शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भलिबलको महाकुम्भ ‘टाइगर कप’ आजदेखि

भलिबलको महाकुम्भ ‘टाइगर कप’ आजदेखि

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार

पोखरा/पोखरामा आजबाट भलिबलको महाकुम्भ ‘टाइगर कप’ सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुँदै आइरहेको प्रतियोगिताको छैटौं संस्करण आजदेखी पोखरामा सुरु हुन लागेको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको महिलातर्फ टिपटप न्यु डायमण्ड र त्रिभुवन आर्मी बिच पहिलो खेल हुँदैछ । यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब माल्दिभ्स बिच पहिलो खेल हुनेछ भने उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश र एपिएफ बिच हुनेछ ।

प्रतियोगिताको तयारी समेत पुरा भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा यस पटक पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमको सहभागिता हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा अन्तिम तयारी बारेमा जानकारी दिदैँ अध्यक्ष नारायणप्रसाद शर्माले तयार पुरा भएको र महिला तथा पुरुषतर्फ ७/७ टिमको सहभागिता भनिएपनि अन्तिम समयमा टिमको संख्या घटेको जानकारी दिए । पहिलो प्रेसमिट गर्दा महिलातर्फ ७ र पुरुषतर्फ ७ टिमको सहभागिता हुने भनिएपनि विभिन्न कठिनाइका कारण टिम संख्यामा परिवर्तन भएको सुनाए ।

‘हामीले महिला र पुरुष दुवैतर्फ ७/७ टिमको सहभागिता गराउने प्रयास गरेका हौं । भारत र थाइल्याण्डबाट आउने टिम विविध कारणले गर्दा आउन सकेनन् । एभरेष्ट भलिबल क्लबसंग समन्वय भएको थियो अन्तिम समयसम्म पनि हामी सहभागि हुन्छौ विदेशी ३ जना खेलाडी भनिकेको छु भन्नुभयो तर, अन्तिम समयमा आएर विदेशी खेलाडीको सहभागिता हुन नसक्ने भएको हो’ शर्माले भने, ‘६ महिना अघिदेखी हाम्रो प्रयास थियो हाम्रो कारणले असर गरेको होइन । हामीले महिलातर्फ समेत आयोजककै टिम तयारी गर्ने समेत योजना बनायौं तर, विदेशी खेलाडीको भिषाको समस्याका कारण टिम बनाउन सकिएन ।’

उता पुरुषतर्फ अघिल्लो संस्करणमा हेल्प नेपालले खेलमा असन्तुष्टि जनाउँदै अब सहभागिता नहुने भनेपछि यस पटक प्रतियोगितामा सहभागिता जनाएन । तर, हेल्प नेपालले भने एक महिनामै २ प्रतियोगिता खेल्न नसक्ने भन्दै जवाफ दिएको अध्यक्ष शर्माले जानकारी दिएपनि वास्तविकता भने गत संस्करणको विवाद नै रहेको देखिन्छ । तिनै खेलाडीलाई अहिले पर्वत जिल्ला भलिबल संघले ल्याएको छ ।

यस्तै रेफ्री डेलिगेट टहलसिंह थापाले खेलमा मानवीय त्रुटि हुने बताउँदै निष्पक्ष र विवादरहित बनाउने प्रयास गर्ने सुनाए । ‘यो मानवीय समस्या हो कहिले काँही त्रुटि हुन्छ । यसलाई सकरात्मक रुपमा लिनुपर्छ । हामीले यस पटक विदेशी रेफ्रीलाई समेत हामीले निमन्त्रणा गरेका थियौं तर, भारतमा राष्ट्रिय लिग चलेका कारण ल्याउन असमर्थ रह्यौ । तर श्रीलंकाबाट हामीले ल्याएका छौं । विगतका संस्करणभन्दा यो पटक अझ भव्य बनाउने हाम्रो प्रयास छ’ उनले भने ।

प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टिमको सहभागिता रहेको छ । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यु डायमण्ड क्लब र थाइल्याण्डको क्विन्स थाइल्याण्डको सहभागिता रहनेछ ।

प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले २ लाख ६ हजार ६ स ६६ रुपैयाँ प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->