समयको अविराम गतिसँगै मानव समाज र यसका विचारहरू निरन्तर परिवर्तनशील रहन्छन् । दुई पुस्ताबीचको सोच, शैली र जीवनदृष्टिमा रहने भिन्नतालाई विश्वभर नै ‘पुस्तान्तर खाडल’ का रूपमा लिइन्छ । यस्तो खाडल सधैं देखिइ रहन्छ । यो एक स्वाभाविक प्रक्रिया हो । तर वर्तमान नेपाली समाजमा यो खाडल केवल वैचारिक भिन्नतामा मात्र सीमित छैन, बरु यो बिस्तारै ‘पुस्तागत घृणा’ र अविश्वासको गहिरो खाडलमा परिणत हुँदै गइरहेको छ । राजनीतिक अस्थिरता र त्यसबाट उत्पन्न निराशाको बाछिटा आज घर–घरका ज्येष्ठ नागरिकसम्म पुगेको देखिन्छ । केही जेष्ठ अगुवा मानिएका नागरिक र विदेशिएका युवाहरू बीचको सामाजिक संवादमा तीक्तता पोखिएको देखिन्छ । कहिलेकाहीँ त लाग्छ, हामी एउटै राष्ट्रका नागरिक होइनाँै, दुई विपरित ध्रुवका बासिन्दा हौँ ।
अहिलेको सामाजिक र राजनीतिक परिवेशलाई बुझ्न मनोविज्ञानका केही अवधारणाहरू निकै सान्दर्भिक छन् । मनोविज्ञानमा ‘पर – समूह सजातीयताको पूर्वाग्रह’ को एउटा अवधारणा छ । यसले भन्छ – जब कुनै एक समूहले अर्को समूहका केही व्यक्ति वा प्रतिनिधिहरूलाई गलत देख्छ, उसले सिङ्गो समूह नै त्यस्तै हो भन्ने निष्कर्ष निकाल्छ । अहिलेको युवा पुस्ताले केही पुराना राजनीतिक पात्रहरूको असफलता र भ्रष्टाचारलाई हेरेर सम्पूर्ण जेष्ठ पुस्ता नै असान्दर्भिक, प्रतिगामी र दोषी हो भन्ने भाष्य निर्माण गर्न खोज्दैछ । यो ‘बायस’ ले समाजमा रहेका विवेकी, निष्ठावान् र अनुभवी वृद्धहरूको योगदानलाई समेत अपमानको घेरामा पारेको छ ।
अर्कोतर्फ, ‘मनोवैज्ञानिक प्रक्षेपण’को प्रवृत्ति पनि उत्तिकै हाबी छ । यस अवधारणा अनुसार, जब व्यक्ति वा समूहले आफ्ना कमजोरी र असफलताहरू स्वीकार गर्न सक्दैन, तब उसले ती दोषहरू अरूमाथि थोपर्ने काम गर्छ । सत्ताच्युत हुनुको पीडा र निर्वाचनमा भोग्नुपरेको लज्जास्पद हारका बीच केही पुराना पात्रहरूले आफ्नो अक्षमता लुकाउन नयाँ पुस्तालाई ‘विदेशी जासुस’ वा ‘अनुभवहीन’को बिल्ला भिराइरहेका छन् । यो उनीहरूको भित्री कुण्ठाको ऐना मात्र हो । ‘यथा दृष्टि, तथा सृष्टि’ भनेझैँ, हामी अरूमा जे कुरा देख्छौँ र जसले हामीलाई बढी रिस उठाउँछ, त्यो कतै न कतै हाम्रै आफ्नै छायाँ वा कमजोरी हुन सक्छ ।
हाम्रो देशको तितो यथार्थ के हो भने रोजगारीको अभावले लाखौँ युवाहरू ५० डिग्रीको रापमा खाडीमा पसिना बगाइरहेका छन् । कोही युद्धको विभिषिका बीच आफ्नो टाउकामा बम बज्रने क्षण कुरिरहे झैँ त्रसित छन् । यस्तो हृदयविदारक अवस्थामा पनि उनीहरूले ‘डलरवादी’ वा ‘सीआईएका एजेन्ट’ जस्ता निकृष्ट आरोपहरू खेप्नुपरिरहेको छ । यस्ता शब्दले ती युवाहरूको आत्मसम्मानमा कति ठूलो चोट पु¥याएको होला, त्यसको लेखाजोखा कसले गर्ने ? सुकरातले त्यसै भनेका थिएनन् –‘बुढ्यौली आफैँमा आदरको पात्र होइन, बरु बुढ्यौलीसँगै आउने सद्गुण चाहिँ आदरको पात्र हो ।’ जब कुनै पुस्ताले आफ्नो नैतिक सान्दर्भिकता गुमाउँछ र न्यायको पक्षमा बोल्न छोड्छ, उसले आफ्नो सामाजिक पूँजी पनि गुमाउँदै जान्छ ।
हाम्रा पौराणिक ग्रन्थ र नीतिशास्त्रले पनि विवेकविनाको वृद्धत्वलाई कहिल्यै पूजनीय मानेका छैनन् । महाभारतको प्रसङ्ग यहाँ निकै सान्दर्भिक देखिन्छ । भीष्म पितामह परम ज्ञानी र शक्तिशाली भए पनि अन्यायको समयमा उनको ‘मौनता’ र धृतराष्ट्रको अन्धो ‘पुत्रमोह’ नै सिङ्गो कुरुवंश विनाशको कारण बन्यो । नीतिशास्त्रमा भनिएको छ : ‘न सा सभा यत्र न सन्ति वृद्धाः, न ते वृद्धा न वदनति धर्मम्’ अर्थात्, त्यो सभा सभा होइन जहाँ वृद्धहरू छैनन् र ती वृद्ध वृद्ध होइनन् जो धर्म र न्यायको पक्षमा बोल्दैनन् । उमेरले मात्र कोही आदरणीय हुँदैन, उसले बोल्ने सत्य र गर्ने न्यायले उसलाई आदरयोग्य बनाउँछ ।
यति भनिरहँदा युवा पुस्ताले पनि एउटा कुरा बिर्सनु हुँदैन – उनीहरू आज जुन आधुनिक संरचना, प्रविधि र लोकतान्त्रिक चेतनाको धरातलमा उभिएका छन्, त्यसको जग अघिल्लो पुस्ताकै संघर्ष र पसिनाले निर्माण गरेको हो । युवा पुस्ता यो चेतनामा आफैँ टुप्लुक्क आइपुगेको होइन । जेठो पुस्ता ‘जरो’ हो भने युवा पुस्ता ‘फल’ हो । जरो बिना फलको अस्तित्व हुँदैन र फल बिना जरोको औचित्य रहँदैन । महान् दार्शनिक इमानुएल कान्टले भनेझैँ, ‘अनुभव बिनाको सिद्धान्त अन्धो हुन्छ र सिद्धान्त बिनाको अनुभव लङ्गडो हुन्छ ।’ हाम्रो समाजलाई गति दिन युवाको जोस र वृद्धको होस दुवै उत्तिकै अपरिहार्य छन् ।
अहिलेको संसद र मन्त्रीमण्डलमा युवाहरूको बाहुल्य देखिनु सकारात्मक संकेत हो । तर पुरानो पुस्तालाई पूर्णतः निषेध गरेर वा नयाँलाई पूर्णतः आलोकाँचो मानेर देश अघि बढ्न सक्दैन । एक–अर्कालाई दोषारोपण गर्नुभन्दा यथार्थलाई स्वीकार गर्नु नै आजको युगधर्म हो । घरभित्रको पुरानो फोहर सफा गर्नैपर्छ तर सफा गर्ने नाममा घरको जग नै भत्काउनु बुद्धिमानी हुँदैन । ‘कुरा सुन्नु बुढाको, काम गर्नु ठिटाको’ भन्ने उखान बनाउनु पर्ने बेला आएको छ । देश साझा हो र यसको समृद्धिमा दुवै पुस्ताको भूमिका महत्वपूर्ण हुन्छ । नयाँ मन्त्रीमण्डल र नेतृत्वले सहिदको बलिदानलाई स्मरण गर्दै सन्तुलित रूपमा युगको माग पूरा गर्नेतर्फ पाइला चालुन् । पुस्तागत घृणाको तुँवालो हटेर सहकार्यको उज्यालो छाओस्, यही नै आजको साझा कामना हो । नयाँ संसद र मन्त्रीमण्डललाई शुभकामना !
(लेखक पाण्डे जेष्ठ नागरिक समाज नेपालका कार्यसमितिका सदस्य हुन् ।)




