हामी प्रायः भन्छौँ – “बालबालिका भविष्यका कर्णधार हुन् ।” तर यदि त्यो भविष्य डर, अपमान र मानसिक पीडाले भरिएको छ भने समाजको दिशा कता जाँदैछ ? आज धेरै बालबालिका तथा किशोर–किशोरीहरू यस्तै मौन पीडाको सिकार भइरहेका छन्, जसको नाम हो – बुलिङ्ग (धम्की) ।
बुलिङ्ग के हो ?
बुलिङ्ग भन्नाले कुनै व्यक्ति वा समूहले अर्को कमजोर व्यक्ति—विशेषगरी बालबालिका तथा किशोर–किशोरीमाथि निरन्तर रूपमा शारीरिक हानि, मानसिक दबाब, डर, अपमान वा पीडा दिने व्यवहार गर्नु हो । यो एकपटकको रिस, झगडा वा ठट्टा होइन, बारम्बार दोहोरिने र उद्देश्यपूर्ण रूपमा गरिने व्यवहार हो । बुलिङ्ग प्रायः विद्यालय परिसरमा हुने गर्दछ । तर आजको डिजिटल युगमा यो समस्या विद्यालयको पर्खालभित्र मात्र सीमित छैन । इन्टरनेट, सामाजिक सञ्जाल र मोबाइलमार्फत हुने साइबर बुलिङ्ग पनि तीव्र रूपमा बढिरहेको छ ।
बुलिङ्गका स्वरूपहरू
बुलिङ्ग शारीरिक, मौखिक वा सांकेतिक रूपमा देखिन सक्छ ।
–शारीरिक बुलिङ्गः कुटपिट गर्नु, धकेल्नु, सामान खोस्नु वा नष्ट गर्नु ।
–मौखिक बुलिङ्गः गालीगलौज गर्नु, धम्की दिनु, नाम बिगारेर बोलाउनु ।
–सांकेतिक÷व्यवहारिक बुलिङ्गः अपमानजनक हाउभाउ देखाउनु, शत्रुवत व्यवहार गर्नु, बेवास्ता गर्नु, असहज महसुस गराउने व्यवहार गर्नु ।
–साइबर बुलिङ्गः सामाजिक सञ्जालमा अपमानजनक सन्देश, फोटो वा भिडियो सेयर गर्नु ।
यी सबै व्यवहारहरूले बालबालिकाको आत्मसम्मान र मानसिक सन्तुलनमा गहिरो चोट पु¥याउँछन् ।
अभिभावकबाट पनि बुलिङ्ग ? सोच्नैपर्ने यथार्थ
हामी प्रायः बुलिङ्गलाई विद्यालयका साथीहरू बीच सीमित गर्छौँ । तर धेरैजसो अवस्थामा अभिभावक स्वयंले पनि अनजानेमा बालबालिकामाथि बुलिङ्ग गरिरहेका हुन्छन् । बारम्बार गाली गर्नु, अरूसँग तुलना गर्नु, असफलतामा अपमान गर्नु, डर देखाएर नियन्त्रण गर्न खोज्नु यी सबै मनोवैज्ञानिक बुलिङ्ग हुन् । घरमै सुरक्षित महसुस गर्न नसकेका बालबालिकाहरू डर, आत्महीनता र तनावमा बाँच्न बाध्य हुन्छन् ।
बुलिङ्गको मानसिक असर
बुलिङ्गको असर शरीरभन्दा बढी मनमा गहिरो घाउ बनाउँछ । यसले –
–आत्मविश्वास घटाउँछ
–डर र चिन्ता बढाउँछ
–पढाइप्रति रुचि घटाउँछ
–एक्लोपन र निराशा जन्माउँछ
–दीर्घकालमा डिप्रेसन र आत्महत्याको सोचसम्म लैजान सक्छ
यसैले बुलिङ्गलाई सानो समस्या ठान्नु गम्भीर भूल हुन सक्छ ।
बुलिङ्गको रोकथाम कसरी गर्ने ?
बुलिङ्ग रोकथामका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ ।
–हरेक बालबालिका तथा किशोर–किशोरीलाई बुलिङ्ग के हो र किन गलत हो भन्ने जानकारी दिनु आवश्यक छ ।
–शिक्षकहरूले विद्यालयमा सुरक्षित, सम्मानजनक र मैत्रीपूर्ण वातावरण सुनिश्चित गर्नुपर्छ ।
–अभिभावकले आफ्ना शब्द र व्यवहारले बालबालिकामा पर्ने प्रभावप्रति सजग हुनुपर्छ ।
अभिभावकले कसरी थाहा पाउने ?
यदि बालबालिकामा—
–विद्यालय जान नमान्ने
–अचानक चुप लाग्ने वा उदास हुने
–साथीसँग टाढा रहने
–शरीरमा चोटपटक देखिनु
–लुगा च्यातिनु वा सामान हराउनु
जस्ता लक्षण देखिएमा, त्यो बुलिङ्गको संकेत हुन सक्छ ।
बुलिङ्ग भएको थाहा भएपछि के गर्ने ?
–बालबालिकासँग खुलेर, धैर्यपूर्वक कुराकानी गरौँ ।
–“नाई÷हुन्न” भन्न सक्ने साहस विकास गराऔँ ।
–निर्भीक रूपमा विद्यालय वा सम्बन्धित निकायमा जानकारी गराऔँ ।
–आवश्यक परेमा मनोपरामर्शकर्ताको सहयोग लिऔँ ।
–निःशुल्क बाल हेल्पलाइन १०९८ मा फोन गर्न सकिन्छ ।
निष्कर्ष
बुलिङ्ग कुनै सामान्य व्यवहार होइन, यो बालबालिकाको मानसिक र भावनात्मक विकास माथिको आक्रमण हो । बुलिङ्गमुक्त समाज बनाउन आजैबाट सचेत हुन जरुरी छ । सुनौँ, बुझौँ र साथ दिऔँ । बाल्यकाललाई डर होइन, मुस्कान र आफ्नोपन दिऔँ ।





