बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाल आदिवासी ज्ञान सम्मेलनमा सहभागिताको संस्मरण

नेपाल आदिवासी ज्ञान सम्मेलनमा सहभागिताको संस्मरण


  • याम बहादुर थापा मगर
  • बैशाख १० २०८३, बिहिबार

आलेखको आरम्भ
दैनिकीमा फुर्सदको समयमा सामाजिक सञ्जालमा मोबाइलबाट आँखा लगाउँदै थिए । आफु अनुकुलको भन्दा पनि जथाभावी तरिकाले जानकारी सामाजिक सञ्जालबाट लिदैं गर्दा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरले अनुसन्धानमुलक लेख माग गरेको अंग्रेजी भाषाको सुचना म्याद समाप्त भैसकेपछि जानकारी हात पर्यो । मेरो रुचि र चाहनाको विषय अनुकुल भएकोले म्याद समाप्त भैसकेको सुचनामा दिएको सम्पर्क मोबाइलमा फोन गरें । फोनपछि अनुसन्धान लेखको सार पठाउने समय म्याद थपेको जानकारी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा, ललितपुरमा कार्यरत बागलुङकी सरिना गुुरुङमार्फत जानकारी पाएपछि खुशी हुँदै बागलुङ भकुण्डेका मगरहरुले गर्ने गाउँ पुजा अर्थात् प्रकृतिप्रेमी पुजाको सांस्कृतिक अध्ययनका बारेमा विषयवस्तु बनाएर लेखेको सार तयार पारी पठाए । अनुसन्धानको सार लेख स्वीकृत भएको इमेल आयो । फोनबाट जानकारी बारम्बार लिंदै कार्यक्रमबारे अपडेट हुँदै गरे । लेखको सारको पावर प्वाइन्ट बनाइ पठाउन अनुरोध भएपछि पुनः सो कार्यपत्रको पावर प्वाइन्ट तयार गरेर पठाएपछि रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सवमा मिति २०८२ साल माघ २५ देखि २७ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा सहभागी हुने निश्चित भयो । सङगोष्ठी वा सम्मेलनमा सहभागी हुने चाहना र रुचि मलाई पछिल्लो समयमा अधिक मात्रामा बढेको छ । सायद अनुसन्धानमुलक सम्मेलनहरु काठमाडौं बाहेक देशका अन्य मोफसलका शहरमा हुँदैन कि जस्तो मलाई लागेको छ । म त झन् बागलुङ भकुण्डेमा बस्ने भएकोले सो को प्रभाव र प्रयोगबाट अलिकति टाढा नै भएको महसुस भएको छ । अनुसन्धानमुलक महोत्सव प्रत्येक जिल्ला वा प्रदेश स्तरमा नियमित हुनुपर्ने आवश्यकता महशुस मलाई आजकल हुन थालेकोे छ ।

ज्ञान सम्मलेनमा सहभागीता र महत्व
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीमा ‘ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मुल नाराका साथमा हुन गइरहेको ज्ञान सम्मेलन/महोत्सवमा नेपालका आदिवासी जनजाति समुदायमा निहित परम्परागत ज्ञान, सीप र जीवनदर्शन राष्ट्रिय सांस्कृतिक सम्पदा मात्र नभई दिगो विकास, वातावरणीय संरक्षण तथा सामाजिक समावेशिताका महत्वपुर्ण आधार हुन् । तर राज्यका औपचारिक विकास प्रक्रिया, आधुनिक ज्ञान प्रणालीको वर्चश्व र तीव्र सामाजिक परिवर्तनका कारण आदिवासी ज्ञान प्रणाली संरक्षण, प्रवद्र्धन र संस्थागत विकासको अभावमा क्रमशः संकटग्रष्त बन्दै गइरहेका छन् ।

सम्मेलनमा आदिवासी जनजाति ज्ञानको दस्तावेजीकरण संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा नीतिगत रुपमा अर्थपुर्ण समाववेशीकरण गर्ने उद्धेश्य लिएको छ । महोत्सवबाट आदिवासी समुदाय, सरोकारवाला निकाय, विज्ञ तथा नीति निर्माताबीच ज्ञान आदानप्रदान, नीतिगत संवाद र सहकार्यलाई सुदृढ गर्दै आदिवासी जनजातिहरुको सामाजिक, सांस्कृतिक तथा बौद्धिक सशक्तीकरणमा योगदान पुरयाउने अपेक्षा गरिएको छ ।

साथै, आदिवासी जनजाति समुदायमा निहित परम्परागत ज्ञान, सीप, अभ्यास तथा जीवनदर्शनको पहिचान, दस्तावेजीकरण, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नु उद्धेश्य रहेको छ । आदिवासी ज्ञान प्रणालीलाई शैक्षिक, नीतिगत तथा विकास प्रक्रियाको मुलधारमा समावेश गर्न नीतिगत संवाद र बहसको लागि मञ्च प्रदान गर्नु, आदिवासी समुदाय, अनुसन्धानकर्ता, विज्ञ, नीति निर्माता तथा सरोकारवाला निकायबीच ज्ञान र अनुभवको आदानप्रदान र सहकार्य सुदृढ गर्नु, आदिवासी भाषा, संस्कृति, परम्परा र सांस्कृतिक विविधतालाई राष्ट्रिय पहिचानको रुपमा स्थापित तथा प्रवद्र्धन गर्नु, आदिवासी जनजातिका सवालमा युवा पुस्तासहित नयाँ पुस्ताको सहभागिता, नेतृत्व र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु, भुमि, प्राकृतिक स्रोत, खाद्य संप्रभुता, सुशासन तथा समावेशी लोकतन्त्र सम्बन्धी आदिवासी दृष्टिकोणलाई उजागर गर्नु, आदिवासी ज्ञानको डिजिटलीकरण र अभिलेखीकरणमार्फत अन्तरपुस्तीय हस्तान्तरण र दीगो उपयोग सुनिश्चित गर्नु मुख्य उद्धेश्यहरुको रहेको थियो ।

सम्मेलन/महोत्सवमा मुख्य आकर्षण तथा विशेषताहरुमा भारतका प्रसिद्ध विद्धान तथा जवाहरलाल नेहरु विश्व विद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामाबाट ‘विश्वभरका आदिवासी जनजातिको अवस्थाः नेपालले भारतीय वातावरणबाट के सिक्न सक्छ र के सिक्न सक्दैन’ विषयमा विद्धत प्रवचन भएको थियो । संखधर साःख्वा, लखन थापा मगर, वंशु गुरुङ, पासाङ ल्हामु शेर्पा, भुपि शेरचन, राम प्रसाद राई, बाजहाङ आङबुहाङ र जगविर तामाङलाई आदिवासी गौरवको रुपमा प्रत्येक सेमिनार र प्यानल छलफलको अगाडि समर्पण गर्न छोटो बायोग्राफी प्रस्तुत गरिएको थियो । प्रत्येक प्यानल छलफल र विषयगत सेनिमारको सुरुमा लोपोन्मुख आदिवासी जनजातिको भाषाबाट कार्यक्रम उदघोषण गरिएको थियो । प्रत्येक प्यानल छलफल र विषयगत सेमिनारमा अध्यक्षता ग्रहणसँगै आदिवासी जनजाति समुदाय मध्येका एक जना सम्मानित व्यक्तित्वलाई आफनै भेषभुषामा सभाको संरक्षकको प्रदान र मायाको चिनो प्रदान गरिएको थियो । स्वायत्तता, परम्परागत शासन प्रणाली, संघीयता, समावेशिता, सुशासन, भुमि तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयहरुमा विद्धत वर्ग र कार्यान्वयनकर्ता सम्बद्ध व्यक्तित्वहरुसँग प्यानल छलफल भएको थियो । साथै भोटे, छन्त्याल, मगर, गुरुङ, सुनुवार र तामाङ समुदायका मौलिक सांस्कृतिक कार्यक्रम, थारु, थकाली, नेवारी, राई र शेर्पा आदिवासी समुदायका परम्परागत परिकार समेटिएको खाना महोत्सव, देशभित्र र बाहिरका बौद्धिक वर्ग, युवा, विद्यार्थी र समुदायस्तरका प्रतिनिधिहरुको सक्रिय सहभागितासहित अन्तरसंवाद र अनुभव आदानप्रदान र अनुसन्धानमुलक कार्यपत्र प्रस्तुती र बौद्धिक विमर्श कार्यक्रममा भएका थिए ।

आदिवासी ज्ञान सम्मेलनमा सिकाइ
ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माणको नारा साथ सम्पन्न भएको ज्ञान सम्मेलनमा सहभागी हुँदा आगामी दिनमा अझै गहिरोसँग आदिवासी जनजातिको लोपोन्मुख कला, संस्कृति र मौखिक ज्ञानलाई अनुसन्धानमुलक पद्धतीमा लेखेर संरक्षण र प्रवद्र्धन गर्नमा लागि पर्न पे्ररणा मिलेको छ । सिक्ने र सिकाउने प्रणालीमा अझै मोफसलमा बसेर पनि राजधानी केन्द्रित सम्मिलन, महोत्सव हुने परिपाटीमा समय व्यवस्थापन गरेर सहभागी हुने मनोकांक्षा बढेको छ । अनुसन्धानमुलक लेख, जनरल पुस्तकहरुमा लेख रचना प्रकाशित गर्ने योजना बुन्नमा सहयोग गरेको छ । जलवायु परिर्वतन र आदिवासी ज्ञान, आदिवासी सिनेमा, लोकगाथा र सौन्दर्यशास्त्र, आदिवासी महिलाको अवस्था र अनुभव, आदिवासी महिला र परम्परा, आदिवासी सिकाइ र शिक्षाका चुनौतीहरु, परम्परागत संस्थाहरु र स्वाशासन पद्धती, आदिवासी कृषि तथा वातावरणीय ज्ञान, मातृभाषाहरुको प्रवद्र्धन र संरक्षण, विकास र भेदभाव, आदिवासी संस्कार र सामुहिकता, आदिवासी जनजातिसँग अनुसन्धान र नीतिमा पुर्नविचार, आदिवासी ज्ञानविज्ञान र विश्वदृष्टिकोण, आदिवासी इतिहास र सम्पदाको खोज, आदिवासी उपचार विधि र साहित्यीक प्रतिनिधित्व र आदिवासी जनजातिको अधिकारको संरक्षणका कलष्टरमा खोजमुलक अनुसन्धानदाताबाट प्रस्तुती भएको थियो । मैले आदिवासी संस्कारमा प्रतिरोध र सामुहिकताअन्तर्गत रहेर बागलुङ भकुण्डेका मगरको गाँउ पुजा ः एक सांस्कृतिक अध्ययन शिर्षकमा अनुसन्धानमुलक प्रस्तुती गरेको थिए । जसमा सहभागीहरु लोपोन्मुख राउटे समुदायका सहभागीहरुसँग सगै बसेर फोटो खिचेर सक्रिय सहभागिता जनाएका थिए ।

महोत्सवमा सहभागी थुप्रै साथीहरुसँग सामुहिक तथा दुई जनाको संयुक्त फोटो खिच्ने काम भयो । जसले सामाजिक सञ्जालमा अपलोड र अभिलेखीकरण भएको छ । जसमा थकाली, वनकरिया जाति, धिमाल जाति, तामाङ जाति, गुरुङ, छन्त्याल, राउटे जातिका मानिसहरुसँग बढी मात्रामा सहकार्य भएको थियो । साथै मैले नेवारी समुदायको खाजा योमरी खाना मन लागेर स्टलमा गएर मागे । नेवार पोशाक लगाउनुभएको बहिनीले त हजुर कहाँबाट आउनु भएको नेवार हो भनेर भन्नुभयो । मैले योमरी खाँदै भने म त नेवार होइन नि मगर हो भन्दा ए हो र म त नेवारको जस्तो अनुहार मानेर भनेको भन्दा मलाई आत्मियता हुन बढी सहयोग गर्यो । त्यस्तैगरी थकाली पोशाक लगाएको मुस्ताङको काकासँग सँगै उभिएर फोटो खिचियो । नाम, थर, ठेगाना आदान प्रदान भएपछि थकाली काकाले भन्नुभयो हजुर बाबु कहाँको थकाली हो भनेर सोध्नुभयो । मैले म त काका थकाली होइन रामजाली थापा मगर बागलुङ भकुण्डेको हो भनेर जवाफ दिंदा उहाँले अनुहार त थकालीको जस्तो छ भन्नुभयो । त्यसैगरी खाजा र खाना खाने लामो लाइन थियो महोत्सवमा । मैले लाइनमा बस्ने कि एकछिन पछि छोटो लाइन भएको समयमा खाने भनेर सोच्दै थिए । तर मलाई खाना खुवाउने काममा सहयोग गर्ने बहिनीहरुले हातले इशारा गर्दै छोटो बाटोबाट खाना खान बोलाउनुभयो । मैले धन्यबाद दिंदै खाना लिएर खादै गर्दा बहिनीहरु मैले नबुझने भाषामा बोल्न थाले । गुरुङ बहिनीहरु हुनुहुँदो रहेछ । गुरुङ भाषा कुर्चीमा बसेर खानु भनेका रहेछन । मैले बहिनीहरुको घर, नाम सोध्न थाले । लमजुङ जिल्लामा घर तर काठमाडौंमा बस्ने बताउनुभयो । मैले खाना खाइसकेपछि पुन धन्यबाद दिदै छुटिने बेलामा बल्ल बहिनीहरुले भन्नुभयो कि दाजुलाई त गुरुङ भनेर बोलाएको भन्नुभयो । मैले भने म मगर हो । मेरो अनुहार गुरुङ जातिसँग पनि मिल्छ होला । म लमजुङको बेशीशहरमा बसेको छु भन्दा गुरुङ बहिनीहरु वाल्ल परेर हेरेको हेरै भएका थिए । यसभन्दा अगाडी मलाई ठकुरी, तामाङ, राई समेतको अनुहारसँग मिल्दो जुल्दो छ भनेर समेत भनेका थिए ।

केही नौला र विद्धत समुदायको उपस्थितिका बिचमा फेरी पनि अर्को पटक काठमाडौंमा आउने योजना बुन्न पुगेको छु । संस्कृतिमा धनी बागलुङ भकुण्डे गाउँ लगायत अर्जम, लमगाउँ, बुकेनी, तङग्राम, लेखानी, राङखानी, विजुवा, पाण्डवखानी, रिघा, तमान लगायतका गाउँहरुको लोपोन्मुख र मौखिक आदिवासी ज्ञान र शिप तथा संस्कृतिलाई अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित गरेर पुस्तकको आकारमा प्रकाशित गर्न सकिन्छ कि भन्ने सोच र योजना अमुर्त रुपमा आएको छ । थुप्रै लेखक, अनुसन्धानकर्ता र साहित्यकारसँगको सञ्जाल निर्माण भएकाले आदिवासी जनजाति समुदायमा पठन संस्कृतिको विकासमा टेवा दिन सकिन्छ कि भन्ने झिनो आशा एवम् विश्वास जागेको छ ।

आगामी दिनमा आदिवासी आन्दोलन
त्याग, साहस र चेतनाका अमर दीपहरु, पहिचान, स्वाभिमान र न्यायका अग्रदुतहरु, भुमि, भाषा, संस्कृति र राष्ट्रका संरक्षकहरु, यी सबै आदिवासी गौरवप्रति श्रद्धा, सम्मान र समर्पणका आदिवासी गौरबहरुमा राष्ट्रिय विभुति फागुल्णानन्दको तस्वीर समेत समावेश गर्नुपर्ने आवश्यकता महशुुस भएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन भएको महोत्सव र नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले समापन गर्नुभएको थियो । त्यसका साथै थप दस्तावेजहरु आगामी दिनहरुमा प्रकाशन, प्रशासरण र वितरण सहज रुपमा हुनुपर्ने देखिन्छ । डिजिटललाइजेसनका प्रविधिमा आदिवासी जनजातिका लोपोन्मुख कला संस्कृति र शिपका बारेमा कम उपयोग र उत्पादन भएको पाउन सकिन्छ । सो को प्रवद्र्धन र उत्पादनमा लाग्नु भएको छ । हरेक वर्ष यस्ता खालका सम्मेलन तथा महोत्सव हुनुपर्ने माग सहभागीको तर्फबाट आएको थियो । प्रदेश स्तरका राजधानीमा हुन सकेमा पनि राम्रो सहभागी र जनसमुदायको लक्षित समुदायमा पुग्न सक्ने थियो । बारम्बार राज्यका निकायबाट आदिवासी जनजातिको सवालमा कार्यक्रमहरु बारम्बार हुनुपर्ने र भाषा, साहित्य, कला, संस्कृति तथा संस्कारहरुलाई राज्यका तर्फबाट दस्तावेजहरु निर्माण गर्नमा ढिला गर्नुहुदैन । नेपालमा भएका जनजाति, आदिवासीहरुको कला, संस्कृतिलाई पर्यटन, शिक्षा, मौलिक हक र राज्यका दायित्वभित्र पारेर आगामी पुस्ताका लागि जानुपर्ने अवस्था सृजना भएको छ ।

अन्तमा
सम्मेलन/महोत्सवको सहयोगी संस्था काठमाडौं महानगरपालिका, डब्लुडब्डुएफ र एफएओ रहेकोमा थप निरन्तरता र दीगोपनको आवश्यकता महशुस भएको छ । नेपाल सरकारले आगामी दिनहरुमा बौद्धिक सम्पत्तीको रुपमा रहेको लोपोन्मुख ज्ञानलाई भावी पुस्ताका लागि हस्तान्तरण र उपयोगका लागि लाग्नु पर्ने जलन्त आवश्यकता रहेको छ । राज्यका योजना, नीति, कार्यक्रम र बजेटमा समावेश गरी निरन्तर रुपमा क्रियाशिल बनाउनु पर्ने र नेतृत्व विकासमा टेवा दिने खालको हुनुपर्छ । अलिखित र मौखिक कला संस्कृतिहरु पुस्तातन्रणसँगै हराउँदै जाने भएकाले सोको संरक्षण र दीगोपनको लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने अवस्था आएको छ । दस्तावेज तयार गरी संरक्षण गर्ने काम अहिले जेनजी पुस्ताका लागि सिकाउन र लागिपर्न जरुरी भएको छ । विदेशी कला, संस्कृति र चालचलनले नेपाली मौलिक संस्कृति हराउँदै लोपोन्मुख अवस्थामा पुगेको वर्तमान यर्थाथता रहेको छ । भोलिका दिन आदिवासी जनजातिका सवालमा सशक्त तरिकाले लाग्नुको विकल्प छैन । आपसी समन्वय र सहिष्णुतासहित भातृत्वको भावनाले ओतप्रोत हुँदै भुमि, प्राकृतिक स्रोत, खाद्य सम्प्रभुता तथा समावेशी लोकतन्त्रका पक्षमा निरन्तर आवाज उठाउनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->