बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सडक सुरक्षा मापदण्ड लागू होस्

सडक सुरक्षा मापदण्ड लागू होस्

दैनिक दुर्घटनाको खबरहरु आइरहँदा राज्य यो समस्याप्रति गम्भीर बनोस् । अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य होस् र यसका लागि चर्चामा रहेको सडक सुरक्षा मापदण्ड कार्यान्वयनमा तत्परता देखाइयोस् ।


  • Dhorpatan News
  • फाल्गुन १२ २०८२, मंगलबार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै सोमबार राति भएको बस दुर्घटनामा झण्डै २ दर्जन नागरिकले ज्यान गुमाएका छन् । पोखराबाट काठमाडौँका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस सोमबार बिहान त्रिशूली नदी किनारमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटना भवितव्य हो । दुर्घटना कतिबेला हुन्छ भन्न सकिँदैन । दुर्घटनाका कहिले मानवीय त्रुटि त कहिले प्राकृतिक कारणले हुने गर्छन् । नेपालमा सडक दुर्घटनाका कारणहरु खोतल्न र न्यूनीकरणका लागि प्रभावकारी कदमहरु चालिएको छैन । चरौंदी दुर्घटनाकै कुरा गर्ने हो भने,भौगोलिक जटिलतासँगै उद्धारका सामग्री नहुँदा केहीलाई तत्काल अस्पताल पु¥याउन नसकिएको तथ्यले भने मन चिमोटेको छ । प्रत्यक्षदर्शीका भनाइहरुलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गतको धादिङ खण्ड दुर्घटनाको जोखिमपूर्ण क्षेत्र हो । सो क्षेत्रलाई सडक विभागले जोखिमपूर्ण क्षेत्रको रुपमा पहिचान त गरेको छ तर दुर्घटनालगत्तै उद्धारका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनमा भने ध्यान दिइएको पाइँदैन । दुर्घटना हुनासाथ चालकको लापर्वाही भन्ने वा खराब सडकलाई दोष दिएर उम्कने प्रवृत्ति अध्यावधि छँदैछ ।

पहाडी राज्य नेपालमा २००७ सालअघिसम्म जम्माजम्मी ५ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । राणाहरुले मान्छेलाई बोकाएर काठमाडौंमा मोटर लगेका थिए । २००७ सालपछि हालसम्म देशका ७७ वटा जिल्लाहरु राष्ट्रिय सडक सञ्जालमा जोएिडएका छन् । १ लाख किलोमिटरभन्दा लामो सडकमध्ये ७८ हजार किलोमिटर कालोपत्रे भएको छ । सडक सञ्जाल बिस्तार हुँदा दुर्घटना पनि त्यसरी नै बढेको छ । अघिल्लो वर्षसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने, विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू भएका छन् भने आर्थिक वर्ष २०८०÷०८१) मामात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ। घाइतेको संख्या पनि उत्तिकै ठूलो छ । ती घाइतेहरुमध्ये पनि केहीको उपचारकै क्रममा मृत्यु हुने र बाँचेकाहरु पनि पूर्ण स्वस्थ नहुने गरेको सडक सुरक्षा विज्ञहरु बताउँछन् । औषतमा सडक दुर्घटनाबाट दैनिक ७ जनाको निधन हुनु सानो कुरा हैन । कुनै बेला असाध्य मानिएका टिबी,औलोजस्ता रोगबाट मृत्यु हुनेकोभन्दा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी हुनुलाई राज्यले गम्भीरताका साथ लिनुपर्छ । विश्व बैँकले गरेको एक अध्ययनले सडक दुर्घटनाका कारण नेपालले राष्ट्रिय गार्हस्थ्य उत्पादनको झण्डै ३ प्रतिशत वार्षिक घाटा बेहोर्दै आएको अनुमान गरेको छ । नेपालका सडकहरु सुरक्षित छैनन् । डिभाइडर र छेउतिर छेकबार नभएका,गाडीको भारबहन क्षमतालाई नजरअन्दाज गर्दै अत्यधिक उकालोतिर लगिएका, मोड र घुम्तीको ख्याल नगरिएका सडकहरु दुर्घटनाका कारक बन्ने गरेका छन् । सडक सुरक्षा मापदण्डको ख्याल नगर्ने,मदिरा सेवन र कतिपय अवस्थामा अत्यधिक तनावमा गाडी हुइँक्याउने चालकहरुको कारण पनि दुर्घटनाहरु भएका छन् ।

सडक सुरक्षा एवं दुर्घटना कम गर्नका निम्ति विज्ञहरुले नेपालमा कम्तिमा ७ हजार थप ट्राफिक प्रहरी वा ट्राफिक इन्स्पेक्टर भर्ना,सडकको गुणस्तर सुधार गर्न, मोटरसाइकल हेल्मेट अनिवार्य प्रयोग गर्नेलगायत विषयहरु अगाडि सारेका छन् । दैनिक दुर्घटनाको खबरहरु आइरहँदा राज्य यो समस्याप्रति गम्भीर बनोस् । अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य होस् र यसका लागि चर्चामा रहेको सडक सुरक्षा मापदण्ड कार्यान्वयनमा तत्परता देखाइयोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->