बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कृस्तीको सुन्तला कसले जोगाउने ?

कृस्तीको सुन्तला कसले जोगाउने ?

कृस्तीको सुन्तला संकटलाई अब सामान्य समस्या ठान्न मिल्दैन । राज्यले गरेको प्रयास स्वीकार्य छ, तर त्यो बोट बाँच्ने तहसम्म पुगेन भने किसानको भरोसा फर्किँदैन । अब चाहिएको छ—स्थानीय माटो, पानी र हावापानी सुहाउँदो समाधान ।


  • Dhorpatan News
  • पुष १६ २०८२, बुधबार

कहिल्यै नथाक्ने जस्तो लाग्ने कृस्तीको सुन्तला आज आफैँ थकित देखिन थालेको छ । एक समय कास्कीकै पहिचान बनेको यो बाली पछिल्ला वर्षहरूमा रोगका कारण उत्पादन घट्ने समस्या र बोट मर्ने अवस्थाबाट गुज्रिरहेको छ । किसानको गुनासो एउटै छ—सुन्तला पहिले जस्तो रहेन ।

यो संकटमा राज्य चुप लागेको भने होइन । पोखरा महानगरपालिकाको तर्फबाट कृषि विज्ञ परिचालन गरियो, परीक्षण भए, नयाँ बिरुवा वितरण गरियो । किसानलाई प्रविधि सिकाउने प्रयास पनि गरियो । तर खेतबारीमा पुगेपछि परिणाम देखिएन । नयाँ रोपिएका बोटहरू समेत नजोगिन हो की भन्ने प्रश्न उठेको छ—समस्या बोटको हो कि नीति र व्यवस्थापनको ?

आज कृस्तीमा देखिएको समस्या केवल रोगको मात्र होइन सिचाइँको अभाव, चिस्यान घट्दै जानु, सम्भावित प्रदूषण र वातावरणीय परिवर्तनले सुन्तलालाई थप कमजोर बनाएको छ । बेसीका क्षेत्रबाट बगान मासिँदै माथिल्लो भेगतर्फ सर्दै जानु सामान्य संकेत पनि होइन । तर यसतर्फ गम्भीर दीर्घकालीन योजना देखिएको छैन ।

विडम्बना के छ भने, सडक पुगेको छ, बजार सुनिश्चित छ । दैनिक सयौँ क्यारेट सुन्तला काठमाडौं पुगिरहेका छन् । तर उत्पादन घट्दै गएको छ । विकासले सुविधा त दियो, तर बाली जोगाउन सकेन ।

कृस्तीको सुन्तला संकटलाई अब सामान्य समस्या ठान्न मिल्दैन । राज्यले गरेको प्रयास स्वीकार्य छ, तर त्यो बोट बाँच्ने तहसम्म पुगेन भने किसानको भरोसा फर्किँदैन । अब चाहिएको छ—स्थानीय माटो, पानी र हावापानी सुहाउँदो समाधान । नत्र कृस्तीको सुन्तला असाध्यै मिठो हुन्थ्यो भनेर जिब्रोमा मात्रै झुण्डिने अवस्था आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->