बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मतदाताका हातमा मुलुकको भविष्य

मतदाताका हातमा मुलुकको भविष्य

मुख्य सवाल भनेकै देशको विधि निर्माणको थलोमा कसलाई पठाउने भन्ने नै हो, त्यसमा आम मतदाता सचेत रहनुपर्छ । आगामी पाँच वर्षसम्म सकेसम्म पछुताउनु नपर्ने गरी मात्रै उनीहरूले आफ्नो अभिमतको स्वस्तिक छाप प्रयोग गर्नुपर्छ । अनि मात्रै लोकतन्त्रको यो उत्सव सबै अर्थमा सार्थक हुनेछ ।


  • Dhorpatan News
  • फाल्गुन २१ २०८२, बिहिबार

आवधिक निर्वाचनको नियमित अभ्यास गरिरहेका परिपक्व लोकतन्त्रहरूमा पनि चुनावको आफ्नै महत्व हुन्छ । हुन त आज हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन नियमित होइन, जेन जी आन्दोलनबाट सिर्जित अवस्थाका कारण हुन लागेको यो निर्वाचन एक सुखद संयोग हो । त्यसैले यो निर्वाचनको महत्व झनै ठूलो छ । किनकी यो निर्वाचन केवल संवैधानिक दायित्वको निरन्तरता मात्र होइन, मुलुकको भावी दिशाको निर्णायक मोडका रुपमा पनि लिन सकिनछ ।

२०१५ सालमै पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका नेपालीले त्यसयता आजसहित ९वटासंसदीय निर्वाचनमा भाग लिन पाएका छन्, संविधानसभाका निम्ति भएका दुई चुनावसमेत गरेर ।नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको महत्वपूर्ण अभ्यासका रूपमा राजनीतिक अस्थिरता, प्रणालीगत उतारचढाव र पटक–पटकको आन्दोलनको पृष्ठभूमिमा हुर्किएको नेपाली लोकतन्त्रका लागि प्रत्येक चुनाव एउटा नयाँ भरोसा र परीक्षा दुवै हो ।

चुनाव आम नागरिकले आफ्नो सार्वभौम शक्ति प्रयोग गर्ने दिन हो । परम्परागत अर्थमा ‘शासन गर्ने’ प्रतिनिधि छान्ने अवसर हो भने आधुनिक लोकतान्त्रिक मान्यतामा ‘सेवा गर्ने’ जनप्रतिनिधि रोज्ने सुनौलो क्षण हो । यही कारणले मतदान लोकतन्त्रको वास्तविक उत्सव हो, जहाँ मतपत्रमा लगाइने एउटा स्वस्तिक छापले आगामी पाँच वर्षको नीति, प्राथमिकता र राजनीतिक संस्कार निर्धारण गर्छ ।

नागरिक मनोकांक्षाहरूलाई आवाज दिन र देशको लोकतन्त्रलाई सुदृढ तुल्याउन आज बढीभन्दा बढी मतदाताले मतदान गर्न आवश्यक छ । र, सही उम्मेदवारलाई विजयी तुल्याउन हरेक मतदाताले कुनै व्यक्तिगत लोभलालचभन्दा माथि उठेर कसैको डरत्रासमा नपरीकन भोट खसाल्न अपरिहार्य छ ।

मतदानमार्फत मतदाताले केवल उम्मेदवारहरूको जितहारको छिनोफानो मात्र गरिरहेका हुँदैनन्, कम्तीमा आगामी पाँच वर्षका निम्ति आफ्नो र मुलुकको पनि भाग्य र भविष्यको फैसला सुनाइरहेका हुन्छन् । कम्तीमा पाँच वर्ष किन भनिएको भने, चुनावमार्फत राम्रा उम्मेदवारहरूले जिते भने संसद् र सरकार दुवै राम्रो बन्न सक्छन् । लामो समयसम्मको निम्ति राष्ट्रको सम्मुन्नतिको आधारशिला खडा गर्न सक्छन् । खराब उम्मेदवारहरूले जिते भने संसद्को बनोट बिग्रन्छ, राम्रो सरकार बन्न सक्दैन । र, उनीहरूले मुलुकलाई अझ पछाडि धकेल्ने सम्भावना पनि उत्तिकै हुन्छ, जसलाई सच्याउन अरू पाँच वर्षले पनि नपुग्न सक्छ । तसर्थ, चुनावमा हरेक मतदाताले आफ्नो मतको सही उपयोग गर्न अति आवश्यक छ ।

अहिलेसम्मकेही भएन भन्ने निराशाका माझ पनि बढी भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नैपर्छ । जति धेरै मत खस्न सक्यो, त्यति नै सही उम्मेदवार छनोट हुने सम्भावना बढी हुन्छ । र, निर्वाचनको नतिजामा नागरिकको सार्थक हस्तक्षेप हुन सक्छ । यसका निम्ति सुयोग्य उम्मेदवार छनोटमा मतदाताले आफ्नो उच्चतम विवेक प्रदर्शन गर्नुपर्छ । विगतको कार्यसम्पादन र भविष्यमा मुलुक निर्माणका लागि गर्न सक्ने योगदानको कसीमा उम्मेदवारको मूल्यांकन गर्नुपर्छ । जित्ने उम्मेदवारले संसदमा जनताको आवाज गुन्जाओस्, राष्ट्रिय आवश्यकताका कानुन निर्माणमा सक्रिय होस्, जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको ओज राखोस्, र समग्रमा यो संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाओस् ।

मुख्य सवाल भनेकै देशको विधि निर्माणको थलोमा कसलाई पठाउने भन्ने नै हो, त्यसमा आम मतदाता सचेत रहनुपर्छ । आगामी पाँच वर्षसम्म सकेसम्म पछुताउनु नपर्ने गरी मात्रै उनीहरूले आफ्नो अभिमतको स्वस्तिक छाप प्रयोग गर्नुपर्छ । अनि मात्रै लोकतन्त्रको यो उत्सव सबै अर्थमा सार्थक हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->