शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरि प्रादेशिक अस्पतालमा मृगौला तथा पिसाब सम्बन्धि विशेषज्ञ सेवा शुरु

धौलागिरि प्रादेशिक अस्पतालमा मृगौला तथा पिसाब सम्बन्धि विशेषज्ञ सेवा शुरु


  • ढाेरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

बागलुङ/मृगौला रोगीका लागि डायलायसिस सेवा प्रवाह गरिहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु भएको छ ।

हरेक महिनाको अन्तिम शनिबार मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण घिमिरेले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कार्यरत प्रमुख कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ डा. विकास खत्रीले बिरामीलाई सेवा प्रदान गर्ने छन् । सेवा शुरु गरिएको पहिलो दिनमै २५ जना बिरामीहरूले प्रत्यक्ष लाभ लिएको डा. घिमिरेले बताए ।

तत्कालका लागि मासिक रुपमा गरिने विशेषज्ञ सेवाले बिरामीहरु लाभान्वित हुने डा. तिवारीको भनाई छ । ‘‘अस्पतालमा मृगौला तथा पिसाब सम्बन्धि सेवा नहुँदा धेरै बिरामीहरु पोखरा र काठमाडौंका अस्पतालमा धाउन बाध्य थिए, अस्पतालको सेवा शुरु गरेपछि अब त्यस्ता बिरामीले राहत पाउने छन्’’ डा. घिमिरेले भने, ‘‘सेवा दिँदै स्थायी चिकित्सकको व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं ।”

मृगौला रोग, पिसाबमा समस्या (रगत, प्रोटिन देखिने), उच्च रक्तचाप नियन्त्रणमा समस्या, शरीर सुन्निने, मधुमेहका कारण मृगौलामा असर परेका बिरामीहरू लगायतका सेवाग्राहीले विशेषज्ञ सेवाबाट लाभ लिन सक्ने डा. घिमिरेले बताए ।

यसअघि अस्पतालले हरेक महिनाको दोस्रो शनिबार मनरोग विशेषज्ञ डाक्टरद्वारा उपचार तथा परामर्श सेवा समेत नियमित रूपमा सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा तीनवर्षे नर्सिङ पढाइको तयारी पनि थालिएको छ । नर्सिङ पढाइका लागि प्रयोगशाला सहितको पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारले ७० लाख बजेट छुट्टाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->