बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रमिकको अधिकार माग्दै महिला स्वास्थ्य स्वयंसेविकाहरु

श्रमिकको अधिकार माग्दै महिला स्वास्थ्य स्वयंसेविकाहरु


  • राजु खड्का
  • माघ १७ २०८२, शनिबार

महिला स्वास्थ्य स्वयंसेविकाहरुले श्रमिक सेविकाको रुपमा आफुहरुलाई कानुनमा व्यवस्था गर्न माग गरेका छन । यसका लागि विगत र वर्तमानमा हुँदै गरेको महिला स्वास्थ्य स्वयंसेविकाको नाम नै परिवर्तन गर्न आग्रह गरे । बागलुङ नगरपालिकाले प्रदेश स्वास्थ्य कार्यालयसंगको सहयोगमा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको पहिलो नगर सम्मेलनमा सहभागि स्वास्थ्य स्वयंसेविकाहरुले उक्त माग जोडदार रुपमा उठाएका छन् । पछिल्लो समय बागलुङसहित देशका विभिन्न पालिकाहरुबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुले यस्ता आवाजहरु उठाएका छन् नै दक्षिण एसियाका देशबाट पनि उठेको विषय हो यो । श्रमिकको पहिचान दिन र श्रमिक सेविका नामाकरण गरिदिन आग्रह गर्दै सेवासंगै पारिश्रमिक र सुविधाको व्यवस्था गर्न उनीहरुले माग गरे । सामाजिक सुरक्षा, पेन्सन, सुत्केरी बिदा, बैठक भक्तामा वृद्धि, तालिम, भ्रमण आदि माग सामूहिक रुपमा नै उठाएका छन् ।

२०५० सालमा बैठक भत्ता ४० रुपैयाँ दिइन्थ्यो, त्यो अहिले ४ सय रुपैयाँमा अड्किएको छ । यो कार्यक्रमको प्रारम्भमा मासिक १ सय रुपैयाँ दिइन्थ्यो, पछि दातृ निकायको सहयोग बन्द भएपछि भत्तामा रुपान्तरण गरियो । अहिले वार्षिक रुपमा करिब २८ हजार सुविधा उनीहरुले पाउने गर्दछन् । यसमा संघीय सरकारको यातयात खर्च १२ हजार पोशाक १० हजार तथा प्रदेशबाट ६ हजार हुने गर्दछ । यसैगरी ६० वर्षपंछी अवकाशमा जाँदा २० हजार संघीय सरकारबाट पाउँछन् । यसमा पालिकाले १० हजार थप दिने गर्दछ । यसैगरी वडास्तरबाट पनि केही कार्यक्रमहरु वार्षिक रुपमा बन्ने गर्दछन् । स्वयंसेवक दिवस मनाउन प्रत्येक वडामा ५ हजार पालिकाले व्यवस्था गरेको छ । बागलुङ नगरपालिका धेरै वडाहरुमा कोष संचालनमा रहेका छन् । केही वडामा नभएको पाइएको छ ।

बागलुङ नगरपालिकाका १४ वटा वडाहरुमा १ सय ९७ जना स्वयंसेविका रहेका छन् । वडा नं. १ मा ४ जना, वडा नं. २ मा ४ जना, वडा नं. ३ मा १३ जना, वडा नं. ४ मा ९ जना, वडा नं. ५ मा १६ जना वडा नं. ६ मा १३ जना, वडा नं. ७ मा १८, वडा नं. ८ मा १८ जना रहेका छन् । यसैगरी वडा नं. ९ मा १८ जना, वडा नं. १० मा १९ जना, वडा नं. ११ मा ९ जना, वडा नं. १२ मा २१ जना, वडा नं. १३ मा २० जना र वडा. नं. १४ मा १६ जना छन् । उनीहरुको कार्यक्षमतामा एकरुपता, कार्य क्षेत्रमा देखिएका समस्या, चुनौती र अवसरसंगै भएका असल अभ्यासहरु तथा उनीहरुका भनाई र गुनासो सुन्नका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको नगरस्तरीय प्रथम सम्मेलन आयोजना गरिएको थियो ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको परिचालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारबाट हुने व्यवस्था गरेको छ । यो व्यवस्थालाई पूर्ण रुपमा आत्मासाथ गर्न अलि ढिलो गरे पनि समय र परिवेश अनुसार नयाँ विषयवस्तुहरुमा उनीहरुको क्षमता विकास र सुविधाका विषयमा स्थानीय सरकारले योजना बनाउनै पर्ने महशुस गरिएको छ । यसका लागि बागलुङ नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाको सेवा तथा सुविधा सम्बन्धी कार्यविधि तयार गरी लागू गरिने छ ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ पहिलो संशोधन २०७६ मा उल्लेख भएअनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गर्नुपर्ने कामहरुलाई प्रभावकारी र व्यवस्थापनमा एकरुपता ल्याउनुपर्ने गरी सीप तथा क्षमता विकासमा ध्यान दिन जरुरी देखेको छु । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई निर्धारित पाठ्यक्रम अनुसार आधारभूत तालिम र पुर्नतार्जगी तालिमको संचालन गर्नपर्ने देखिन्छ । सोही रणनीति अनुसारका कार्यक्रम कार्यान्वयन तथा महिला स्वयंसेविकाहरुको थप अधिकार पुनस्थापनाका लागि अनुसूचि ५ को स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति संरचना अनुसारको समिति गठन गरिएको छ । नगर उपप्रमुखको अध्यक्षतामा रहने समितिमा योजना शाखा प्रमुख, सामाजिक विकास समिति अध्यक्ष, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन सदस्य तथा स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने छन् । स्वयंसेविकाहरुबाट कमला शर्मा सदस्य तथा पार्वती ढकाल, निर्मला सापकोटा, कल्पना श्रेष्ठ आमन्त्रित सदस्य छनौट हुनुभएको छ ।

नेपालमा करिब ५० हजारभ बढीको संख्यामा महिला स्वास्थ्य स्वयंसेविकाहरु छन् । आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्धेश्यले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम शुरुवात भएको हो । नेपालमा स्वास्थ्य स्वयंसेविकाको करिब ३७ वर्षे यात्राले ऐतिहासिक उपलब्धी प्राप्त भएको छ । बाल तथा मातृ मृत्युदर, नवजात शिशु मृत्युदर घटाउन उनीहरुको उल्लेख्य भूमिका रहेको छ । जनताको आधारभूत स्वास्थ्य सेवाबारे जानकारी दिने तथा सरकारबाट सञ्चालन गरिने राष्ट्रिय कार्यक्रममा सहयोग तथा सन्देश संवाहकका रूपमा स्वयंसेवीहरूलाई परिचालन गराई आमा र बच्चाको स्वास्थ्यमा सुधार गर्नु नै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको प्रमुख उद्देश्य हो ।

सन् १९७८ मा अल्माआटा सम्मेलनले ल्याएको प्राथमिक स्वास्थ्य सेवाको अवधारणाले यसलाई अनिवार्य जस्तै बनायो । त्यसबेलाको नारा थियो हेल्थ फर अल बाई २००० । चीनको वेयरफुट डाक्टरको सफलताले यो अवधारणा धेरै मुलुकले अनुसरण गरे । सन् १९८० तिर केही अल्पविकसित देशहरुले स्वास्थ्यका लागि जनशक्तिका रुपमा अगाडी सारी तालिम चलाए । यो कार्यक्रममा महिला पुरुष दुवै संलग्न रहे पनि धेरै मुलुकमा महिलाहरु नै संलग्न रहेका छन् ।

विश्व स्वास्थ्य संगठन २००६ को एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ की अल्पविकसित देशका व्यवसायिक स्वास्थ्यकर्मीको अभाव हुँदा विकल्पमा स्वास्थ्य स्वयंसेविकाहरुले काम गरिरहेका छन् । हुन पनि यिनीहरुको संलग्नता गाउँघर तथा दुर्गम ठाउँमा उल्लेख्नीय छ । कोरोना महामहारीे रोकथाममा महिला स्वास्थ्यकर्मिहरुको योगदान महत्वपुर्ण रहेको थियो ।

वि. सं २०४५÷४६ बाट सुरु भएको यो कार्यक्रमअन्तर्गत उनीहरूले परिवार नियोजन, खोप, गर्भवती जाँच र आधारभूत प्राथमिक उपचारमा पहिलो सम्पर्क वन्दुका रूपमा कार्य गरिरहेका छन् । यसैगरी गर्भवती महिलाहरूलाई जाँचका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्ने, बालबालिकाहरूलाई खोप लगाउन र भिटामिन ए खुवाउन सहजीकरण गर्ने, परिवार नियोजनका साधन घरदैलोमै वितरण गर्ने, सामान्य बिरामीको उपचार झाडापखाला, निमोनियाको प्राथमिक उपचार गर्ने आदी कार्यमा उनीहरुको सक्रियता छ । उल्लेखित कार्यहरुका कारण यिनीहरूलाई नेपालमा स्वास्थ्य सेवाको जगका रूपमा लिइन्छ । अहिले स्थानीय सरकारहरूले यो पक्षलाइ विचार गरि स्वयंसेवक कार्यक्रमलाइ परिमार्जन गर्न सक्छन् । परिमार्जनको आवश्यकता पनि देखिएको छ । अन्य देशको तुलनामा नेपालका स्वास्थ्य स्वयंसेविकाहरुले बीचमै काम छाड्ने दर तुलनात्मक रुपमा कम देखिनु हाम्रो लागि खुशीको कुरा हो ।

समुदायस्तरमा महिला स्वास्थ्य स्वयंसेविकासँग प्रत्यक्ष रुपले काम गरिरहेको अनुभवको आधारमा यस कार्यक्रमका विविध पक्षबारे योजना बनाउन सकिने सम्भावना देखिन्छ । कुनै पनि कार्यक्रमको महत्व सधैँभर एकनास रहँदैन । समयअनुसार यसको महत्व घट्दै वा बढ्दै जान्छ । महिला स्वास्थ्य स्वयंसेविकाको महत्व र उनीहरुको क्रियाशिलतालाई सरकारले थप कार्यहरुमा लगाउन सक्छ । समुदायका हरेक घरधुरीसम्म उनीहरुको सहज पहुँच छ । स्वास्थ्य संस्थाका सबै सूचना भौतिक रुपमा हरेक घरधुरीसम्म लिएर पुग्न सक्छन् ।

स्वास्थ्य सेवामा विस्तार र प्रविधिको विकासले समुदायको आवश्यकता बद्लिएको छ । बद्लिएको परिवेशमा उनीहरुलाई जोड्न सक्नु पर्छ । विगतमा भएका यी महत्वपूर्ण उपलब्धी हासिल गर्नमा समुदायस्तरमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान प्रसंशनीय छ । साथै, आगामी दिनमा सर्वव्यापी पहुँच सहस्राब्दी विकास लक्ष्य हासिल गर्नका लागि उनीहरुको सहयोग अपरिहार्य देखिन्छ । समयको मागअनुसार महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका परिमार्जन गर्नतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिन चाहान्छु ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानकै कारण आज नेपालले अन्तराष्ट्रियस्तरमा प्रशंसा पाएको छ । यसको योगदान स्वरुप नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन तथा सम्मान प्रदान गर्दै सरकारद्वारा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ९ डिसेम्बर ५ लाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको छ ।

स्थानीय तहका आवश्यकता तथा स्वास्थ्य समस्याका आधारमा प्रयोग गर्नेगरी उनीहरुलाई जोड्न सकिन्छ भन्ने मलाई लाग्छ । उनीहरुको सक्रीय संलग्नता र सहभागिताले स्वास्थ्य क्षेत्रले उल्लेखनीय उपलब्धी हाँसिल गरेको वास्तविकता हाम्रो सामु छर्लङ्ग छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गरी तोकिएका कार्यहरुका अलावा स्थानीयस्तरका विकास निर्माण तथा सचेतना कार्यमा जोड्न सके स्थानीय सरकारका लागि यो एउटा नयाँ आयाम हुनसक्छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको कुरा गर्दा स्वयंसेवा शताब्दीयौंदेखि चल्दै आएको नेपाली समाज र संस्कृतिको एक अभिन्न अङ्ग हो । जसबाट सिक्दै सिकाउदै स्वास्थ्य क्षेत्रमा संस्थागत रूपले छरछिमेकमा कसैलाई अप्ठयारो पर्दा स्वेच्छाले सकेको भौतिक, आध्यात्मिक, सामाजिक र मानसिक जस्ता सहयोग गरी पीडा कम गराउन कोसिस गर्ने नेपाली समाजको एक विषेशता नै हो । स्वयंसेवाको भावना आज पर्यन्त जीवित छ । आपतविपतको समयमा तथा सार्वजनिक हितको कार्यको लागि समुदायमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुलाई नेपाली समाजमा एक पवित्र कार्यको रूपमा लिने गरिन्छ । जसको क्रियाशिलताले नेपाली समाजले उल्लेख्य लाभ लिएको माथि नै चर्चा गरिएको छ ।

व्यक्ति र समाजको विकासमा आमाको भूमिका कति मजबुत र उदाहरणीय हुन्छ भन्ने तथ्य उनीहरुले देखाएका छन् । प्रत्येक समुदाय तथा वडामा एक स्वास्थ्य आमा समूह गठन गरी, उक्त समूहले आफू मध्येबाट चुनेको महिलालाई महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा कम्तीमा ५ वर्ष काम गर्ने जिम्मेवारी हुन्छ । महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई नयाँ नयाँ ज्ञान सिपले पुनर्ताजगी गरेर स्वयंसेवी भावना अझै परिस्कृत भई न्यायमा आधारित स्वास्थ्य प्रणाली विकास गरी गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने स्वास्थ्य नीतिको लक्ष्य प्राप्त गर्नबाट सरकार पछि हट्नु हुदैन ।

(लेखक खड्का बागलुङ नगरपालिकाका उप–प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->