पोखरा/‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटबल खेलको विकास हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य उद्धेश्यका साथ आयोजना हुने २६औं आदर्श कप फुटबल प्रतियोगिता यही माघ ९ गते देखि १६ गते सम्म आदर्श खेल मैदान भण्डारढिकमा सञ्चालन हुने भएको छ ।
आदर्श क्लब पोखरा २९ को आयोजनामा सञ्चालन हुने सो प्रतियोगिताको तयारी पूरा भएको क्लबले शनिबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न क्लब र जिल्लासहित दुई प्रदेश विभागीय टोलीकोसमेत सहभागिता हुनेछ ।
प्रतियोगितामा कास्की ११, नेपाल प्रहरी गण्डकी, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराइजन क्लब स्याङजा, म्याग्दी जिल्ला खेलकुद विकास समिति,सशस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनी र आयोजक आदर्श युवा क्लबको सहभागिता हुनेछ ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद चार लाख ९९ हजार ९९९ रुपैयाँ र उपविजेता टिमले तीन लाख ३३ हजार ३३३ रुपैयाँको साथमा कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक आदर्श क्लबका अध्यक्ष पदम गुरूङले जानकारी दिएका छन् । त्यस्तै हरेक खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने विद्यागत उत्कृष्ट हुने खेलाडीहरुले जनही नगद १५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र हात पार्नेछन् ।
करिब ६१ लाख खर्च अनुमान गरिएको प्रतियोगितालाई सुद्धोधन ४ रुपेन्देहीस्थित फस्ट च्वाइस फुड्स लिमिटेड मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकालगायतले सहयोग गरेको सचिव सन्तोष गुरूङले जानकारी दिए ।
यसैबीच, पोखरा २९ स्थित आदर्श खेल मैदान स्त्तरोन्नतिका लागि यस आर्थिक वर्षमा संघिय सरकारको विनियोजित वजेट ३ करोड जेन्जी आन्दोलनका कारण अर्थ मन्त्रालयबाट रोक्का भएकोले कार्यान्वयन गर्न आफूले पहल सुरू गरेको सोही वडाका अध्यक्ष श्रीप्रसाद गुरूङले बताएका छन् ।





