बेनी/१४ औं अन्तर आधारभूत तह बेनी बोर्डिङ कप फुटबलको उपाधि बेनी सामुदायिक माविले जितेको छ । बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा शनिबार खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा न्यु वेष्टपोइन्ट आवासीय माविलाई १–० गोलले हराउँदै बेनी सामुदायिकले उपाधि चुमेको हो । बेनीले उपाधिसँगै नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता वेष्टपोइन्टले २० हजार रुपैयाँ प्राप्त ग¥यो ।
म्याग्दी जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले वितरण गरेका थिए । सेमिफाइनल खेलमा बेनी सामुदायिक माविले आयोजक बेनी बोर्डिङ सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । अर्को खेलमा सेमिफाइनल खेलमा न्यू वेष्टपइन्ट एकेडेमीले प्रकाश माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो ।
प्रतियोगितामा अन्तर–आधारभूत तहअन्तर्गत कक्षा १ देखि ८ सम्मका जिल्लाका १७ वटा विद्यालय सहभागी रहेको खेल संयोजक विशाल खत्री जानकारी दिए । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । म्याग्दीमा आधारभुत तहको फुटबलमा बेनी बोर्डिङ कप निकै लोकप्रिय छ ।





