आजै हो चंगा देखेको । चंगा पनि कहाँ देखेँ र रु देखेझैँ गरेँ, कल्पनामा । आकाशमा अचेल चंगाहरू कम देखिन्छन् ।
कल्पना एउटी केटी, जसलाई म प्रेम गर्थें । उसले पनि मलाई प्रेम गर्थी । दुवैमा पस्पस्पर प्रेम नभए किन चंगाको सम्झना आउँथ्यो र ? प्रेम नभएको भए ऊ आफ्नो बाटो, म आफ्नो बाटो हिँडिरहेका हुने थियौँ, मग्न ।
सहजै थियो । हिँड्नलाई बाटोको कमी छैन । तर, परिचय भयो, एउटा मोडमा । प्रेम हुनुको पनि आफ्नो एउटा प्रक्रिया हुन्छ । त्यसतिर लाग्ने हो भने कुरो लामो हुन जान्छ । मलाई छोटोमै कुरो समापन गर्ने मन छ ।
परिचयको सिलसिलामा उसले भनी, “म कल्पना !”
मैले भनेँ, “म मदन ।”
मेरो मुख ऊसँग बोल्दा सुक्नसुक्न खोज्दै थियो । प्रेमातिरेकताको लक्षण हुन सक्छ ।
यतिमै सीमित भएको भए परिचय, अगाडि बढेर प्रेममा परिणत नभएको भए हुने थियो । तर, परिचय बढ्यो । अनि प्रेम भयो ।
मैले नै प्रस्ताव गरेँ, “हामी एकआपसमा प्रेम गरौँ ।”
कल्पनाले हाँस्दै भनी, “ढिलो गर्यौ ।”
म झसंग भएँ, तर्सें । अर्कैले बाजी मारेछ कि क्या हो !
मैले सतृष्ण भनेँ, “कसले भनिसक्यो तिमीलाई आई लभ यू ?”
मेरो आतुरता देखेर कल्पना हाँसी । उसको हाँसो ! म पागल भइजान्थेँ ।
“त्यसो होइन । तिमीले यो पहिल्यै भन्नुपर्ने थियो भनेको ।”
उसले थपी, “म वेटिङ लिस्टमा परेँ कि भन्ने थियो ।”
उसको प्रेम स्वीकृतिले म हावामा उडेझैँ हुन थालेँ । एकले अर्कालाई नदेखे बस्न, टिक्न नसक्ने भयौँ ।
प्रेम धेरै गाढा भयो । कसले भनेको थियो कुन्नि, गहिरो माया धेरै टिक्दैन । मैले सोचेँ- नटिके नटिकोस्, मान्छेको जिन्दगी दुई दिनको । माया गरिहालौँ । प्रेमबिना जीवन अधुरो छ ।
बिहे भयो । आश्चर्यको कुरो थिएन । प्रेमको परिणति सुखद विवाहमा भयो । तर, सुखद !
०००
मैले चिच्च्याएर भनेँ, “कल्पना याँ आइज, तेरो छोरोलाई लिएर जा । मलाई अफिस जान अबेर भो ।”
“के भन्यौ ? मेरो मात्रै छोरो हो त्यो ? उसको बाबा को हो ? अलि होस गरेर बोल है ?”
होस गरिएन र त यस्तो भयो । समयमै होस गरेको भए ! पहिले होस अनि जोस । पहिले जोसले गर्दा यस्तो भो, होस हराइयो ।
प्रेम अन्धो हुन्छ भन्थे, सही रहेछ ।
“के भनिस् ? मुख समाल् है !”
“के भन्यौ ? फेरि भन त । मुख मेरो मात्रे छैन, तिम्रो पनि छ, जुन तिमीले समाल्न सक्दैनौ ।”
कल्पनासँग बहस गरेर सकिँदैन । असफल भइन्छ । आफ्ना सम्पूर्ण असफलता उसका अगाडि उघारिन्छन् र म एक्लो पर्छु । कारण यो थियो– छोरो पनि उसैलाई खोजेर रोइरहेछ ।
आमा त भई नि ऊ । र, नरोएसम्म आमाले दूध खुवाउँदिनन् भन्ने उसले बुझेजस्तो छ । भलै, आमाले स्तन नचुसाएर फिडरबाट दूध खुवाउँछन् । त्यो पनि पाउडर दूध, तातो पानीमा घोलेर ।
अचेलका बच्चा । रुँदै, पर्खंदै गरिरहेछ, आमाको चाल सुन्दै । कस्सो यसले हातमा मोबाइल लिएर जन्मेन । नत्र रोएर मोबाइलमा फोन गर्ने थियो, “आमा कहाँ छौ रु”
“यस्तो थाहा भएको भए म बिहे नै गर्ने थिइनँ ।”
अहिले भनेर वा पछुताएर के हुन्छ । उति बेला ‘हाम्रो प्रेम अमर हुनेछ हामी दुई दुलहादुलही भएपछि’ भन्ने सपना देखियो । अहिले स्वप्नभंग भयो ।
“साँझ अलि चाँडै अफिसबाट फर्कने, ल्याक्टोजिन लिएर, सकिसक्यो ।”
“ल्याक्टोजिन–स्याक्टोजिन तेरो छोराको लागि तैँ ले … मेरो मोजा खोइ ? एउटा मोजा भेटिन्छ । तर, अर्को खोइ रु खोज् त ए ! यो घर हो कि कबाडखाना ?”
“सही भन्यौ । कबाडखाना हो यो । म कहिल्यै सुखले बस्न पाइनँ । म पनि एउटा कबाड ! गल्ती मेरै थियो ।”
उसको गल्ती ? के गल्ती रहेछ ? म मोजा खोज्दै उसको गल्तीबारे सुन्न कान ठाडा पारेको थिएँ । हाकिमकी छोरीझैँ गर्छे । यो त मलाई थाहा थिएन, हाकिमकी छोरीहरू कस्ता हुन्छन् । तर, यत्ति थाहा थियो–हाकिमहरूले थाहा पाए भने हाँस्नेछन् ।
पहिले भनेकै थियौँ, “हाम्रा छोरीमध्ये एउटीलाई छानेर बिहे गर् ‘यो मेरो कल्पना थियो’ । कुकुरलाई घिउ नरुचेको !”
एउटा सुखको खोजीमा थिएँ । र, चंगा उडाउँथेँ । हाकिमकी छोरीसँग बिहे भएको भए खुसी हुने थिएँ । केही नभए अफिसको एउटा सहयोगीलाई घरकाजमा खटाउन त सकिन्थ्यो ।
साग-तरकारी ल्याउनदेखि कल्पनाका पेटीकोटधरि धुने-पखाल्ने काम गर्ने थियो । छोरो र छोरी पनि झ्याम्मिने थिए ।
छोरीलाई त मैले बिहानै उसका सबै काम सम्पन्न गरी प्ले-ग्रुपमा छाडेर आएको थिएँ ।
“गल्ती यो भयो, मलाई माग्न कस्ताकस्ताका छोराका बाबाआमा आफैँ हाजिर हुने गर्थे । तर, मति बिग्रेपछि के लाग्छ, दिनदशा पनि बिग्रेकै हुन् । यस्तासँग बिहे भयो ।”
‘यस्तासँग बिहे भयो’ भनेर खसाल्ने भाषा वा न्यारेटिभ आएको थियो भनेपछि त्यसलाई स्वयंले कस्तो हीन पात्र भनेर भाष्य तयार गर्नुपर्ने थियो ।
साँझ अफिसबाट फर्केपछि एक कप चिया आफैँ पकाएर खाइयो । कल्पना माइत गएकी रहिछ । एउटै सहरमा माइत हुनुले पनि फाइदा यो हुन्छ ससुराली गएर आनन्दले खाना खाएर फर्कन पाइन्छ । त्यस्तै भयो ।
राति घर फर्कंदा कल्पनालाई मैले भनेँ, नरम स्वरमा, “बाझाबाझ गर्ने होइन नि कल्पना ।”
ऊ बोलिन । म उसलाई फकाउँदै थिएँ । उसले बुझ्दै थिई, म नरम हुनुको कारण के हो ।
ओछ्यानमा पसेपछि मैले उसलाई अँगालोमा कस्न चाहेँ । ऊ मेरी कल्पना थिई । तर, अकस्मात् एउटा घटना यस्तो भइदियो- मेरो चंगा च्वाट्टै छिनालियो । उसले छोरोलाई हामीबीच सुताउँदै भनी, जुन अप्रत्याशित थियो ।
“सधैँसधैँ… लोग्नेमान्छेको जात ! अलि पर सरेर सुत्ने । टाँसिने काम छैन । छोरो च्यापिएला । निसास्सिने गर्छ । यो पनि बाबुभन्दा कम छैन ।”
बाबुकै छोरो त हो । कम हुने कुरो भएन । तर, ऊ कसरी बाबुभन्दा कम छैन ? उसको भविष्य पनि मेरै जस्तो ?





