मीहरुले पोखरामा विरोध गरेका छन् । नेपाल भलिबल संघले आयोजना गरेको नवौं एनभीए कप भलिबल च्याम्पियनसीपमा सहभागिता नजाएपछि असन्तुष्टि जनाउँदै पाण्डेको नेतृत्वमा आइतबार प्रदेश खेलकुद परिषद् गण्डकी, गण्डकी प्रदेश भलिबल संघको कार्यालयसहित पोखरा रंगशालामा धर्ना दिएका हुन् ।
गण्डकी प्रदेश भलिबल संघभित्र आर्थिक पारदर्शीता नभएको र प्रतियोगितामा सहभागिता नहुनुमा आर्थिक व्यवस्थापन नभएको भन्दै पत्राचार गरेपछि संघभित्रको आर्थिक पारदर्शीताको कुरा उठेको हो ।
आइतबार विभिन्न मागसहित भएको विरोधपत्रमा भनिएको छ, ‘एनभीए च्याम्पियनसीपमा सहभागि किन भएन ? केन्द्रिय समितिले आयोजना गर्ने प्रतियोगिताबारे गण्डकीको धारणा स्पष्ट गर ।’ पूर्वकप्तान हरि पाण्डेले प्रदेशको आर्थिक हिसाब किताब समेत सार्वजानिक गर्न माग गरेका छन् । प्रदेशका खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्ने मागसहित अब संघले उमेर समूहको प्रतियोगिता आयोजना गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ । यस्तै भलिबल संघले सहयोगिदाताहरुको व्यवस्थापन र उचित सम्मान गर्नुपर्ने उनीहरुको माग छ । भलिबल संघमा अनुभवि गण्डकीका स्थान नदिएको गुनासो गरेका छन् ।
गण्डकी प्रदेशमा टीके प्रथा कायम रहेको र यसको अन्त्य आवश्यक रहेको उनीहरुको भनाइ छ । पुस ९ गते गण्डकीले कारवाही हुने डरले केन्द्रलाई आर्थिक अभाव भएका र टाइगरकपको तयारीका लागि एनभीएमा सहभागिता जनाएको भनेपछि गण्डकीका भलिबल प्रतिनिधि, खेलाडी तथा समर्थक झन चिढिएका थिए । गण्डकीलाई यो उचाइमा पु¥याउन संघको लगानी नभइ भलिबलप्रेमी गण्डकीका समर्थकहरुको आर्थिक सहयोग नै भएको र सहभागिता जनाएको भए गण्डकीले पर्याप्त आर्थिक सहयोग प्राप्त गर्न सक्ने खेल प्रतिनिधिहरुको भनाइ छ ।
गण्डकी प्रदेशका खेलाडीहरु लामो समयदेखि राष्ट्रिय टिममा पर्न सकिरहेका छैनन् ।देशभित्र हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकीले नेपालका उत्कृष्ट क्लबहरुलाई मात दिदैँ आइरहेपनि लयमा रहेका खेलाडीलेसमेत राष्ट्रिय टिममा नपर्नुले ठुलै विवाद सिर्जना गराएको थियो । सोही विवादका कारण गण्डकी प्रदेशको टोलीले भलिबल संघले आयोजना गर्ने र स्विकृत दिएको कुनैपनि प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो ।
गण्डकी भलिबल संघका एक प्रतिनिधिका अनुसार अहिले भएको विरोधमा समेटिएको आर्थिक पारदर्शिताको कुरा जायज रहेको छ । नाम नबताउने सर्तमा ति प्रतिनिधिले संघभित्र अरापदर्शी रहेको छ । ‘संघ वैधानिक भन्दापनि अवैधानिक तरिकाले चलिरहेको छ । अहिलेसम्म विभिन्न सहयोगि दाताको भरमा खेलेको संघको आय व्ययमा स्पष्टता नै छैन,’ ती प्रतिनिधिले भने, ‘पदाधिकारीले नै रकम चलाएका छन् । त्यसको खोजी कस्ले गर्ने हो थाहा छैन् ।’
पूर्वकप्तान हरि पाण्डे भने यी विषयहरुमा अहिले नै कुनै प्रतिक्रिया नदिने र आफूहरुको माग एक हप्ताभित्र सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने बताए । एनभीएको सहभागितामा भने प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश भलिबल संघबिच अन्तरद्धन्द्ध देखिएको छ । भलिबल संघलाई लेखिएको पत्रानुसार प्रदेश खेलकुद परिषद् गण्डकीले आर्थिक व्यवस्थापन नगरेका कारण सहभागिता जनाउन नसकिएको उल्लेख छ । उक्त पत्रमा संघका कार्यवाहक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहलसिंह थापाको हस्ताक्षर रहेको छ ।
यसअघि नै परिषद्का सदस्य सचिव श्रीधर शर्माले टिम तयारीको बारेमा समन्वय भएको र संघले टिम लैजाने बाचा गरेपनि पछिल्लो समय आएको विवादबारेमा आफुलाई जानकारी नआएको सुनाए । हाल भलिबलको केन्द्रीय संघलाई पत्राचार भएको विषयमा परिषद्लाई बोधार्थ आएको सुनाउँदै अबको एक–दुई हप्तामै छलफलमा डाक्ने उनले सुनाए । ‘उहाँले उठाएका केही कुराहरु छन् । हाम्रो परिषद्को मापदण्ड पनि छ । उहाँहरुले अब प्रतिवेदन बुझाउनुपर्छ । कार्यसमितिको बैठक पनि बसेको छैन भन्ने कुरा आएका छन् हाम्रो ध्यानाकर्षण भएको छ यो हप्ता हामी उहाँहरुलाई बोलाएर छलफल गर्छौँ,’ उनले भने, ‘हामी छलफलमा असन्तुष्टि पक्ष र कार्यसमितिलाई छलफलमा बोलाउँछौं । यो हप्तामा छलफल गराएर सबै कुरा बुझेरमात्रै अघि बढ्छौ ।’ खेलाडीले खेल्न पाउने अधिकारबाट पछि हट्न नहुने उनले बताए ।





