बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भक्तपुरको पहिचान : जिब्रो छेड्ने जात्रा

भक्तपुरको पहिचान : जिब्रो छेड्ने जात्रा


  • माधव चापागाईं
  • बैशाख १ २०८३, मंगलबार

नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । जहाँ वर्षभरि अनौठा र रमाइला जात्रा, पर्व र महोत्सवहरू मनाइन्छन् । जुन निकै रोचक र अनौठा छन् । काठमाडौँ उपत्यकामा इन्द्रको सम्मानमा मनाइने इन्द्र जात्रामा जीवित देवी कुमारीको रथ यात्रा गरिन्छ । लिङ्गो उभ्याउने परम्परासङ्गै डरलाग्दो मुखुण्डो लगाएर राक्षसको पोसाकमा नाच्ने लाखे नाच पनि रोचक देखिन्छ । मृत आत्माको सम्झनामा गाईजस्तो सजिएर देखाइने गाइजात्रादेखि नेपालकै सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्राहुँदै कुकुर तिहार र घोडे जात्रासम्मका गतिविधिले मानवेत्तर प्राणीको सम्मान र माया उद्घाटन हुन्छ । त्यस्तै पशुबलिमा रमाउने गढिमाइ मेला लगायत अन्य सबै सबै जात्रा र मेलाहरु अनौठा र रोचक छन् । यस्तै जात्रामा पर्छ ‘जिब्रो छेड्ने जात्रा’ जो प्रत्येक नयाँ वर्षमा मनाइन्छ । हामी सबैको मनमा रमाइलो र डर दुवै उत्पन्न गराउने यो जात्रामा फलामको सियोले जिब्रो छेडिन्छ । जो सुन्दै आङ सिरिङ्ग हुन्छ ।

संसारमा जन्म लिएका प्राणी जगतमा मानव सर्वश्रेष्ठ प्राणी हो । मानिसलाई समाज, समुदाय र प्रकृति चाहिन्छ । त्यसरी नै धर्म, संस्कृति, रीतिरिवाज र संस्कार चाहिन्छ । हाम्रा इतिहास, चालचलन र परम्पराले हामीलाई जीवन ज्युन प्रेरित गर्छन् । यस्तै संस्कृतिमध्ये एक हो भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा, मानव सभ्यतालाई जीवन्त तुल्याउने यो जात्रा अनौठो छ । बिस्का जात्रासँग सम्बन्धित एक अद्वितीय परिचय बोकेको यो जात्राले नेपालको सांस्कृतिक विविधता र धार्मिक विश्वास दर्शाउँछ । यस जात्रामा जनताले सुख पाउन, कसैलाई रोगब्याधी नलागोस्, बालीनाली सप्रियोस्, मौसमी प्रणाली राम्रो बनोस् भन्ने प्रार्थना गर्दै देवताको पुजा गरिन्छ ।

जात्राले नेवार समुदायको मौलिक परम्पराको संरक्षण गर्नुका साथै परम्परागत विश्वासलाई जोगाउने, देवताप्रति श्रद्धा र समर्पण देखाउने महत्व राख्छ । नेपाली समाजमा साहस र श्रद्धाको प्रतीकका रूपमा रहेको यो जात्राले संस्कृतिको पुस्तान्तरण र हस्तान्तरणको मान्यता राख्छ । भक्तपुरको बोडे अहिले जिब्रो छेड्ने जात्राको रौनकताले भरिएको छ । हरेक वर्ष चैत्र मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो ठड्याएपछि वैशाख २ गतेसम्म चल्ने यो जात्रा देशकै साँस्कृतिक पहिचान हो । जात्रामा बोडेबासीसँगै आन्तरिक र बाह्य पर्यटक रमाउँछन् ।

कुनै समय बोडेस्थित धर्मपुरका मानिसहरूले एक रात डाँडामा जिब्रो निकालेको मानिस आगो बोकेर हिंडेको देखे । मानिसहरू त्यसको पिछा गर्दै गए । त्यो मानिस महालक्ष्मी मन्दिरमा पुगेर विलिन भयो । यो क्रम निरन्तर चल्यो । गाउँलेहरु उत्साहित भएर हरेक रात त्यो मानिसलाई हेर्दै पछ्याउँदै मन्दिर परिक्रमा गर्दै गए । त्यो मानिस कहिले महालक्ष्मी त कहिले कालिकामाई मन्दिरनेर अलप हुन्थ्यो । मन्दिरभित्र गएर विलिन भएको र मन्दिरमा मूर्ति मात्रै रहेकोेले मानिसहरू भैरव देवता नै हरेक दिन जिब्रो छेडेर यहाँ आउने गरेको भनेर बुझे । उनीहरु भगवानको सान्निद्यमा त्यो कार्यको वास्तविकता बुझ्न पुग्दा भगवानले तिमीहरु पनि निरन्तर यहिं काममा रहनु भनी बताएको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थालेको किम्बदन्ती यहाँ छ । जसबाट खेतीपातीसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरिन्छ । त्यसैले अहिले पनि जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडेपछि महालक्ष्मी मन्दिरको माटो घाउमा लगाउँदा घाउ निको हुने जनविश्वास रहेको छ । यसर्थ कालान्तरमा मानिसहरूले वर्षमा एक दिन मात्रै भएपनि भैरवले जस्तै जिब्रो छेडेर मन्दिर परिक्रमा गर्ने रीति बसालेको बुझिन्छ ।

त्यस्तै कुनै समय धर्मपुरको नीलबाराही क्षेत्रमा बस्ने भूत, प्रेत र ख्याकहरुले मान्छेको रुप धारण गरी मानवीय दैनिकीमा समाहित हुन्थ्ये । जनतालाई खेतीपातीमा सघाउने र भोजभतेरमा समावेश हुने ती भूतहरुले वनदेवी रिसाएका बेला भने मानिसहरूलाई तर्साउने र दुःख दिन्थे । त्यसैले धर्मपुरबाट मानिसहरु बोडेमा सरे । बसाइँ सरे पनि ख्याकले दुःख दिन छाडेनन् । त्यसपछि मानिसहरू तान्त्रिक उपचारमा लागे । तत्कालीन देवपतनका भिमदत्त नाम गरेका तान्त्रिकले तन्त्र विद्याअनुसार गाउँलाई बाँधेर थापेको पासोमा ख्याक परे । रिसाएका गाउँलेहरुले ख्याकलाई सवक सिकाउने निचोड निकालेर ख्याकको कपाल तान्ने, लुगा फुकालिदिने, खुट्टा तान्ने र जिब्रो छेड्ने काम गरे । ख्याकले दुःख सहन नसकेपछि गाउँलेहरु समक्ष आत्मसमर्पण गरेर अब आइन्दा मानिसलाई दुख नदिने भन्दै सात वर्षसम्म आफ्नो जिब्रो छेड्न आउने बिन्ती बिसायो । ख्याकको उक्त स्विकारोक्ती पछि महालक्ष्मी मन्दिरमा लगेर जिब्रो छेडेको सियो झिकिदिएका थिए । मानिसको यो कार्य निलबाराहीलाई मन नपरेकोले गाउँलेलाई दुःख भइरह्यो । तान्त्रिकको सपनामा पनि ख्याकलाई दुःख नदिनु देश र जनताको हितको लागि अरु मानिसलाई जिब्रो छेड्न लगाउनु भन्ने आज्ञा भयो । त्यसैले क्षमापूजा गर्नुपर्ने भयो, जुन जिब्रो छेड्ने अघिल्लो दिन अहिलेसम्म पनि क्षमा पुजा गरिन्छ । त्यसपछि सात वर्षसम्म ख्याकले निरन्तर जिब्रो छेडायो । आठौँ वर्षबाट स्थानीयले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएको किम्बदन्ती पाइन्छ । यसरी वि. सं. को नयाँ वर्ष सुरु हुनुपुर्व सुरुभएको जात्रा तान्त्रिक र दैविक शक्तिमा आधारित रहेको बुझिन्छ ।

सम्झदै आङ सिरिङ्ग हुने डाक्टरले सानो सुई लगाउँदा त हामीलाई कति दुख्छ । हामी आत्तिन्छौं । आँखा बन्द गरेर अप्रत्याशित व्यवहार देखाउँछौं भने यत्तिकै जिब्रो छेडाउँदा कति दुख्छ होला ? त्यसमाथि जिब्रो छेडाउने प्रथाको सुरुवाती समय निश्चित नभए पनि अहिलेसम्म १३ जनाले जिब्रो छेडाएको इतिहास भेटिन्छ । आजसम्म कै अधिक एउटै व्यक्तिले ३२ पटकसम्म जिब्रो छेडाएको पाइन्छ । पछिल्ला १५ वर्षमा जुजुभाइ र बुद्धकृष्ण दाजुभाइले जिब्रो छेडाउदै आएका छन् । यो वर्ष पनि बुद्धकृष्णले जिब्रो छेडाउँदै छन् ।

भगवानको भक्तिभाव र मानव जातिको हितका लागि जिब्रो छेड्ने व्यक्तिलाई गाह्रो भए पनि अन्य उपस्थित जनहरु भने अनौठो मान्छन् । आफ्नो ठाउँको जात्रालाई लोप हुनबाट जोगाउन जिब्रो छेड्ने परम्पराले निरन्तरता पाउँदै आएको छ । परम्परा अनुसार भगवानलाई रुपैयाँ (दाम) चढाएर सङ्कल्प गरिन्छ । जात्राको दुई दिनअघि जंगलबाट ल्याइएका काठ बालेर रमाइलो गर्दै खरानीको टीका लगाइन्छ । त्यो टीका लगाएसँगै जिब्रो छेडाउने व्यक्तिको ब्रत सुरु हुन्छ । नीति अनुसार चैत्र मसान्तकै दिनदेखि जिब्रो छेडाउने व्यक्ति शुद्ध रहन दाह्रीजुङ्गा खौरेर हात खुट्टाका नङ काट्नु पर्छ । जुठो, सुतकको ख्याल गर्नुपर्छ । बेलुका धिमे बजाउँदै गणेश देवता ल्याउने र कुमारी रथ यात्रा सुरु गरिन्छ । ‘कर्मी नाइके’ ले जिब्रो छेडाउने व्यक्तिलाई धैर्यधारणको आशीर्वाद दिन्छन् । उक्त व्यक्ति महाद्वीप बोकेर टोल टोल डुल्नु पर्छ ।

निलबाराहीको जंगलबाट ल्याइएको बत्तिस हात (४८ फिट) लामो लिङ्गो ठड्याएर सुरू हुने यो जात्रामा प्रथम दिन विश्वध्वजा लिङ्गो ठडाउने गरिन्छ । यसरी ठडाइएको लिङ्गोमाथि रुखको प्रतीकको रूपमा पातहरू राखिन्छ भने फेदमा तान्त्रिक विधिद्वारा पुजा र होम गरिन्छ । सोही दिन कुखुरा र भेडाको बली दिइ पूजा गरिन्छ । सूर्य मेष राशीमा प्रवेश गर्ने पावन समयमा गरिने यो पूजा निकै महत्वपूर्ण मानिन्छ ।

यसरी लिङ्गोको पूजा गर्दा सम्पूर्ण दुःख नाश भइ राज्यमा शान्ति, सुव्यवस्था र अमनचयन कायम हुने जनविश्वास रहेको छ । त्यसपश्चात् महालक्ष्मीको पूजाअर्चना गरी बली दिएर सोही दिन एक महिना अगाडिबाट तेलमा डुबाइ राखेको एक फिट लामो सियो जात्रा गरिन्छ । अन्ततः कुमारी पूजन पश्चात् पाँचौ गणेशको पूर्वपट्टी व्रतालुको जिब्रो छेडिन्छ । कुमारी मन्दिरबाट सुरु हुने यो जात्रामा सम्पूर्ण बोडेवासीहरू उपस्थित हुन्छन् । यो रितपुर्वक कर्म नभए जिब्रो छेड्दा रगत आउँछ । जसलाई अशुभ मानिन्छ । किनकी जिब्रो छेड्दा रगत आए बिघ्न बाधा आइपर्छ भन्ने जनविश्वास छ ।

यसरी नयाँ वर्षको अवसरमा मनाइने यो जात्राले मानिसले जस्तोसुकै पीडा पनि सहन सक्नुपर्दछ । अथवा पीडालाई पनि आफूअनुकूल प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । यो जात्राले धार्मिक तथा आध्यात्मिक शुद्धिकरणको बाटो देखाउदै पापबाट मुक्ति गराउनुका साथै आत्मसंयम र सहनशीलताको प्रदर्शन गर्दछ । देवताको कृपा प्राप्ति, शारीरिक र मानसिक शुद्धताको उद्देश्य राख्छ । परन्तु सबैमा जिब्रो छेडाउने मान्छे को होला भन्ने चिन्ता हरेक वर्ष रहन्छ । यो वर्ष बुद्धकृष्ण जिब्रो छेडाउन तयार भए । यद्यपि आउने वर्षहरुमा को तयार होलान् ? नयाँ पुस्ता निरन्तरता दिन तयार होलान् ? कि नहोलान् ? यो प्रश्न भने सर्वत्र छ । देश र जनताको लागि राम्रो, सुख शान्ति होस्, रोगब्याधी नलागोस् भनेर जिब्रो छेड्ने परम्परा राष्ट्र हितमा आधारित भएपनि सबै क्षेत्र र समुदायमा यो परम्परा नौलो बनेको छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वको जात्रा हुँदाहुँदै पनि सम्पूर्ण नेपालीमाझ जात्राले पहिचान नपाउनु दुःखद् छ । जिब्रो छेडाउने व्यक्तिको अभावमा यो जात्रा संकटमा पर्दैछ । तसर्थ हाम्रा अनुपम संस्कृतिहरुको जगेर्ना, संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->