पर्वत/भनिन्छ ‘गुरु भनेका दीप हुन्, जसले आफैँ जलेर अरूलाई उज्यालो दिन्छन्।’ गुरु ज्ञान, संस्कार र जीवनको मार्गदर्शन दिने सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । अभिभावकले जीवन दिन्छन् भने गुरुले जीवन जिउने सही बाटो देखाउँछन् । त्यसैले त ‘गुरु’लाई समाजको मेरुदण्ड मानिन्छ ।
तर आजभोलि गुरु, जन्म दिने बुबा आमा र आफू रहने समाजप्रतिको बफादारता कम हुँदै गएका चर्चा चल्छन् । ‘गुरु’लाई ‘गुरु’को स्थानमा नराखेर कमजोरीमा प्रहार गर्ने प्रवृत्तिले अध्ययन र पठन संस्कृतिमा समेत ह्रास आउँदै गएको छ । तर यही परिवेशमा प्रवासमा रहेका एक जना पर्वते अभियन्ताले ‘गुरु’कै सम्झनामा विद्यालयमा अक्षयकोषहरू स्थापना गरेका छन् ।
जिल्लाको मोदी गाउँपालिकास्थित राम्जाको गोतामे थरमा जन्म भई हाल अमेरिकामा रहेका डा. खेमराज गौतमको पहलमा मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको १÷१ विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । आफ्ना ‘गुरु’ स्व.लक्ष्मीप्रसाद पौडेलको स्मृतिमा राम्जाको पशुपति माध्यमिक विद्यालयमा ३ लाख ५० हजार रुपैयाँ र कुश्माको बितलबमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा पनि सोही राशि गरी दुई विद्यालयमा ७ लाख रुपैयाँका दुई ओटा अक्षयकोष स्थापना गरिएका हुन् ।
पशुपति मा.वि.मा अध्ययन गरेका डा. गौतमले स्व. शिक्षक पौडेलको योगदानलाई स्मरणमा राखिराख्नको लागि अक्षयकोष स्थापना गर्ने अभियान चलाएका थिए । सोही क्रममा ३० जना सहयोगदाताहरूबाट ७ लाख रुपैयाँ जुटेपछि आफू नै विद्यालयमा उपस्थित भएर डा. गौतमले अक्षयकोष स्थापना गरेका हुन् ।
यी दुवै अक्षयकोष स्व. गुरु लक्ष्मी प्रसाद पौडेलको स्मृतिमा उहाँकै नाममा स्थापना गरिएको हो । स्वर्गीय पौडेलले पूर्णेश्वर मा.वि.मा शिक्षण गर्नुका साथै विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । विद्यालयमा आयोजित विशेष कार्यक्रममा डा. गौतमले अक्षयकोषको रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्मालाई हस्तान्तरण गरे । उक्त अवसरमा उनले अक्षयकोषबाट प्राप्त ब्याज रकम कक्षा ९, १०, ११ र १२ मा नेपाली विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रयोग गर्न सुझाव दिए ।
प्रवासमा रहेका एक विद्यार्थीले आफ्ना गुरुको स्मरणमा शिक्षाको विकासमा योगदान पु¥याउनु उदाहरणीय काम भएको बताए । अक्षयकोषबाट प्राप्त हुने रकमबाट दिइने प्रोत्साहनले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढ्ने बताउँदै उनले गुरुको स्मृति जस्तै पवित्र काम वा विशेष अवसरहरूमा यस्तै खालका कामहरू हुनुपर्ने सुझाए ।
स्वर्गीय गुरुको स्मृतिमा स्थापना गरिएको उक्त अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।





