बागलुङ/पर्वत, बागलुङ र स्याङ्जा जिल्लाकै पुरानो घाट भएको सहस्रौ शताब्दीदेखि नै पुजिदै आएको महत्वपूर्ण धार्मिकस्थल मोदीवेणी धाममा सरसफाइ अभियान थालिएको छ ।
मोदीवेणी धाम कालीगण्डकी नदी र मोदीखोलाको संगमस्थलका रुपमा प्रख्यात छ । यहीँ घाट अहिले प्रदुषणको शिकार भएको छ । विकासे गतिविधि र प्रकृति दोहनको कारण मोदीणेणीले चरम संकट झेलेको भन्दै शिवालय युवा विकास मञ्च पर्वत र कालीगण्डकी बचाऔँ अभियानले संयुक्त रुपमा मोदीवेणी धाम सरसफाइ अभियान थालेको हो ।
कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै नदीलाई गैरकानुनी दोहन गर्नु, फोहोर विसर्जनस्थल बनाइनु निकै दुखद रहेको कालीगण्डकी बचाऔं अभियानका संयोजक आरके अदीप्त गिरीले बताए । किंवदन्ती अनुसार मोदीवेणी धामका बारे विभिन्न धर्मग्रन्थहरुमा विभिन्न खाले भनाइहरु उल्लेख छन् ।

बराह र स्कन्ध पुराणमा लेखिए अनुसार मोदीवेनीदेखि उत्तरपट्टिको क्षेत्रलाई कालङ्गिरी पर्वत भनिन्छ । यहाँ एउटा मात्र गौ दान गरेमा पनि ठूलो पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । त्यसैगरी स्कन्ध पुराणको केदारकल्पमा लेखिए अनुसार ब्रम्हाण्डका स्त्रीहरु रजस्वला हुँदा ब्राम्हणहत्या लागेको हुन्छ । त्यसबेला कुनै पनि शुभकार्य लगायत बैदिक कार्य गर्नुपर्ने भएमा मोदीवेनीमा गई स्नान गरेमा पापबाट मुक्ति पाइने कुरा उल्लेख छ ।
मोदीवेणी धामलाई मुक्तिनाथ र दामोदर कुण्डको प्रवेशद्धारको रुपमा पनि चिनिन्छ । मोदीवेणी पर्वत, बागलुङ र स्याङ्जा जिल्लाकै पुरानो घाट भएको यहाँ विभिन्न ठाउँबाट मृतक मानिसको लास ल्याई दाहसंस्कार गर्ने चलन सदियौदेखि चल्दै आएको छ । मंसिर र पुषको औंसीमा आफ्ना पितृको श्राद्ध गर्न मानिसहरु यस धामसम्म आइपुग्ने गर्छन । वैशाख सक्रान्ती, हरिवोधनी एकादशीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । घरमा कुनै शुभकार्य गर्नु परेमा उक्त घाटबाट पवित्र जल तथा बालुवा समेत लगेर मात्र गर्ने चलन छ ।

यसरी जल र बालुवा घरमा ल्याई शुभकार्य गरेपछि उक्त पुण्यभूमिमा बसी गरे सरह मानिने बुढापाकाहरु बताउँछन् । कतिपय श्रद्धालु भक्तजनले यस क्षेत्रमा विशेष पूजाआजा आयोजना गर्छन् । तीर्थयात्रीहरु मोदीवेणी दर्शनपश्चात मात्रै मुक्तिनाथ र दामोदर कुण्डको दर्शन गर्न जान्छन् । कालीगण्डकी विश्वकै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी हो । मोदीवेणी धाम दामोदर कुण्ड र मुक्तिनाथ मन्दिर जान आउने साधु सन्तलाई सिदा बर्त चढाउने गरिन्छ ।
मोदीवेणी धामको महत्व र धार्मिकता निकै ठूलो छ । तीन जिल्लाको प्रमुख घाट भएकाले यहाँ मानिसहरु पुजाआजादेखि दाहसंस्कार सम्मका लागि आउने गर्छन् । यसलाई व्यवस्थित गर्न विभिन्न समिति गठन भएका छन् । तर, तिनीहरूको उपस्थिति यहाँ निस्कृयजस्तो देखिन्छ । तथानाम बनाएका संरचनाले यहाँको मौलिक र दिगोपनलाई घटाइदिएको छ । धर्मघाट पूर्णरुपमा विस्थापित छ्न । समितिले संरक्षणप्रति त्यति चासो देखिएको देखिन्न ।
हरेक शनिबारलाई सिर्जनशील बनाउने अभिप्रायले सरसफाइ अभियान थालिएको शिवालय विकास मञ्चका अध्यक्ष संविधान गिरीले बताए । सम्पूर्ण कुश्मेलीलाई सरसफाइ अभियानमा जोडिन मञ्चले सार्वजनिक अपिल समेत गरेको छ ।






