शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कहिले बन्छ बागलुङ नगर अस्पताल ?

कहिले बन्छ बागलुङ नगर अस्पताल ?

ठेक्कामा लगाउन तोकेको समय सकिएको पनि तीन वर्ष पुग्न लागिसकेको यो अस्पताल कहिले बनिसक्छ भन्ने उत्तर यतिबेला कसैसँग छैन । शिलान्यास २०७६ मा भएपनि २०७८ साल असारमा ठेकेदारसँग सम्झौता गरेर २०८० को असार २० गते सम्पन्न गर्ने गरी थालिएको काम अभै अलपत्र परेको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

बागलुङ/२०७६ पछि हरेक पालिकामा अस्पताल बनाउने सरकारी नीति र कार्यक्रम आयो । त्यसपछि नगरपालिका र गाउँपालिकाहरुले धमाधम काम गर्ने चासो देखाए ।

उक्त चासो स्वरुप काम थालेका केही गाउँपालिकाले नगर अस्पताल बनाएर संचालनमा ल्याइसकेका छन् । तर, सदरमुकामको बागलुङ नगरपालिकाले बनाउने नगर अस्पताल नै अलपत्र छ । १५ शैयाको अस्पताल बनाउने लक्ष्यले काम थालेपनि ६ वर्षसम्म अलपत्र छ ।

ठेक्कामा लगाउन तोकेको समय सकिएको पनि तीन वर्ष पुग्न लागिसकेको यो अस्पताल कहिले बनिसक्छ भन्ने उत्तर यतिबेला कसैसँग छैन । शिलान्यास २०७६ मा भएपनि २०७८ साल असारमा ठेकेदारसँग सम्झौता गरेर २०८० को असार २० गते सम्पन्न गर्ने गरी थालिएको काम अभै अलपत्र परेको हो । समयमा काम सकिएको भए बागलुङ नगर अस्पतालमा उपचार सेवा पनि सहज भैसक्थ्यो । तर अहिलेसम्म यो अस्पताल भवन नै अलपत्र छ । कहिले बनिसक्छ र सेवा संचलनमा आउने हो भन्ने यकिन छैन ।

२०७६ मा निर्णय भइ प्रक्रिया थाल्दा ठेक्का लाग्दैमा २०७८ लागेको थियो । बागलुङ नगरपालिका–१३ को पैयुँपाटामा निर्माणाधिन भवनकालागि ठेकेदारले पटक–पटक म्याद थपेर पनि काम नगरेपछि अलपत्र परेको वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

‘महालक्ष्मी जुगल संयुक्त निर्माण कम्पनी’ले दुइपटक म्याद थपेर पनि तोकेको समय गत असारमै सकिएको हो । तेस्रो पटक म्याद थपेर आगामी असार मसान्त सम्मको समय लिएपनि अहिलेसम्म यो अस्पतालको ५५ प्रतिशत मात्रै काम सकिएको इन्जिनियर सोबिन घर्तीले बताए । ‘हामीले पटक पटक ताकेता गरियो, ठेकेदार पक्ष आएर कामै गर्दैनन्,’ घर्तीले भने, ‘आएर काम गरेझै भएपछि फेरी फर्कन्छन् ।’ दुई वर्षअघि नै ५० प्रतिशत सकिएको काम २४ महिना बित्दा ५ प्रतिशत मात्रै प्रगति देखिएको उनले बताए ।

बागलुङ नगरपालिकाले १२ करोड ८७ लाखमा २०७८ असारमा यो भवनको ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म ४ करोड ५३ लाख भुक्तानी लगेको लेखा अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, यो १५ शैयाको अस्पताल हो । यो अस्पताल निर्माण सम्पन्न भएमा एक जना एमजिडिपी डाक्टर, ३ जना मेडिकल अफिसर, ४ स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर यो क्षेत्रको सेवामा खटाउन सकिन्छ । ‘हामीसँग स्विकृत दरबन्दी भएपनि भवन नबनेपछि माग गर्न सकिएको छैन’ खनालले भने, ‘नगर अस्पताल बनिसकेमा नगरबासीले आफ्नै घर छेवैमा उपचार सेवा पाउनेछन् ।’

यो अस्पताल सम्पन्न भएमा पैयुँपाटा, नारायणस्थान, अमलाचौर, भकुण्डेसहित जैमिनी नगरपालिकाका कतिपय क्षेत्रका बासिन्दाले पनि उपचार सेवा नजिकमा पाउनेछन् । तोकेको दरबन्दीसहित यो अस्पताल संचालनमा आएमा यहाँ सामान्य शल्यक्रिया सहितको सेवा संचालन हुने खनालले बताए ।

नगर अस्पताल आधारभूत तहको भएकोले निशुल्क सेवा धेरै हुन्छ । धौलागिरि अस्पताल विशेषज्ञ सेवाको भएकोले आर्थिक रुपमा महंगो पर्ने स्थानीयको भनाइ छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसी र वडा अध्यक्ष नारायण शर्मा पौडेलसहित नगरका पदाधिकारीले धेरै पटक अस्पताल सम्पन्न गर्न पहल गरिरहेका छन् ।

ठेकेदार कम्पनीका प्रमुख नरेश ओझाले बजेट अभावले काम गर्न नसकेको दाबी गरे । ‘पहिलो चरणमा बजेट अभाव भयो, त्यसैले कामको रफ्तार बढाउन सकिएन, त्यसको असर अहिलेसम्म परेको हो,’ ओझाले भने, ‘नगरबाट बजेट भुक्तानी हुने अवस्था भए काम सकिन्छ ।’ संघिय बजेटको साझेदारीमा नगरपालिकाले संचालन गरेको आयोजनामा भुक्तानी समस्या परेको उनको भनाइ छ । उनले कामदार बढाएर काम सक्ने दाबी गर्दै आएका छन् ।

वडा अध्यक्ष शर्माका अनुसार, ठेकेदारले कहिले दशैं तिहार, कहिले चुनाव, कहिले वर्षात भन्दै पटक–पटक झुलाएका हुन् । ओझाले निर्वाचनले काम गर्न नसकेको भन्दै फेरी कामदार पठाउने दाबी समेत गरेका छन् ।

नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने काम सकेमा भुक्तानीमा समस्या नपर्ने बताए । चार पाँच वर्षदेखि काम अलपत्र छाडेको अवस्थामा बजेटले हो भन्ने कुरा नमिल्ने उनको भनाइ छ । नगर उपप्रमुख राजु खड्काले अघिल्लो बर्षकै बजेटमा भुक्तानी दिने योजना बनाएपनि ठेकेदारले काम नगरेको बताए । ‘हामीलाई बजेटको समस्या छैन, काम गरेको भुक्तानी दिन सजिलै सकिन्छ,’ खड्काले भने, ‘भएको बजेट भुक्तानी दिन नपाएर फ्रिज भएको छ ।’ नगर गौरवको आयोजना कार्यकाल सकिंदा पनि पूरा गर्न नसकिनेमा प्रश्न उठेको उनले बताए ।

हाल तत्कालिन पैयुँपाटा स्वास्थ्य चौकीमा नगर अस्पतालको बोर्ड राखेर काम गरिएको छ । तर भवन अभाव, उपकरण लगायत राख्न नमिल्ने कारणले दरबन्दी दिन नसकिएको, सेवा सोचेझैँ प्रभावकारी नभएको र सेवाग्राहीलाई जवाफ दिन नसकेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->