पोखरा/१० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ ।
आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको छ ।
पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हिमश्री फुड्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश केसी र १० औं पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको हो ।
सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमा समेत सहभागीता जनाउदै आएको हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमा समेत साथ र सहयोग गर्दै आइरहदा १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेकोमा हिमश्री फुड्का निर्देशक प्रकाश केसी प्रति आभार प्रकट गरे ।
हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महाप्रबन्धक शिव गिरीले बताए ।
विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन ।





