बागलुङ / ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण भएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ का बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको हो ।
५० जनामा दादुरासंग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गते सम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिए ।
दादुराको संक्रमण बढेकाले ढोरपाटन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीहरूले संकलन गरेको ५ वटा स्वाब परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण थप फैलिन नदिन नगरपालिकाले उच्च सतर्कता अपनाउन र दादुराको लक्षण देखिए अस्पताल आउन आग्रह गरेको छ ।





