शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाँदर धपाउन रुख काट्ने अभियान

बाँदर धपाउन रुख काट्ने अभियान

‘आमाले चामल भिजाएर यताउता गर्दा बाँदरले खाएर भाँडा पनि गुल्ट्याइदिएछन्’ स्थानीय प्रकाश पौडेलले भने, ‘बासै खेदिने खतरा भएपछि बुट्यान काट्न बाध्य भयौं ।’ यो अभियान साविकको पैयुँपाटा गाविसका वडा नं. १ र २ मा संचालन भैसकेको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८२, मंगलबार

बागलुङ/पहिला एकदुई वटा रुख उम्रिँदा जोगाउने चलन बस्यो । तर, ती रुख र बुट्यान हुर्केर स्थानीयको बास खेद्ने अवस्था आयो । रुखको कारण बारीमा खेती कम उत्पादन हुँदै गयो, त्यो भन्दा बढी बाँदरको बास भयो । छिटफुट आउने बाँदरले स्थानीयको घर छेवैका अग्ला र अनुत्पादक रुखमा बाँदरको बासै बन्न थालेपछि हैरानीमा परेका हुन् ।

उनीहरुले बाँदर आतंकबाट बच्न बारी र खेतका रुख सबै काटेका छन् । घरभित्रै पसेर पकाएको खाना समेत खाइदिएको, रातभर घर छेवैको रुखमा बसेका सयौँको हुल बिहानै घरभित्र पस्दा स्थानीय आतंकित हुने खतरा उत्तिकै बढेपछि रुख काट्न थालिएको हो ।

बागलुङ नगरपालिका १३ पैयुँपाटाबासीको यो साझा समस्या हो । खेती गर्न नपाएको, बाली खाएर नष्ट भएको र घरको ढोका समेत खुला राख्न नमिल्ने भएपछि कतिपयले घरै छाडेर हिँडेका छन् । यहाँ पछिल्लो समय आतंककै रुपमा बाँदर बढेको स्थानीयले बताए ।

बाँदर बढेपछि स्थानीयले घरेलु उपायको खोजी गरे । आउनै नदिने उपाय त उनीहरुले भेटाउन सकेनन् । तर, आएकालाई तत्काल धपाउने र तत्काल नफर्कने बनाउन घर छेउका सबै बुट्यान र अनुत्पादक रुखहरु काट्ने निधो गरे । चिलाउने, बकाइनो, टुनी जस्ता रुख र साना बुट्यान काटिएको हो । ‘रातभर रुखमै बस्ने र बिहानै घरभित्र पस्ने गर्दा थन्क्याएको खेतीपाती र अन्न समेत खाइदिने खतरा अब काम होला की ?’ उनले भने, ‘बरु अब बारीमा तरकारी लगायतको खेती लगाउनु पर्ला ।’

कतिपय किसानले त बिहान उठेर भिजाएको चामल समेत पकाउन नपाएको गुनासो गरे । ‘आमाले चामल भिजाएर यताउता गर्दा बाँदरले खाएर भाँडा पनि गुल्ट्याइदिएछन्’ स्थानीय प्रकाश पौडेलले भने, ‘बासै खेदिने खतरा भएपछि बुट्यान काट्न बाध्य भयौं ।’ यो अभियान साविकको पैयुँपाटा गाविसका वडा नं. १ र २ मा संचालन भैसकेको छ । अन्य वडाबासीले पनि रुख काट्ने योजना बनाएका छन् ।

यो अभियानमा घर छाडेर अन्यत्र गएकाहरुको बारीबाट पनि रुखबिरुवा कटान गरिएको छ । अहिले बानपा १४ को पानी ट्यांकीबाट बानपा १३ का बस्तीहरु देखिन थालेका छन् । यो अवसर देखेपछि गाउँ छाडेर बसाई गएकाहरुले पनि खाली जमिनमा तरकारी वा फलफूल लगाउने योजना बनाएका छन् । कतिपयले फोनै गरेर माटो परीक्षण गर्ने र के कसरी उपयोग गर्न सकिन्छ अध्ययन गरेर जानकारी दिन समेत भनेको पौडेलले बताए ।

यो क्षेत्रमा तरकारी, सुन्तला र अन्य फलफूल पनि लगाउन सकिन्छ । कृषि ज्ञान केन्द्र, नगरपालिकाको कृषि शाखा लगायतमा खबर गरेर जमिनको उपयोगिताबारे छलफल चलाउने उनले बताए । यहाँ सामुहिक खेती लगाउने वा व्यक्तिगत रुपमा गर्ने जस्ता योजना पनि बनाउन लागिएको उनले बताए । निर्वाचनको समय भएकोले स्थानीयले राजनीतिक दललाई समेत यो समस्या बताएका थिए । कतिपयले दिगो विकासको दृष्टीले काम गर्न सकिने योजना बनाउने आश्वासन समेत दिएका छन् भने कतिपयले बाँदर नियन्त्रणका योजनाको खोजी गर्ने बताए ।

दक्षिण बागलुङका अधिकांश क्षेत्र बाँदरको आतंकमा परेका छन् । ती स्थानमा बाँदरले नखाने वा नष्ट गर्न नसक्ने खालका कतिपय बोटबिरुवा र खेती लगाउन पहल गरिने स्थानीयको योजना छ । बाँदरकै कारण वर्षेनी बसाइसरार्इँ बढेकोले ग्रामीण बस्ती खाली भएका छन् ।

यहाँको जैमिनी नगरपालिका बसाई सराइको बढी प्रभाव भएको पालिका हो । २०७८ मा ३१ हजार ४ सय ३० जनसंख्या रहेको यो पालिकाको अधिकांस वडामा बस्ती रित्तिएका छन् । वडा नं. १ को टुनीबोट गाउँ त मानवविहीन बनिसकेको छ । बाँदर आतंकका कारण स्थानीयले बसाई सर्नुपरेको गुनासो गरेका छन् । जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्न विज्ञ सम्मेलन गरेपनि संभव नभएपछि बाँदर पार्क बनाउने तयारी गरेको छ । वडा नं. ८ को पुरानो गाउँलाई बाँदरपार्क बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->