बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माघे संक्रान्ती : पर्व एक, रुप अनेक

माघे संक्रान्ती : पर्व एक, रुप अनेक

परम्परागत मूल्यहरू औपचारिक कर्मकाण्डमा सीमित हुँदै गएका छन् भने यसको सामाजिक चेतना र सामूहिकताको भाव कमजोर बन्दै गएको अनुभूति हुन्छ । माघे संक्रान्तीलाई केवल अतीतको स्मृति बनाएर होइन, वर्तमान र भविष्यसँग जोडेर पुनःअथ्र्याउन आवश्यक छ ।


  • Dhorpatan News
  • माघ १ २०८२, बिहिबार

नेपालको सांस्कृतिक क्यालेन्डरमा माघे संक्रान्ती केवल एउटा पर्व मात्र होइन, यो ऋतु परिवर्तन, जीवनशैली रूपान्तरण र सामाजिक सम्बन्ध पुनःसंयोजनको प्रतीकका रुपमा पनि रहेको छ । हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले सूर्यको उत्तरायण आगमनसँगै कडा जाडो क्रमशः कम हुँदै जाने र प्रकृतिमा नयाँ ऊर्जा प्रवेश गर्ने विश्वासलाई प्रतिनिधित्व गर्छ ।

माघे संक्रान्तीको धार्मिक महत्व वैदिक कालदेखि जोडिएको छ । सूर्यलाई ऊर्जा र जीवनको स्रोत मान्ने हिन्दू दर्शनअनुसार यस दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । त्यसैले यसलाई ‘मकर संक्रान्ती’ पनि भनिन्छ । शास्त्रअनुसार यस दिनबाट सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ प्रवेश गर्ने भएकाले तुलनात्मक रूपमा दिन लामो हुने, रात छोटो हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्छ । त्यसैले यस पर्वको छुट्टै खगोलीय महत्व पनि छ ।

नदी, कुण्ड तथा त्रिवेणीमा स्नान गरी दान–पुण्य गर्ने परम्पराले आत्मशुद्धि र सामाजिक उत्तरदायित्वको सन्देश यसले दिन्छ । विशेषगरी कालीगण्डकी, देवघाट, रिडी, काठमाडौं उपत्यकाको चोभारजस्ता तीर्थस्थलमा लाग्ने मेलाले धार्मिक आस्थासँगै पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ ।

सांस्कृतिक दृष्टिले माघे संक्रान्ती नेपाली समाजको जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ । तरुल, सखरखण्ड, घिउ, चाकु, तिलको लड्डु जस्ता परिकार सेवन गर्नु केवल परम्परा होइन, स्वास्थ्य विज्ञानसँग पनि सम्बन्धित छ । जाडोमा शरीरलाई आवश्यक ऊर्जा र ताप प्रदान गर्ने यी खाद्य वस्तुहरू परम्परागत ज्ञानको उदाहरण हुन् ।

सनातन धर्मावलम्बीले मकर संक्रान्ति, थारू समुदायले माघी, नेवार समुदायले ‘घ्यःचाकु संल्हु’, मगर समुदायले चेलीबेटी र पितृपूजा तथा तराई क्षेत्रमा खिचडी पर्वका रूपमा मनाइने यो पर्वले विविधता र एकता प्रतिविम्बित गर्छ । पर्व एउटै भए पनि यसका अनेक नाम र मनाउने तरिकामा भिन्नता हुनाले माघे संक्रान्तिलाई विविधतायुक्त पर्वका रूपमा लिइन्छ ।नेपालको समस्त भूभाग हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, लिम्बू, मगर, गुरुङ, नेवार आदि सबै जनजातिले माघे संक्रान्तिलाई आ–आफ्नो परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मान्ने गरेको पाइन्छ । यस दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ ।

तर, बदलिँदो सामाजिक संरचना र शहरीकरणसँगै माघे संक्रान्तीको अर्थ पनि चुनौतीमा परेको छ । परम्परागत मूल्यहरू औपचारिक कर्मकाण्डमा सीमित हुँदै गएका छन् भने यसको सामाजिक चेतना र सामूहिकताको भाव कमजोर बन्दै गएको अनुभूति हुन्छ । माघे संक्रान्तीलाई केवल अतीतको स्मृति बनाएर होइन, वर्तमान र भविष्यसँग जोडेर पुनःअथ्र्याउन आवश्यक छ । यस पर्वले दिन खोजेको सन्देश—प्रकृतिसँग सहअस्तित्व, स्वास्थ्यप्रति सजगता, सामाजिक सद्भाव र साझा संस्कृतिको सम्मान—आज झनै सान्दर्भिक छ । त्यसैले माघे संक्रान्तीलाई कर्मकाण्डभन्दा माथि उठाएर जीवनदर्शनका रूपमा आत्मसात गर्नु नै उपयोगी हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->