बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युद्ध हैन, शान्ति रोजौं

युद्ध हैन, शान्ति रोजौं

नेपाल जस्ता साना राष्ट्रहरूका लागि पनि यस्ता अन्तर्राष्ट्रिय तनावका दूरगामी प्रभाव पर्न सक्छन् । विशेषतः तेल मूल्यवृद्धि, वैदेशिक रोजगारी र रेमिट्यान्समा पर्ने असरका विषयहरु अन्तर्राष्ट्रिय मंचमा उठाउनु पर्छ । नेपालले विश्व मंचमा सैन्य आक्रमणले तत्कालिक सन्देश त दिन सक्छ, तर स्थायी शान्ति र स्थायित्व भने संवाद, पारदर्शिता र पारस्परिक सम्मानबाट मात्र सम्भव हुन्छ भन्न सक्नुपर्छ ।


  • Dhorpatan News
  • फाल्गुन १७ २०८२, आइतबार

लामो वाकयुद्द्पछि इरानमाथि अमेरिकाले आक्रमण गरेको छ ।प्रतिक्रियास्वरुप इरानले अमेरिकी सहयोगी खाडी मुलुकमाथि आक्रमण गरेसँगै विश्व त्रसित बनेको छ । अमेरिका र इरानबीचको सम्बन्ध विगत चार दशकदेखि अविश्वास, प्रतिबन्ध र परोक्ष द्वन्द्वले भरिएको थियो तर प्रत्यक्ष सैन्य कारबाही नै भैहाल्छ भन्नेमा चाहिँ विश्व अभिमत विभाजित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमण नै रोजे अनि परिस्थितिलाई अझ जटिल र खतरनाक मोडमा धकेले ।

यो घटनाले दुई देशबीचको पुरानो शत्रुतालाई पुनर्जीवित मात्र गरेको छैन, यसले सम्पूर्ण मध्यपूर्वमा शक्ति सन्तुलनलाई पनि चुनौती दिएको छ । अन्य क्षेत्रीय शक्तिहरूले यस घटनाक्रमलाई चासोपूर्वक नियालिरहेका छन्, किनकि इरानसँगको कुनै पनि खुला युद्धले क्षेत्रीय गठबन्धनहरूलाई प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्छ ।

अमेरिकाले आफ्नो कदमलाई राष्ट्रिय सुरक्षाको सवालसँग जोडेर औचित्य ठहर्याएको हुन सक्छ। तर सैन्य समाधानले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ भन्ने ग्यारेन्टी छैन । विगतमा इराक र अफगानिस्तानमा भएका अमेरिकी हस्तक्षेपहरूले देखाएको छ कि, युद्ध सुरु गर्न सजिलो भए पनि त्यसको परिणाम दीर्घकालीन अस्थिरता, आर्थिक बोझ र मानवीय संकटका रूपमा देखा पर्ने देखिएको छ । इरान सो क्षेत्रमा अतिवादीहरु पृष्ठपोषण गर्छ । ती अतिवादीहरु यसअघि पनि सक्रिय थिए र इराकको लागि पुनःसक्रिय हुने छन् । यस्तो अवस्थामा सीधा युद्धभन्दा बढी खतरनाक ’प्रोक्सी युद्ध’ को जोखिम बढाएको छ ।यसले तेल आपूर्ति, समुद्री व्यापारमार्ग र विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पु¥याइसकेको छ ।

यो जटिलतालाई सामान्य अवस्थामा फर्काउन अन्तर्राष्ट्रिय समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । अमेरिका र इजरायललाई संयम अनि लचकदार बन्न दवाब दिँदै इरानलाई पनि सहमतिमा ल्याउन संयुक्त राष्ट्रसंघलगायतका संस्थाहरूले संयम, संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्छ । शक्ति प्रदर्शनभन्दा वार्ता र विश्वास निर्माण अनि एसिया अनि खाडीराष्ट्रलाई अस्थिरताबाट जोगाउनेतर्फ ध्यान दिनुपर्छ ।

नेपाल जस्ता साना राष्ट्रहरूका लागि पनि यस्ता अन्तर्राष्ट्रिय तनावका दूरगामी प्रभाव पर्न सक्छन् । विशेषतः तेल मूल्यवृद्धि, वैदेशिक रोजगारी र रेमिट्यान्समा पर्ने असरका विषयहरु अन्तर्राष्ट्रिय मंचमा उठाउनु पर्छ । नेपालले विश्व मंचमा सैन्य आक्रमणले तत्कालिक सन्देश त दिन सक्छ, तर स्थायी शान्ति र स्थायित्व भने संवाद, पारदर्शिता र पारस्परिक सम्मानबाट मात्र सम्भव हुन्छ भन्न सक्नुपर्छ । अमेरिका र इरान दुवैले संयम अपनाउँदै कूटनीतिक बाटो रोज्नु नै आजको सबैभन्दा आवश्यक कदम हो। विश्वले फेरि एकपटक युद्धको सास्ती होइन, सहकार्यको उदाहरण हेर्न चाहन्छ । यो कुरालाई सबैले मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->