पोखरा/पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डमा मनोनित हिमाल सुनारीलाई जिताउनका लागि भलिबल संघले आर्थिक सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पोखरामा आयोजना हुन लागेको २२ औं संस्करणको पल्सर स्पोट्र्स अवार्डको पिपल्स च्वाइसतर्फ रहेका गण्डकी प्रदेश भलिबल टिमका मुख्य खेलाडी हिमाल सुनारीलाई जिताउन नेपाल भलिबल संघले ३५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
आगामी २३ गते पोखरा सभागृह हलमा हुने गण्डकीका हिमालसहित ५ विभिन्न खेलका खेलाडीहरु मनोनयनमा छन् । पिपल्स च्वाइस मनोनयनमा हिमालसहित फुटबलकी रेखा पौडेल, क्रिकेटकी पुजा महतो, विजय सिन्जाली र टेबुल टेनिसकी इभाना थापा रहेका छन् ।
पल्सर स्पोट्र्स अवार्ड अन्तर्गत वर्ष परुष, महिला र युवातर्फ वर्षको उत्कृष्ट, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेका छन् । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले मोटरसाइकल पाउनेछन् भने अन्य विद्याका बिजेताले जनही नगद १ लाख प्राप्त गर्नेछन् । नेपाल खेलकुद पत्रकार मञ्चले अध्यक्ष निरन्जन अधिकारीलाई अवार्ड सफल पार्न संयोजक तोकेको छ भने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था सहसंयोजकको भूमिकामा रहेका छन् ।
यता खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाखमा दशौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड आयोजना गर्दैछ ।





