विद्युत उत्पादनको दृष्टिले पछिल्ला केही वर्षहरु अत्यन्तै उत्साहप्रद रहेका छन् । अहिले नेपालमा २६ सय मेघावाटको हाराहारी विद्युत उत्पादन भइरहेको छ । तर, उर्जा मन्त्रालयले हिउँदमा विद्युत उत्पादन कम भएकाले व्यवस्थापन मिलाउन चुनौतीपूर्ण रहेको बताएको छ । त्यो चुनौती थेग्नका निम्ति भारतबाट आयात गर्नुपर्ने बताउँदै आएको छ । यो तत्कालको समस्या हो । आउँदा केही वर्षमा १२ वर्षमा २८ हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने प्रक्षेपण गरेका छन् । नेपालमा कति क्षमतामा विद्युत उत्पादन सम्भव छ भन्ने वास्तविक तथ्याङ्क छैन तर भएका नदीहरुबाट प्रचुरमात्रामा विद्युत उत्पादनको सम्भावना भएकोमा द्धिविधा चाहिँ छैन । भारत,चीन र बंगलादेशसम्म पनि विद्युत निर्यात गरी आर्थिक समृद्धि गर्ने यो यात्रा जति प्रितिकर छ, त्यति नै आन्तरिक उपभोग बढाउनुपर्ने आवश्यकता पनि टड्कारो भएको छ । किनकि, आन्तरिक विद्युत खपत बढाउनु भनेको औद्योगिकीकरण बढ्नु हो,समृद्धि आउनु हो । नेपालमा हाल विद्युत खपतको अवस्था प्रतिव्यक्ति ३ युनिटको हाराहारीमा रहेको छ भने भारतमा यही दर १२ सय युनिटको हाराहारीमा रहेको छ र अझ बढ्दो क्रममा छ ।
त्यहाँ २०२० मा नै प्रतिव्यक्ति बिजुली खपत ८९ सय युनिट रहेको थियो । विद्युत खपत बढाउनु भनेको खर्च बढ्नु हैन । उत्पादकत्व बढ्नु हो भन्ने मनन गरिनुपर्छ । देशका सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पुग्न नसकेको तथा उज्यालोको लागिबाहेक विद्युत प्रयोग नभएको नेपालमा विद्युत खपत बढाउनेबारे रणनीति तय गर्नुपर्ने टड्कारो आवश्यकतालाई गम्भीरतापूर्वक लिइएको छैन । यसअघि गण्डकी प्रदेश सरकारले विद्युत खपत बढाउन विद्युतीय सामग्री प्रयोगमा जोड दिने योजना ल्याए पनि कार्यान्वयन प्रभावकारी हुन सकेन । खाना पकाउने एलपीजी ग्यासको प्रयोग घटाउनकै लागि विद्युतीय चुल्हो वितरणको योजना आए पनि अहिलेसम्म त्यसबाट लक्षित परिणाम हासिल भएको छैन र पछिल्लो समय त यो योजना नै थाँति रहेको छ ।
नेपालमा विद्युतीय चुल्होले व्यापकता पाउन सकेको छैन । एकातिर विद्युतीय चुल्हो सर्वसाधारणको पहुँच बाहिर छ भने अर्कोतिर यसको प्रयोग कसरी गर्ने भन्नेबारे पनि नागरिकहरु अनभिज्ञ छन्। विद्युतीय सामानहरु चलाउँदा अपनाउनुपर्ने सचेतता,यसले दिने फाइदा र त्यसको लागि आवश्यक पर्ने पूर्वाधारको अभावले पनि सोचेजस्तो विद्युतीय चुल्होले व्यापकता पाउन सकेको छैन । अहिले नेपालका गाम्रीण र सहरी दुबै क्षेत्रमा भएका विद्युत आपूर्तिका संयन्त्रहरु त्यस्ता चुल्हा चलाउनको लागि बनेका हैनन् । घरमा आपूर्ति गरिएको विद्युतले कतिपय अवस्थामा सबै विद्युतीय उपकरण चलाउन पनि सकिँदैन । यसको लागि हरेक घरसम्म गुणस्तरीय विद्युत पुग्नु जरुरी छ भने घरको वायरिङ पनि राम्रो हुनुपर्छ । सबैभन्दा ठूलो कुरा त विद्युत आपूर्ति नियमित हुने सुनिश्चितता हुनुपर्छ । अझै पनि नेपालका सबै ठाउँमा नियमित विद्युत आपूर्ति हुन्छ भन्नेमा ढुक्क हुनसक्ने अवस्था छैन । विद्युत आपूर्ति बन्द भएपछि राइसकुकरमा बसालेको खाना प्रेसरकुकरमा सार्न अभिषप्त नागरिकहरु विश्वस्त नभएसम्म विद्युत खपत बढ्न सक्दैन । विद्युत खपत बढाउनको लागि सचेतना बढाउने अभियानसँगै गर्नुपर्ने पहिलो काम भनेको यही हो ।
गण्डकी प्रदेशले निश्चय पनि बढी विद्युत उत्पादन गर्छ । एलपीजी ग्यासको आयात घटाउन र नागरिकलाई धुँवाबाट बचाउन विद्युत उपभोग बढाउनैपर्छ । यसले एकातिर आयात प्रतिस्थापन गर्छ भने अर्कोतिर नागरिकलाई स्वस्थ राख्न मद्दत गर्छ ।




