समुन्द्र र जमिनमा हुने तापक्रमको भिन्नताले गर्दा समुन्द्रको अत्यन्त चिसो हावा जमिन तर्फ बहन्छ र त्यही हावा ठूला पहाडमा गएर ठोक्किन्छन्, अनि त्यहाँ पानी पर्छ र त्यहाँ पानी पर्ने दिन सुरु हुन्छ । यो अवधि लगभग तीन महिना सम्म रहन्छ । यही अवधिलाई हामी मनसून भन्छौं । जेठको अन्त्य अथवा असारको सुरुमा देखिने मनसून पूर्वी नेपालबाट प्रवेश गर्दछ भने असारको पहिलो हप्ता नेपालको मध्य भागमा देखिन्छ र पश्चिम नेपालमा असारको मध्यतिर देखिन्छ ।
हिन्द महासागर र बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने मनसून नेपालको जैविक विविधता देखि कृषिको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो समय नेपालको अधिकांश भागमा अन्नबाली लगाउने समयको रूपमा चिनिन्छ भने वनजंगलमा चराचुरुङ्गी, वन्यजन्त लगायत धेरै जसो पुतलीहरूले प्रजनन् गरेको पाइन्छ । यो बेला वनजङ्गलमा चराचुरुङ्गी, वन्यजन्तुु लगायत पुतलीहरूको लागि प्रशस्त खाद्यान्न पाउने समय हो ।
पुतलीलाई फूलहरूको अप्सरा भनिन्छ किनकी यो किराहरूमध्ये सबैभन्दा सुन्दर हुन्छ । यो प्रायः फूलहरूमा डुल्ने गर्दछ । फूलहरूको सुन्दरताले पुतलीलाई ताने जस्तैं पुतलीको सुन्दरताले हामीलाई तान्दछ र जो कोहीलाई पनि मनमुग्ध पार्ने गर्दछ । पुतली उड्दा आफै पनि उडूँ उडूँ जस्तो लाग्छ । त्यसको सुन्दर रंग चोरेर सिउँरिउ जस्तो हुन्छ । तर यिनीहरूको जीवन छोटो हुन्छ र धेरै पुतलीहरूले आफ्नो जीवन चक्र यही मौसममा सुरु गरी पूरा गरेको पाइन्छ । यिनीहरू केही हप्तादेखि ६ महिना बाँचेको पाइएको छ भने अमेरिकामा मोनार्क प्रजातिको पुतली एक वर्षसम्म पनि बाँचेको अध्ययनले देखाएको छ ।
पुतली ले आफ्नो जीवनचक्रका विभिन्न चरण मा भिन्न भिन्नै व्यवहार देखाउन गर्दछ । जस्तैः पुतलीले जुन पायो त्यही रुखको पातमा अण्डा पार्दैन, यसले अण्डा पर्दा आफ्नो लाभार्ले जुन बिरुवाको पात खाने हो, त्यही बिरुवा रोज्दछ र फरक–फरक प्रजातिका पुतलीको फरक–फरक खालका बिरुवा रोज्दछन् । उपयुक्त वातावरण र तापक्रम भएको खण्डमा अण्डाबाट लार्भा निस्कन लगभग एक हप्ता लाग्दछ । झुसिलकिरालाई लार्भा भनिन्छ र यो पुतलीको धेरै भन्दा धेरै खाने खन्चुवा अवस्था हो । एउटा निश्चित आकार मा आएपछि खाना बन्द गर्दछ र प्युपा मा परिणत हुन्छ । लार्भाबाट प्युपा बन्न लगभग ३ हप्ताजति लाग्दछ । यो पुतलीको अचल अवस्था हो र यतिबेला केही खाँदैन । प्युपा अवस्थामा पखेटा, आँखा, पेट, खुट्टा, एन्टेना लगायतको अङ्गहरू बन्दछ । त्यसको केही दिन पछि एउटा कुरुप झुसिलकिरा सुन्दर वयस्क पुतली बनेर निस्कन्छ र उक्त पुतली फुरफुर गरेर विभिन्न फूलहरूमा फूलको रस चुस्न डुल्दछ । यसै मनसुनको समयमा विभिन्न प्रजातिका पुतली देखिने गर्दछ । यसले आफ्नो वयस्क जीवन फूलको रस चुस्ने बाहेक चिसो÷हिलो माटो, जनावरको गोबर, चराको बिष्ट र कुहिएको फलफूलबाट समेत रसपान गर्ने गर्दछ । यौनशक्तिका लागि चाहिने ऊर्जा खपतका लागि यिनीहरू खोलाको किनार तथा चिसो ठाउँहरूबाट प्राकृतिक नुन चुस्ने गर्दछन् ।
पुतलीले फूलको रसपान मात्र नगरी आफ्नो खुट्टा र प्रोबोसिस पुतलीले रस चुस्न प्रयोग गर्ने एक किसिमको नली) फूलका पराग कणहरू पनि बोक्छन् जसकारण अर्को फूलमा परागसेचन हुन्छ । यसले विभिन्न फूलहरूमा परागसेचन गराई फूललाई जीवन दिने काम गर्दछ । यदि पुतलीहरू हाम्रो वरपर नदेखिएमा प्रकृतिको अवस्था ठीक नभएको अर्थात् हावापानी, मौसम खराब भएको प्रक्षेपण गर्न सकिन्छ । त्यसैले यिनीहरूलाई प्रकृतिको जीव सूचक भनिएको हो । ६९७ प्रजातिका जीव सूचक पाइनुको मुख्य कारण नै नेपालको हावापानीमा पाइने विषमता र बोटबिरुवाको विविधताको कारण हो भन्न सकिन्छ । यही मनसुनको बेलामा बालीनाली लगायतमा कीटनाशक र विषादी प्रयोगले पुतलीको खाना र वृद्धिमा असर गर्दछ । यसले गर्दा उनीहरूको जीवनचक्र पुरा हुन पाउँदैन र सुुन्दर पुतली देख्न पाइदैन होला पनि । त्यसैले जैविक कीटनाशक र प्राङ्गारिक मलको प्रयोग गर्नु अहिलेको उत्तम विकल्प हो ।
अब पुतली संरक्षण र प्रवद्र्धनमा ध्यान दिने बेला आएको छ । नेपाल पुतलीको लागि एउटा राम्रो गन्तव्य देश हो भन्ने सन्देश देश बाहिर पु¥याउन जरुरी छ । विदेशमा पुतलीको अध्ययन, अनुसन्धान, अवलोकन गर्न कयौं पर्यटक देश बाहिर जाने गर्दछन् । ती पर्यटकलाई नेपालमा ल्याउन सकियो भने र पुतलीलाई जिविकोपार्जानसँग जोड्न सकियो भने यसको दिगो संरक्षण गर्न सकिने कुरामा कसैको दुई मत नहोला ।
(सुनार पृथ्वीनारायण क्याम्पसमा प्राणी शास्त्रमा अध्ययनरत छन् ।)




