हाम्रो समाजले परापूर्व कालदेखि नै अन्याय, अत्याचार र हिंसा जन्य क्रियाकलापको सामना गरिरहेको छ । पहिलेका मानिसहरू पनि निरंकुश, तानाशाही र आसुरी प्रवृत्तिहरुका अगाडि पीडित बन्थे । जुन प्रवृत्तिका विरुद्धमा जो–कोहले आवाज उठाउन असमर्थ हुन्थे । जसले आवाज उठाउँथे, उनीहरुलाई जनताले साथ दिएर महान बनाउँथे ।
मानिस सत्ता र शक्तिको उन्मादले अहंकारी बन्छ । जुन अहंकारले सत्य, धर्म, प्रेम र सदाचार जस्ता गुणहरूलाई बिर्साइदिन्छ । त्यहीँबाट मानिस विषय बासना र स्वार्थले अन्धो बन्छ । हाम्रो समाजमा यस्ता कुसंस्कार र कुप्रवृत्तिका वैपरित्यमा भगवानका विभिन्न स्वरुपले सत्य सन्देश दिएको पाइन्छ ।
मानिसले अवलम्बन गर्ने धर्म, सम्प्रदाय वा परम्परा जुनसुकै होउन् । ती सबैको मुख्य ध्येय मानिसलाई जीवनका मूल्यहरू सिकाउनु हो । मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पुरा गर्नुपर्छ । धर्म र कर्तव्य पालना बिना सफलता पाइदैन । सत्य बोल्नु, अरूलाई धोका नदिनु र न्यायपूर्ण जीवन बिताउनु जस्ता आदर्श वाक्यले सत्य र इमानदारीको मार्ग प्रशस्त गरेको पाइन्छ । प्राणी जगतमा सर्वश्रेष्ठ मानव जातिले अन्य प्राणीमा करुणा, दया र माया प्रदान गर्नुपर्छ । मानव जीवन कर्म अनुसारको फलमा विश्वास गरेर विभिन्न जाति, धर्म र संस्कृतिबीच सहकार्य र सहअस्तित्वमा आधारित छ । धर्मले प्रकृतिलाई आधार मानेर जीवन ज्युन प्रेरणा दिन्छ । यस्तै सत्य, धर्म, करुणा र सत् व्यवहारद्वारा जीवन जिउनु पर्छ भन्ने ज्ञाता हुन परशुराम, बाह्य जगतमा क्रोधी स्वभावका उनी आन्तरिक रुपमा ज्ञानी र दुर्दर्शी थिए । यसर्थ परशुरामलाई कुनै धर्म विशेषको आदर्श नभएर सम्पूर्ण मानव जातिका आदर्शवान् व्यक्तित्व मान्नु न्यायोचित हुन्छ ।
दया र क्रोधको सम्मिश्रणबाट जीवन व्यतीत गर्ने परशुराम अन्याय, अधर्म र अत्याचार सहन सक्दैनथे । जब क्षत्रियहरूले ब्राह्मणहरूलाई पीडा दिए । तब क्रोधित भएर २१ पटकसम्म यो धरातललाई क्षत्रियविहीन बनाएका महायोद्धाका रूपमा परशुरामलाई चिनिन्छ । उनी अत्यन्त क्रोधी थिए । धर्म र न्यायको रक्षाका लागि सधैं दत्तचित्त हुने उनलाई निष्ठा र प्रेमको भावनाले सामाजिक बनाएको थियो । सादा जीवन उच्च विचारका धनी उनी भौतिक सुखभन्दा आध्यात्मिक शक्तिलाई महान ठान्थे । मानिसको निर्णय दृढ प्रतिज्ञामा आधारित हुनुपर्ने भाव उनको थियो । शस्त्रास्त्र विद्या प्रदान गरेर उत्कृष्ट गुरुको संज्ञा पाएका उनी तत्कालीन समयका महान योद्धा हुन् । तथापि स्वभाविक रूपमा क्रोधी भए पनि योग्य, सत् चरित्र र धर्मात्मा व्यक्तिप्रति दयालु र सहयोगी भावना व्यक्त गर्ने भएकोले क्रोधी तर न्यायप्रिय, उग्र तर तपस्वी व्यक्तित्वका रूपमा उनलाई लिइन्छ । यसर्थ उनको क्रोध स्वार्थमा निहित नभइ अधर्मका विरुद्ध थियो ।
हिन्दू परम्परामा परशुरामको नाम धेरै पहिलेदेखि नै चर्चामा रहेकोे नाम हो । पौराणिक कथनअनुसार कल्पको अन्तसम्म नै पृथ्वीमा तपस्यारत रहने परशुराम अहिले पनि महेन्द्र पर्वतमा तपस्यारत रहेको बताइन्छ । उनी रामका समयमा पनि थिए भने कृष्णका समयमा पनि थिए । कलिको अन्त्यमा फेरि आउनेछन् । परशुरामले तत्कालीन समयमा देखिएका सामाजिक विकृति, विसङ्गती, अन्याय, अत्याचार र दुराचारको विपक्षमा उभिएर राजा तथा क्षत्रियहरूको संहार गरेको इतिहास छ । त्रेता युगमा धर्म स्थापनार्थ भगवान् विष्णुले यो अवतार लिनुभएको हो । भृगुवंशीय ऋषि जमदग्नि र रेणुकाको कोखबाट वैशाख शुक्लपक्ष तृतीयाको सन्ध्याकालमा जन्मिएका परशुरामलाई हरेक वर्ष आजको दिनमा विशेष सम्झिने गरिन्छ ।
भगवान श्रीकृष्णलाई सुदर्शन चक्र प्रदान गर्ने, कौरव सभामा कृष्णको समर्थन गर्ने, भीष्म, द्रोणाचार्य तथा कर्णलाई गुरुत्वको प्रतिच्छाया दिने, असत्य बोलेर आफूसँग शिक्षा लिएका कर्णलाई सारा विद्या बिर्सने श्राप दिने व्यक्ति परशुराम नै थिए । उनले पिता जमदग्निको आज्ञानुसार माताको हत्यासम्म गर्ने पुरुषार्थ देखाएर सत्यको सन्देश दिएका थिए । आफ्नै माता मार्ने आदेशलाई समेत शिरोपण गर्ने परशुरामले पिताले गराएको काम नगर्ने पुत्र अधम हुन्छ । पिताले लगाएको काम सरासर गर्ने पुत्र मध्यम र पिताको मनोभावना बुझेर निर्णय लिने पुत्र उत्तम हुन्छ । भन्ने शास्त्र वचनलाई सिद्ध गर्दै परशुराम उत्तम छोरा मानिएका छन् । अन्तमा पिताले इच्छित वरदान माग्न आग्रह गर्दा पिताको तपोबल र सामथ्र्यसँग परिचित उनले माताको पुनर्जीवनका साथमा माताले उक्त घटना बिर्सने वरदान मागेका थिए । ऋषि जमदग्निले परशुरामको आज्ञाकारिता र चतुर्याइँबाट प्रसन्न भई इच्छाएको वर प्रदान गर्नुभयो । जमदग्निकै वरदान अनुरुप परशुराम चिरञ्जीवी भएको बुझिन्छ ।
कुनै समय आफ्ना गुरु शिवको सान्निध्यताका लागि परशुराम कैलाश पर्वत पुगेका थिए । शिव भेटमा गणेश बाधक बन्दा उनीहरूबीच युद्ध हुन्छ । परशुरामले गणेशमाथि बन्चरो प्रहार गर्न बाध्य हुन्छन् । फलस्वरूप गणेशको एउटा दा¥हा काटिन्छ र उसै समयदेखि गणेशलाई एकदन्त भन्न थालिएको किम्बदन्ती पनि छ । त्रेता युगमा मिथिलामा भएको स्वयंवर समारोहमा पराक्रमी राजा र राजकुमारहरुको अगाडि भगवान् श्रीरामचन्द्रले पिनाक धनु टुक्र्याएपछी रामसिताको विवाहसङ्गै सर्वत्र श्रीरामको चर्चा चुलियो । यता पिनाक धनु टुक्रिएको खबरले परशुरामले आफ्ना गुरु आराध्यदेव महादेवको अपमान भएको महशुस गरी मिथिला पुग्छन् । क्रोधले युक्त परशुरामलाई मर्यादा पुरुषोत्तम रामले शान्त पारी दिव्य दृष्टि प्रदान गर्नुहुन्छ । परशुरामले राम अवतार हुन् कि होइनन् भन्ने जाँच गर्छन् जब विष्णुका अवतार हुन् भन्ने प्रष्ट हुन्छ । तब रामको अभिनन्दन गरेर फर्किन्छन् । परशुरामका जीवनसँग जोडिएका यस्ता अनेकौँ घटना र सन्दर्भहरु महत्वपूर्ण छन् ।
परशुरामलाई भगवानका मुख्य दश अवतारमध्ये छैटौं अवतार मानिन्छ । पुराणअनुसार भगवान् शिवजीका परं भक्त तथा जमदग्नी पुत्रको नाम राम थियो । भगवान् शिवजीबाट शिक्षा र वरदान पाएका उनले एक अमोघ अस्त्र परशु (बन्चरो) प्राप्त गरे पश्चात उनको नाम परशुराम भएको हो । भगवान् शिवले उनलाई आफ्नो पिनाक धनु पनि प्रदान गर्नुभएको थियो । ब्राह्मण कुलमा ऋषिपुत्रका रूपमा जन्म भए पनि उनी क्षत्रीय गुणले युक्त थिए ।
भगवान् दत्तात्रेयको आशीर्वाद र लक्ष्मीनारायणका कृपाले सहस्रबाहु, दिग्विजयी र अतुल वैभवशाली भएका कार्तविर्यको अभिमानले उद्दण्ड रुप लिंदा विकृत बनेका उनीसङ्गै एक्काईस कुल क्षत्रियहरुको अन्त्य गर्ने परशुराम आज पनि उत्तिकै स्मरणीय छन् । ब्राह्मणको वंशविस्तार र भगवत्कृपालाई बिर्सि भोगविलास एवं स्वार्थमा लिन भएका क्षत्रियहरुको पराजय नै तत्कालीन समयको माग थियो । गुरुकुल, ऋषिकुल, ब्राह्मण समाज र साधुसन्तहरू माथी निरन्तर आक्रमण गर्ने दुष्टात्माहरुको अन्त्य नै भयाक्रान्त ब्राह्मणहरुको उद्दार र धर्मको नाश गर्नेहरुको हार थियो । अत्याचारी क्षत्रियहरूको अभिमान, घमण्ड र अहङ्कारलाई परशुरामले निस्तेज पारेका थिए । परशुरामको भूभार हरण गर्ने संकल्प सिद्ध भई अन्ततः अन्याय, अत्याचार, शोषण, दमन रहित समाज निर्माणको जग बसेको थियो ।
धर्मका संरक्षक राजाहरू नै अन्याय, अत्याचार र लुटपाट गर्न उद्यत भएपछि क्रोधीत बनेका परशुरामलाई रोक्न र क्षत्रियको अस्तित्व बचाउन कश्यप ऋषिको महत्वपूर्ण भूमिका छ ।
उनले अन्तिम समयमा परशुरामलाई महेन्द्रपर्वतमा निवास गर्नु भनी दिएको वचन मुताविक आज पनि परशुराम अवतार भगवान महेन्द्र पर्वतमा तपस्यारत रहेको विश्वास गरिन्छ । जो कलियुगको अन्त्यमा प्रकट हुने किवदन्ती रहेको छ । परशुराम भगवानलाई कल्पान्त अमर र अष्टचिरञ्जीवीमध्ये एक प्रतिष्ठित चिरञ्जीवीको स्वरुपमा पुजा गरिन्छ ।
समग्र मानवजातिका लागि भगवानले अवतार लिनुभएका दिवस परम कल्याणदायी मानिन्छन् । यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यस्ता क्षणहरूलाई विशेष पर्व एवं उत्सवका रूपमा मनाइन्छ । आजको दिन भगवान परशुरामको जन्मोत्सव भएको हुनाले परशुराम जयन्तीका नामले परिचित छ । यो पावन दिनमा प्रातः स्नान, सङ्कल्प, जप, ध्यान, अघ्र्यसहित भगवानको पुजन गरी दिनभरि मौनव्रत बस्ने र सन्ध्याकालमा पुनः शरीर शुद्धिका साथ परशुराम भगवानको पूजा गर्ने विधान छ । परशुराम जयन्तीको साँझमा पनि ‘जमदग्निसुतो वीर क्षत्रियान्तकर प्रभो । गृहाणाघ्र्यं मया दत्तं कृपया परमेश्वर ।।’ भनेर भगवान् परशुरामलाई अघ्र्य दिनुपर्ने विधान छ । यसरी अघ्र्य दिएपछि रातभरि राममन्त्र जप गरी व्रतको पारायण गरिन्छ ।




