पोखरा/पोखरामा मंगलबार आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर गरिएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि पोखरा रंगशाला, पोखराको फेवाताल लगायतको क्षेत्रमा ट्रफी सार्वजनिक गरिएको हो । टी–ट्वान्टी विश्वकप ट्रफी टुरमा क्रिकेटप्रेमीका लागि ट्रफीसँग तस्बिर खिच्नु समेत खुला गरिएको थियो ।
पोखराको फेवातालमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा रंगशालामा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा सहभागि भएका थिए ।
उक्त ट्रफी अवलोकन गर्र्दै मुख्यमन्त्री पाण्डेले नेपालमा पछिल्लो समयमा क्रिकेटको क्रेज बढेको बताउदै यसमा संघिय सरकार र प्रदेश सरकारले पनि क्रिकेट खेलको विकासको लागि आवश्यक पूर्वाधार निर्माणमा बिषेश चासो दिएको बताए । उक्त ट्रफी नेपालमा र पोखरासम्म ल्याउदै प्रदर्शन गर्नु यसले क्रिकेट खेलको महत्व झनै बढाएको उनले बताए ।
आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुरका क्रममा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको थियो । ट्रफी टुरका क्रममा सर्वसाधारण, खेलप्रेमी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । विश्व क्रिकेटको प्रतिष्ठित ट्रफी पोखरामा ल्याइनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै खेलकुद मन्त्री विन्दुकुमार थापाले यसले गण्डकी प्रदेशमा क्रिकेटप्रति उत्साह थप्ने विश्वास व्यक्त गरे । प्रदेशको क्रिकेटको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।
भारत र श्रीलंकामा अर्को महिना सुरु हुने टि ट्वान्टी विश्व कपको प्रचारमा ट्रफी टुर सुरु भएको हो । नेपालमा यसअघि ओडिआई ट्रफी टुर भएको थियो ।
नेपालले यसपटक पनि टि ट्वान्टी विश्वकप खेल्दैछ । नेपालको समूहमा इंग्ल्याण्ड, बंगलादेश, वेस्ट इन्डिज र इटाली रहेका छन् । नेपालले यसअघि सबै खेल भारतको मुम्बईमा खेल्ने तय थियो । बंगलादेश क्रिकेट बोर्डले आफ्नो खेल श्रीलंकामा सार्न आइसिसीलाई अनुरोध गरेको छ । यद्यपि त्यो विषयमा आइसिसीले कुनै निर्णय सार्वजनिक गरेको छैन ।





