नवलपुर/एघारौँ राष्ट्रिय योग दिवसका अवसरमा नवलपुर जिल्लामा पनि जिल्लाव्यापी रूपमा योग तथा जीवनशैली सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
पतञ्जलि योग समिति नवलपुरको आयोजनामा नवलपुर जिल्लाको पूर्व गैंडाकोट हर्कपुर कृष्ण मन्दिर, कावासोतीको शहीद स्मृति योग केन्द्र, राम मन्दिर योग केन्द्र, कावासोती नगरपालिकाको सभा हल तथा अङ्कुर योग साधना केन्द्र डण्डामा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेको प्रमुख आतिथ्यता, पतञ्जलि योग समिति नवलपुरका जिल्ला अध्यक्ष डा. नरनाथ पाण्डेको अध्यक्षता, पतञ्जलि योग समिति गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्य र कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीको विशेष आतिथ्यता तथा पतञ्जली योग समिति नवलपुरका महासचिव प्रेम थापाको सञ्चालनमा एघारौँ राष्ट्रिय योग दिवस कार्यक्रम विशेष समारोहका बीच सम्पन्न भइ सप्ताहव्यापी कार्यक्रम समेत समापन भएको छ । सप्ताहव्यापी यो कार्यक्रमलाई मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोती नगरपालिका, अङ्कुर सामुदायिक वन, जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न मितिमा भएका कार्यक्रममा सहयोग गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले नियमित योग अभ्यास सम्बन्धी जनचेतना गाउँगाउँमा पु¥याउनुपर्ने बताएका थिए ।





