बागलुङको ताराखोलागाउँपालिका–३, हिलस्थित पंधेराखोला अस्तुरी कृषि समूहका किसानले ५ वर्षअघि थालेको किवी खेती र त्यसबाट उत्पादित जुस आज उत्पादनको हिसाबले सफलताको चरणमा पुगेको छ । तर यही सफलताले अहिले उनीहरूलाई नयाँ चिन्तामा पारेको छ, त्यो हो दिगो बजार व्यवस्थापन । खेतबारीमा लटरम्म फलेको किवी, हजारौँ लिटर जुस उत्पादन गर्ने क्षमता र लगानी गर्ने साहस हुँदाहुँदै पनि सुनिश्चित बजार नपाउनु ग्रामीण कृषि उद्यमको साझा पीडा बनेको छ ।
किसानले किवीलाई कच्चा फलको रूपमा मात्रै होइन, प्रशोधित जुसका रूपमा पनि बजारमा ल्याएका छन् । गाउँपालिकाको सहयोग, तालिम, मेसिन र आंशिक लगानीले स्थानीय स्तरमै मूल्य अभिवृद्धि भएको छ । आठौँ बागलुङ महोत्सवमा सयौँ लिटर जुस बिक्री हुनु यस उत्पादनप्रति बजारको सम्भावनाको स्पष्ट संकेत हो । तर महोत्सव, मेला वा सीमित स्थानीय बजारमा हुने बिक्री दीर्घकालीन समाधान होइन । किसानको मुख्य प्रश्न आज पनि उही छ, प्रमुख बजार कहाँ हो र एकमुष्ट उत्पादन कसरी बेच्ने ?
समस्या उत्पादनको होइन, दिगो बजारीकरणको हो । लेबल, प्याकेजिङ, फ्रिजजस्ता भण्डारण पूर्वाधार, नियमित आपूर्ति शृंखला र बजारसँग प्रत्यक्ष जोड्ने संयन्त्रको अभावले किसानलाई निराश बनाएको छ । समूहमा आबद्ध किसानले दशौँ लाख रुपैयाँ लगानी गरिसक्दा पनि उत्पादन गोदाममै थन्किने अवस्था आउनु चिन्ताजनक हो । यसले ‘उत्पादन गर, बजार आफैँ आउँछ’ भन्ने सोंच ग्रामीण अर्थतन्त्रमा कति कमजोर छ भन्ने देखाउँछ ।
अब आवश्यक छ की स्थानीय सरकार, उद्योग वाणिज्य संघ र कृषिका निकायबीच स्पष्ट भूमिका बाँडफाँट । पालिकाले उत्पादनको तथ्यांक संकलन गरेर बजार रणनीति बनाउने, सहकारी वा निजी क्षेत्रसँग सम्झौता गरेर संकलन तथा बिक्री केन्द्र स्थापना गर्ने र ब्रान्डिङमा लगानी बढाउने काम तुरुन्त गर्नुपर्छ । ‘मेड इन बागलुङ’ जस्ता पहिचानलाई निरन्तर बजारसम्म पु¥याउन सकेमा यसले किसानको आम्दानी मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनेछ ।
ताराखोलाका किसानसँग जमिन छ, सीप छ, इच्छाशक्ति छ । अब कमी छ भने भरपर्दो बजारको । यदि राज्यका निकायले यो दूरी समयमै नघटाए, आज सम्भावनाको खेती भोलि निराशाको उदाहरण बन्न सक्छ । ग्रामीण उत्पादनलाई सम्मानजनक बजार दिनु नै आत्मनिर्भर अर्थतन्त्रतर्फको पहिलो पाइला हो ।




