पोखरा/माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ सहभागी भएका हुन् ।
साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए । हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिन्थे । यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।
सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए । ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ । अभिनेत्री सृष्टि श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट देखिइन् ।
निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ । समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कास्की चलचित्र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।





