सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्राकृतिक उपचारसंगै पर्यटनका लागि उत्कृष्ट गन्तव्य

प्राकृतिक उपचारसंगै पर्यटनका लागि उत्कृष्ट गन्तव्य

प्राकृतिक रुपमा निस्कने उक्त तातोपानीमा नुहाउन तथा अवलोकन गर्नकालागि वर्षेनी ५० हजार भन्दा बढी मानिसहरु आउने गरेको तथ्यांक छ ।


  • अमृत बास्कुने
  • चैत्र १२ २०८२, बिहिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 29;

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४ स्थित म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रम रहेको पानीको मुल छ । उक्त मुलको तातोपानीलाई संकलन गरेर पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ ।

तातोपानीमा स्नान गरेमा छाला, ग्यास्ट्रिक, वाथ, नशा, चोटपटक लागेको जस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । यही जनविश्वासका साथ हरेक वर्ष तातोपानी कुण्डमा नुहाउनका लागि देशका विभिन्न जिल्लाहरुबाट सेवाग्राहीहरु आउने गर्दछन् । प्राकृतिक रुपमा निस्कने उक्त तातोपानीमा नुहाउन तथा अवलोकन गर्नकालागि वर्षेनी ५० हजार भन्दा बढी मानिसहरु आउने गरेको तथ्यांक छ ।

सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा रहेको कुण्डमा स्नानका लागि विदेशीहरु पनि आउने गर्दछन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काका अनुसार गत आर्थिक वर्षमा नेपालका ६० भन्दा बढी जिल्ला तथा कोरिया, जापान, पोल्याण्ड, भारत, रसिया, इजरायल, युक्रेन र स्कटल्याण्डका नागरिक समेत आएका थिए । कुण्डमा नुहाउनका लागि आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार ४०३, ०७९ ÷०८० मा १८ हजार २५८, आ.व. ०७८÷०७९ मा १० हजार ९२०, ०७७ ÷०७८ मा ७ हजार ६९१ बिरामीले स्नान गरेका थिए । कोभिड १९ को कारणले भएको लकडाउनको समयमा आ.व. ०७७÷०७८ मा साढे ७ हजार आएका थिए । कुण्डमा सेवाग्राहीको चाप अनुसार महिला, पुरुषको समूह बनाएर नुहाउने ब्यवस्था मिलाइन्छ ।

प्रकृतिको बरदानका रुपमा निस्कने तातोपानीमा नुहाउने तथा अवलोकन गर्नका लागि वर्षेनी ५० हजार भन्दा बढी मानिसहरु आउने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँको भनाई छ । आन्तरीक तथा बाह्य पर्यटकको आगमनलाई स्वास्थ्यसंग जोडेर हेरिएको उनको तर्क छ । स्वास्थ्यलाभका लागि आउने भए पनि यसले खासमा पर्यटन उद्योगलाई नै टेवा पुग्ने बानियाँले बताए ।

तातोपानी संकलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति ३५० शुल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाइन्छ । कुण्डमा स्नानका लागि आएकाहरुबाट प्रवेश शुल्क वापत गत आर्थिक वर्षमा ७१ लाख २१ हजार ४५०, आर्थिक वर्ष २०८०÷०८१ मा ६७ लाख ९१ हजार ५० र आ.व २०७९÷०८० मा ६३ लाख ९० हजार तीन सय रुपैयाँ तातोपानी कुण्डले संकलन गरेको थियो ।

तातोपानी कुण्ड म्याग्दी नदि किनारमा वेवारीसे अवस्थामा थियो । २०४२ साल देखि यसलाई व्यवस्थीत गर्दै लगिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीरेन्द्रमान शाक्यको भनाई छ । शाक्यका अनुसार २०६५ सालमा तातोपानी कुण्ड व्यवस्थापन समिति गठन भएसँगै भौतिक पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापन गर्दै अहिलेको अवस्थामा आइपुगेको हो ।

ग्यास्टीक, गानोगोला, लडेर लागेको चोट तथा अन्य बज्रेको, मर्केको ढाड दुखेको पनि तातोपानीले निको हुने विश्वास गरिन्छ । तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस भएको बिरामीहरु बताउँछन् । बागलुङको गलकोट नगरपालिका १ का भीमबहादुर काउचा पहिला आएर नुहाएर गएको र त्यसपछि झण्डै ५ वर्ष ढाड दुखेको ठिक भएको र अहिले पुनः दुख्न थालेपछि आएको सुनाए । उनले भने ‘विगतमा आएर ठिक भए पनि वास्ता गरिएन अनि अहिले पुनः बल्झीए पछि फेरी डुब्न आएँ ।’

नियमित रुपमा वर्षको एकपटक कम्तीमा पनि एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउनेहरुको संख्या धेरै छ । खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक बर्ष तातोपानी डुब्न आउने गर्दछन् । तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जानआउन लाग्ने समय र औषधी किन्दा हुने खर्चको बचत हुने डोल्पाको से फोक्सुण्डो गाउँपालिकाका टसी छेवाङको भनाई छ । पानीमा डुबेरै उपचार हुने र सहज र सजिलै निको भएको महशुष हुने भएकोले आफू यहाँ आएको उनले सुनाए ।

जलनका बिरामी पनि तातोपानीमा आउने गर्दछन् । गत वर्ष बागलुङबाट आगोले जलेका बिरामी तातोपानीमा आएर नियमित रुपमा झण्डै एक महिनासम्म नुहाए पछि निको भएर फर्केको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।

जोर्नीहरु दुख्ने तथा छाला सम्बन्धी समस्याका बिरामीहरु पनि तातोपानी नुहाएर निको भएर जाने गरेका छन् । घुडा दुख्ने तथा पेटको समस्या भएर उपचारका लागि आफू आएको नवलपुरको गैडाकोट–१३ का भीमबहादुर रसाईलीले सुनाए ।

हिजोआज दैनिक एक हजार दुई सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । ‘बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएको छ । असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने सिजनका रुपमा लिइन्छ । वर्षायामको ३ महिना भने मानिसको चाप अलि कम हुन्छ । म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ तातोपानी बजार इकाइका अध्यक्ष बलबहादुर श्रीषका अनुसार तातोपानी क्षेत्रमा बसोबास गर्नका लागि प्रति दिन १५ सय मानिस बस्ने क्षमता रहेको छ । सहज तरीकाले १५ सय बस्न सक्ने भए पनि २२ देखि २५ सय सम्म मानिसहरु तातोपानी क्षेत्रमा एक रातमा बस्न सक्छन् ।

यसवर्ष चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरुको संख्या केही कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । तातोपानी कुण्डमा स्नानका लागि आउने पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिने गरेको स्थानीय व्यवसायी सिता घलेको भनाई छ । साना ठूला होमस्टे तथा होटल गरी एक सय हाराहारी रहेको तातोपानीमा प्रतिदिन बास बसेको एक जनाको लागि तीन सय देखि सात सय रुपैंयाँ शुल्क होटल तथा रेष्टुरेन्ट व्यवसायीले तोकेका छन् । उक्त शुल्कमा पकाउने खाने भाँडा तथा ग्यास समेत व्यवसायीले दिने गरेका छन् । होटलमा खानेहरुका लागि पनि व्यवस्था भएको ताातोपानीमा एसी सहितका सुविधा सम्पन्न कोठामा बास बस्न चाहनेहरुका लागि पनि सोही अनुसारको व्यवस्था रहेको घले बताउँछिन ।

स्वास्थ्यलाभ सँगै पर्यटन प्रवद्र्धनका लागि स्थानीयका साथै स्थानीय तहले पनि ध्यान दिएको खण्डमा उक्त क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने देखिन्छ । नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको परीक्षण अनुसार ५३ डिग्री तापक्रम मापन गरिएको यहाँ नुहाउन आउँदा शारिरीक तथा मानसिक रुपमा पनि निको हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->