बागलुङ/पहिला एकदुई वटा रुख उम्रिँदा जोगाउने चलन बस्यो । तर, ती रुख र बुट्यान हुर्केर स्थानीयको बास खेद्ने अवस्था आयो । रुखको कारण बारीमा खेती कम उत्पादन हुँदै गयो, त्यो भन्दा बढी बाँदरको बास भयो । छिटफुट आउने बाँदरले स्थानीयको घर छेवैका अग्ला र अनुत्पादक रुखमा बाँदरको बासै बन्न थालेपछि हैरानीमा परेका हुन् ।
उनीहरुले बाँदर आतंकबाट बच्न बारी र खेतका रुख सबै काटेका छन् । घरभित्रै पसेर पकाएको खाना समेत खाइदिएको, रातभर घर छेवैको रुखमा बसेका सयौँको हुल बिहानै घरभित्र पस्दा स्थानीय आतंकित हुने खतरा उत्तिकै बढेपछि रुख काट्न थालिएको हो ।
बागलुङ नगरपालिका १३ पैयुँपाटाबासीको यो साझा समस्या हो । खेती गर्न नपाएको, बाली खाएर नष्ट भएको र घरको ढोका समेत खुला राख्न नमिल्ने भएपछि कतिपयले घरै छाडेर हिँडेका छन् । यहाँ पछिल्लो समय आतंककै रुपमा बाँदर बढेको स्थानीयले बताए ।
बाँदर बढेपछि स्थानीयले घरेलु उपायको खोजी गरे । आउनै नदिने उपाय त उनीहरुले भेटाउन सकेनन् । तर, आएकालाई तत्काल धपाउने र तत्काल नफर्कने बनाउन घर छेउका सबै बुट्यान र अनुत्पादक रुखहरु काट्ने निधो गरे । चिलाउने, बकाइनो, टुनी जस्ता रुख र साना बुट्यान काटिएको हो । ‘रातभर रुखमै बस्ने र बिहानै घरभित्र पस्ने गर्दा थन्क्याएको खेतीपाती र अन्न समेत खाइदिने खतरा अब काम होला की ?’ उनले भने, ‘बरु अब बारीमा तरकारी लगायतको खेती लगाउनु पर्ला ।’
कतिपय किसानले त बिहान उठेर भिजाएको चामल समेत पकाउन नपाएको गुनासो गरे । ‘आमाले चामल भिजाएर यताउता गर्दा बाँदरले खाएर भाँडा पनि गुल्ट्याइदिएछन्’ स्थानीय प्रकाश पौडेलले भने, ‘बासै खेदिने खतरा भएपछि बुट्यान काट्न बाध्य भयौं ।’ यो अभियान साविकको पैयुँपाटा गाविसका वडा नं. १ र २ मा संचालन भैसकेको छ । अन्य वडाबासीले पनि रुख काट्ने योजना बनाएका छन् ।
यो अभियानमा घर छाडेर अन्यत्र गएकाहरुको बारीबाट पनि रुखबिरुवा कटान गरिएको छ । अहिले बानपा १४ को पानी ट्यांकीबाट बानपा १३ का बस्तीहरु देखिन थालेका छन् । यो अवसर देखेपछि गाउँ छाडेर बसाई गएकाहरुले पनि खाली जमिनमा तरकारी वा फलफूल लगाउने योजना बनाएका छन् । कतिपयले फोनै गरेर माटो परीक्षण गर्ने र के कसरी उपयोग गर्न सकिन्छ अध्ययन गरेर जानकारी दिन समेत भनेको पौडेलले बताए ।
यो क्षेत्रमा तरकारी, सुन्तला र अन्य फलफूल पनि लगाउन सकिन्छ । कृषि ज्ञान केन्द्र, नगरपालिकाको कृषि शाखा लगायतमा खबर गरेर जमिनको उपयोगिताबारे छलफल चलाउने उनले बताए । यहाँ सामुहिक खेती लगाउने वा व्यक्तिगत रुपमा गर्ने जस्ता योजना पनि बनाउन लागिएको उनले बताए । निर्वाचनको समय भएकोले स्थानीयले राजनीतिक दललाई समेत यो समस्या बताएका थिए । कतिपयले दिगो विकासको दृष्टीले काम गर्न सकिने योजना बनाउने आश्वासन समेत दिएका छन् भने कतिपयले बाँदर नियन्त्रणका योजनाको खोजी गर्ने बताए ।
दक्षिण बागलुङका अधिकांश क्षेत्र बाँदरको आतंकमा परेका छन् । ती स्थानमा बाँदरले नखाने वा नष्ट गर्न नसक्ने खालका कतिपय बोटबिरुवा र खेती लगाउन पहल गरिने स्थानीयको योजना छ । बाँदरकै कारण वर्षेनी बसाइसरार्इँ बढेकोले ग्रामीण बस्ती खाली भएका छन् ।
यहाँको जैमिनी नगरपालिका बसाई सराइको बढी प्रभाव भएको पालिका हो । २०७८ मा ३१ हजार ४ सय ३० जनसंख्या रहेको यो पालिकाको अधिकांस वडामा बस्ती रित्तिएका छन् । वडा नं. १ को टुनीबोट गाउँ त मानवविहीन बनिसकेको छ । बाँदर आतंकका कारण स्थानीयले बसाई सर्नुपरेको गुनासो गरेका छन् । जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्न विज्ञ सम्मेलन गरेपनि संभव नभएपछि बाँदर पार्क बनाउने तयारी गरेको छ । वडा नं. ८ को पुरानो गाउँलाई बाँदरपार्क बनाउने लक्ष्य राखिएको छ ।





