शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रक्रिया पुर्याउने बाहनामा पदमार्ग निर्माणमा ढीलाई

प्रक्रिया पुर्याउने बाहनामा पदमार्ग निर्माणमा ढीलाई


  • ढाेरपाटन संवाददाता
  • बैशाख २५ २०८३, शुक्रबार
समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा अवस्थित बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने देउरालीडाँडा । यहाँबाट उच्च पहाडी क्षेत्रसहित दर्जनौँ हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । तस्बिरः ड

बागलुङ/पर्यटकहरु घुम्ने क्रम बढेपछि एकीकृत सेवा कार्यालय बागलुङले रकम विनियोजन गरेर पदमार्ग बनाउने योजना ढोरपाटन सिकार आरक्ष भित्रको प्रक्रियागत विषय लामो भएर ढीलाई भएको छ । समयमा काम नभए विनियोजित बजेट समेत फ्रिज हुने खतरा बढेको छ ।

गत असोज देखिनै ढोरपाटन, बुकीपाटन फागुने पदमार्गका लागि सम्झौता गर्न खोजेपनि आरक्ष कार्यालयले सहमति नदिएपछि सम्झौता रोकिएको हो । सम्झौता नभएपछि १५ लाख रुपैयाको उक्त आयोजना अलपत्र पर्ने खतरा बढेको हो ।

आरक्षले वन मन्त्रालयको सहमति चाहिने भन्दै सम्झौता गर्न रोकेको छ । प्रदेश मन्त्रालय अन्तर्गतको यो कार्यालयले संघिय वन मन्त्रालयमा सिधैं पहुँच राख्दैन ।

‘१५ लाख रुपैयाँमा सिंढीमार्ग बनाउने हो, हामीले वातावरण बिगार्ने पनि होइन, आरक्षले अनुमति दिए पुग्छ’ कार्यालयका शाखा अधिकृत नारायण रिजालले भने, ‘उपभोक्तालाई समितिमा बस्न नदिने, छलफल गर्ने वातावरण नबनाउने गर्दा बजेट फ्रिज हुने खतरा भयो ।’ वर्षातमा उक्त खण्डमा यात्रा गर्ने पर्यटकले बाटो नभएको गुनासो गरेपछि कार्यालयले बजेट राखेको थियो ।

बुकीका लागि जेठ, असार, साउन र भदौ सम्मको समय उपयुक्त हुन्छ । वर्षातका कारण यो समय बाटाहरु चिप्ला बन्छन् । त्यसैले जिल्लास्थित एकीकृत सेवा कार्यालयले चालु वर्ष ढोरपाटन–बुकीपाटन–फागुने हुँदै सुर्तिवाङ’ पर्यटकीय पदमार्गको योजना राखेको प्रमुख शिव शर्माले बताए । चालु वर्ष सिंढी निर्माणका लागि राखेको १५ लाख रुपैयाँ बजेटको योजना अझैसम्म सम्झौता हुन नसकेको हो ।

गत आर्थिक वर्ष २०८१÷०८२ तत्कालिन पर्यटन मन्त्रालयले उद्योग तथा पर्यटन कार्यालयमार्फत ढोरपाटनदेखि बुकीपाटन जाने पदमार्ग निर्माण गर्न २० लाख रकम विनियोजन गरेको थियो । उक्त बजेटको काम गर्न पर्यटन कार्यालयलाई सास्ती भएको थियो । कर्मचारी र उपभोक्ताले २० लाखको योजना सम्पन्न गर्न दर्जन विभाग र मन्त्रालय धाउन बाध्य भएका थिए ।

सिकार आरक्षभित्र संरचना बनाउन उद्योग तथा पर्यटन कार्यालय बागलुङ, पर्यटन मन्त्रालय पोखरा र ढोरपाटन सिकार आरक्षको ९ महिना लामो रस्काकस्सी चल्यो । वर्षको अन्तिममा आएर आरक्षको प्रत्यक्ष निगरानीमा डेढ मीटर चौडाको मात्र पदमार्ग बनाउन कार्यालयले अनुमति पायो ।

ढोरपाटन सिकार आरक्ष, पर्यटन मन्त्रालय, वन मन्त्रालय, वन विभाग, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मन्त्रीपरिषदको कार्यालय समेत धाएर उक्त काम फत्ते भएको थियो । गत आर्थिक वर्षमा कामै भएन । यो पटक भने फेरी स्थानीय र पर्यटकको मागले यो बजेट विनियोजन भएको रिजाल बताउँछन् । अहिले पनि योजना सम्झौतामा कठिन भैरहेको हो ।

अघिल्लो वर्षको बजेटले ५ सय मीटर सिंढी बनाइएको छ । विश्राम स्थल र ओत लाग्ने ठाउँ बनिसकेकोले चक्रिय पदमार्ग निर्माण गर्दा पर्यटक बस्ने दिन लम्बिने र त्यसले आरक्षको आय पनि बढ्ने कार्यालयका प्रमुख शिव शर्माले बताए ।

ढोरपाटनमा पछिल्लो समय होमस्टेहरु बढेका छन् । त्यस्तै सामुदायिक होटल र कन्टेन्ट क्रियटर सिर्जना सिज्जु र यहाँको बिवाईसी बागलुङले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरेका छन् । पोखरा, चितवन, काठमाण्डौंका धेरै पर्यटक ढोरपाटन पुग्दा होटल र होमस्टेको व्यवसाय पनि फस्टाएको होटल सञ्चालकले बताए । सामाजिक सञ्जालमार्फत अधिकांसले ढोरपाटन र बुकीको प्रचार गरेका छन् । ढोरपाटन सिकार आरक्ष कार्यालय रहेको पाटनसम्म गाडी चढेर पर्यटक पुग्छन् ।

ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटा मात्रै छन् । गार्पाछेडा, चेप्टा ढुंगा, साँघुरे गौंडा, अन्तरेथरी, ठाडो खोला, ढुंगेदेउराली जस्ता स्थानमा पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ । जलजला, सुर्तीवाङ, टिकाधारा र जाल्पा तालले पर्यटक आर्कषण बढाएको छ । ती स्थानमा पर्यटक सहजै लैजाने पदमार्गहरु निर्माण भएमा वर्षमा ५० हजारदेखि एक लाख पर्यटक भित्राउन सकिने ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष खिमहादुर घर्तीले बताए ।

तर सोही स्थानको सिंढी मार्ग बन्न नसक्दा फेरी वर्षातमा पर्यटकले सास्ती खेप्ने अवस्था छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले भने आरक्षभित्र संरचना बनाउने अनुमति वन मन्त्रालयले मात्रै दिन सक्ने बताए ।

ढोरपाटनको पर्यावरण जोगाउन स्थानीय ढुंगाको पदमार्ग र काठको विश्रामस्थल बनाएको शर्माले बताए । खोलाखोल्सीमा बनाएका पुल समेत काठको प्रयोग भएको इन्जिनियर सुजन दरैले दावी गरे । ढोरपाटन र बुकी क्षेत्रमा गोरेटा र पदमार्ग अभावले स्थानीय भेडापालक किसानपनि समस्यामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->